संजय अहिले भारतको सबैभन्दा ठूलो रियलस्टेट कम्पनी डीएलएफ लिमिटेडको साइवर सिटी गुडगाँवमा फाइनान्स एण्ड एकाउन्ट म्यानेजर छन्, मासिक भारु अढाइ लाख तलब पाउने गरी। राम्रो कमाउन थालेपछि उनले दुई वर्षअघि नयाँदिल्लीको उत्तमनगरमा भारु ३० लाखमा घर पनि किनेका छन्।
मिहिनेतको फल
२०५८ मा एसएलसी उत्तीर्ण गरेपछि संजयलाई गाउँमै सानोतिनो व्यवसाय गरेर बुबा रामप्रितलाई सघाउन आफन्तले सल्लाह दिएका थिए। घरको आर्थिक स्थिति पढाउन सक्ने नहुनु उनले त्यस्तो सल्लाह पाउनुको कारण थियो। तर, उनको पढाइ र एसएलसीको नतीजा देखेर विद्यालयका शिक्षक दुर्गाप्रसाद सिंहले वीरगञ्जमा आफ्नो लगानी रहेको ज्ञान–विज्ञान कलेज (उच्चमावि) मा पढ्न लगे। ट्यूसन पढाएर खर्च जुटाएकाउनले ११ कक्षाको परीक्षामा देशभरिमा तेस्रो र १२ कक्षाको परीक्षामा राम्रो नतीजा ल्याए। उच्चमावि उत्तीर्ण गरेपछि सीए पढ्ने उनको चाहनामा घरको आर्थिक अवस्था पुनः बाधक बन्यो।
तर, सीए पढेरै छाड्ने उनको अठोटको सामु घरको कमजोर आर्थिक अवस्था धेरै समय बाधा बन्न सकेन। गाउँले र आफन्तसँग केही ऋण लिएर दिल्ली पुगेपछि भने उनको अनुकूलता शुरू हुन थाल्यो। आफूसँगै पढ्ने साथीहरूलाई ट्यूसन पढाउँदै उनले सीए पहिलो वर्षको परीक्षामा भारतभरमा तेस्रो स्थान ल्याए। त्यो नतीजाले कलेजमा उनलाई चिनायो भने आत्मविश्वास पनि बढायो।
पाँचवर्षे सीए पनि उनले भारतमा ३७ औं स्थान ल्याएर उत्तीर्ण गरे। र, 'लान्को इन्फ्राटेक लिमिटेड' को जागीरमा छानिए। अहिले उनले सीए पढ्न दिल्ली पुगेकी बहिनी संगीताको नाममा 'संगीता साह एसोसियट्स' नामको फर्म पनि खोलेका छन्। बहिनीले पनि सीए उत्तीर्ण गरिसकेकी छिन् भने भाइ पनि सीए नै पढ्दैछन्।
वीरगंज र काठमाडौंमा सीए इन्ष्टिच्यूट खोल्ने योजनामा रहेका संजय भन्छन्, “मैले जानेको ज्ञान नेपाली विद्यार्थीलाई बाँडेर सहयोग गर्ने इच्छा छ।”
बिम्मी शर्मा, वीरगञ्ज व्यक्तिवृत्त