समृद्धि र सम्भावना बाख्रासँगै होमस्टे
पाल्पाका एक हूल जाँगरिला युवा सिको गर्न लायक कृषि उद्यममा छन्। जीवनप्रसाद राई
२०६८ सालमा स्थापित सिर्जना फार्ममा ३८ युवक साझेदार छन्। ३०० रोपनी जग्गा किनेर आधुनिक कृषि कर्म थालेका उनीहरूमध्ये अधिकांश स्नातक तथा केही स्नातकोत्तर छन्। फार्मको २०० रोपनीमा विभिन्न प्रजातिका घाँस रोपिएको छ भने बाँकी जमीनमा बाख्राको खोर विस्तार गरिंदैछ। रु.१ करोडबाट शुरू भएको यो फार्ममा अहिले पाठापाठी उत्पादनका लागि बोचर जातका ८५ वटा बाख्रा पालिएका छन्।
एक वेतमा दुइटा पाठापाठी पाउने बोचर बाख्रा तीन महीनामा २५ किलोसम्मको हुन्छ। फार्मका व्यवस्थापक विष्णु अधिकारीले बीउ बोचर (लाइफ वेट) प्रतिकिलो रु.१५०० मा किनबेच भइरहेको बताए। फार्ममा बाख्रापालन तालीम केन्द्र र होमस्टे पनि संचालन गरेको सिर्जनाले नेपालमै सर्वप्रथम कृत्रिम गर्भाधानबाट पाठापाठी उत्पादन गरेको छ।
समस्या र अवसर
नेपालमा व्यावसायिक बाख्रापालनका लागि दाना र घाँसको विकास भएको छैन, तर यो दीर्घकालीन समस्या होइन। जंगली चरिचरनका कारण हुने एक नश्लीय गर्भाधानले बाख्रा विकसित भएर जानुको साटो खिइँदै जाने समस्यालाई पनि खोरमै थुनेर वा व्यवस्थित तरीकाले पाल्ने चलनबाट सजिलै समाधान गर्न सकिन्छ।
नेपालमा खसीको मासु प्रतिकिलो एक हजार रुपैयाँ नै पुग्न लागे पनि चाडबाड बाहेकको समयमा वर्षेनि खर्बौं रुपैयाँको मासु खपत हुन्छ, जसमध्ये ७५ प्रतिशत भारतबाट आयात भइरहेको छ। यो बाख्रा पालकहरूका लागि अवसरको कुरा हो। बाख्राको जुतो (मल) मा प्रशस्त नाइट्रोजन र फस्फोरस हुने भएकोले बाली बिरुवालाई अत्यन्तै फाइदाजनक हुन्छ। बाख्रा पालकहरूले जुतोलाई राम्ररी प्याकेजिङ गरेर अतिरिक्त फाइदा लिन सक्छन्।
तिब्बती धार्मिक नेता दलाई लामाले अमेरिकाको सीएनएन टेलिभिजनलाई आफूले २८ वर्षदेखि नियमित रूपमा बाख्राको दूधबाट बनेको चिज खाएर स्वास्थ्य 'मेन्टेन' गरेको बताएका थिए। सो अन्तर्वार्तापछि संसारभर बाख्राको दूधबाट बनेको चिजको माग ह्वात्तै बढेको थियो। अहिले नेपालमा बाख्राको चिज प्रतिकिलो रु.४ हजारसम्म पर्छ। मकवानपुर, चित्लाङका अशोक सिंह ठकुरीले बाख्राको चिज उत्पादन गरिरहेका छन्।
एक माउ बाख्राबाट वर्षको चार महीना ६ किलो चिज उत्पादन गर्न सकिन्छ। यस हिसाबले १०० बाख्राबाट ६०० किलो चिज उत्पादन हुन्छ, जसको मूल्य नेपालमा भन्दा अन्तर्राष्ट्रिय बजारमा राम्रो छ। यसलाई 'नेपाली चिज' भनेर 'ब्रान्डिङ' गर्न पनि सकिन्छ। व्यवस्थित फार्ममा एक जनाले १०० बाख्राको रेखदेख गर्न सक्छ। बाख्राको बजार जति पनि छ। यसका लागि उन्नत घाँसका बीउ गाउँ–गाउँमा पुर्याउने, बाख्राको माउ उपलब्ध गराउने, बाख्रा पालन तालीम र व्यवस्थापन कला सिकाउने काममा सरकार अग्रसर हुनुपर्ने देखिन्छ।
नेपालमा जता जाँदा पनि युवा शक्तिको विदेश पलायनप्रति चिन्ता व्यक्त गरिएको सुनिन्छ। सरकारसँग युवा नीति नहुँदा पनि यो चिन्ता बढेको छ। सरकारको युवा स्वरोजगार कोषको रकम पनि व्यावसायिक सोच भएका युवामा पुग्न सकेको छैन। सो रकम उद्यमशील युवामा लगानी हुने हो भने उनीहरूले उद्देश्य प्राप्तिमा सरकारलाई राम्ररी सघाउनेमा शंका छैन।