भारतीय (मलयालम) लेखक बेन्यामिनले सन् २००८ मै वैदेशिक रोजगारीलाई विषय बनाएर चर्चित उपन्यास 'गट डेज' लेखे। नाजिब मुहम्मद नामक पात्र साउदी अरब पुगेर बाख्रा चराउने काम गरेको विषयलाई बेन्यामिनले मर्मस्पर्शी ढंगमा उतारेका छन्। त्यो उपन्यासले बेन्यामिनलाई रातारात लेखक बनाएको थियो।
नेपाली साहित्यमा पनि थुप्रै लेखकले वैदेशिक रोजगारीलाई विषय बनाइसकेका छन्। केही समयअघि नवोदित लेखिका उमा सुवेदीले वैदेशिक रोजगारीमा जाने महिलाले भोग्नुपरेका कठिनाइहरूमाथि 'तोदा' उपन्यास लेखिन्। वैदेशिक रोजगारीमा जाँदाको हण्डर, हेपाइ र स्वदेशमै म्यानपावर कम्पनीले ठग्ने विषय अब नयाँ रहेन। त्यसकारण यो विषयमा कलम चलाउने लेखक अब बढी होशियार हुनुपर्छ– खास गरेर कथा वा घटना, रूपकको प्रयोग, पात्रको बोली आदिमा। यही विषयमा 'मलाया एक्सप्रेस' उपन्यास लेखेका अखण्ड भण्डारी भने यसमा केही लापर्बाह देखिएका छन्।
भण्डारीले कतिपय ठाउँमा पत्रकारिताको ठाडो भाषा प्रयोग गरेका छन् भने पात्रको बोली खोसेर आफैं बोलेका छन्। डम्बरबाट डेनिस बनी चेलीबेटी बेचबिखनमा लागेको पात्रलाई उपन्यासको अन्त्यतिर आमासँग गराइएको भेट र प्रयुक्त संवाद पत्यारिलो लाग्दैन। तथापि, उपन्यास गतिमय भएका कारण पढुञ्जेल रमाइलै लाग्छ।
पत्रकारिता हतारको साहित्यले परिचित छ। त्यसैले होला पत्रकार भण्डारीले कतिपय घटनाको बयानमा हतार गरेका छन् भने कतिपय घटनालाई अनावश्यक रूपले सविस्तार वर्णन गरेका छन्। थुप्रै ठाउँमा समाचार नै राखिदिएर पुस्तकको पृष्ठ बढाएका छन्।
'मलाया एक्सप्रेस' गाउँले ठिटो जीतबहादुरले रोजगारीमा जाँदा भोग्नुपरेका अप्ठेराहरूको शृङ्खला हो– 'गट डेज' को नाजिब जस्तै। सशस्त्र द्वन्द्वको मारबाट जोगिन मलेशिया भासिएको जीतबहादुरले आफ्नो भन्ने सब थोक गुमाउँछ, तर पछि मारिएका आफन्तबाहेक सबै चिज फिर्ता पाउँछ। गुमेकी पत्नीका साथै रकम र आमाको खुशी फिर्ता पाउँछ। जन्मथलो भोजपुरको जरायोटारमै व्यावसायिक कृषि गरेर मनग्ये आम्दानी गर्न सक्ने बन्छ। उपन्यासको अन्त्य सुखद् छ।
भण्डारीले पुस्तकको आरम्भमा 'अनि, लेखें...' शीर्षकमा उपन्यास लेख्नुको कारण दर्शाएका छन्। उपन्यासको टुङ्ग्याउनीमा 'र, देखें...' शीर्षकको टिप्पणीबाट पनि यो यथार्थमा आधारित कृति हो भन्ने बुझिन्छ, तर घटनाहरू अपत्यारिला छन्। भण्डारीले उपन्यास मार्फत वैदेशिक रोजगारीमा पैसा त कमाउन सकिएला तर धेरै थोक गुमाउनुपर्ने सन्देश दिन खोजेका छन्। आफ्नै देशमा मिहिनेत गर्दा विदेशमा भन्दा बढी आम्दानी हुने उनको धारणा छ।
यसअघि भाषा सम्बन्धी पुस्तक 'समाचारको भाषा' प्रकाशित गरिसकेका भण्डारीको पेशा सम्पादन भने समाचार उनको दुनियाँ। यसकारण पनि उनलाई घटना वा विषयको अभाव छैन। अर्को उपन्यासमा चाहिं उनले अझ आकर्षक भाषा, गहन तथा नौलो विषय र कलात्मक शैली अपनाउने छन् भन्ने आशा गर्न सकिन्छ।
राजेन्द्र पराजुली
बाग्लुङको ढोरपाटन दैनिकले एकदशक पूरा गरेको अवसरमा पत्रिकामा विभिन्न समयमा प्रकाशित विचार संकलन गरेर तयार पारिएको पुस्तक हो ढोरपाटन दशक। किताबमा साहित्य, संस्कृति, राजनीति, पर्यटन, संचार विषयमा विज्ञका लेख समेटिएका छन्।
अध्यापनसँगै विभिन्न अध्ययन–अनुसन्धानमा संलग्न अश्वस्थामा खरेलले राजनीतिक आलोकमा मिहिनेतका साथ गरेको विश्व परिवेशमा आधुनिक नेपालको विकासक्रमको विश्लेषण।
नेपालको पेचिलो जातीय मुद्दाहरूसँग जोडिएको राजनीति विषयहरूमा जातीय कोणबाट गरिएको विश्लेषण, जुन लोकतान्त्रिक नेपालको छट्पटी बुझ्न चाहने सबैका लागि उपयोगी छ।
सगरमाथा वारि सगरमाथा पारि
सम्पादकः अगनसिंह थापा
प्रकाशकः मितेरी मञ्च
पृष्ठः ११३+२०,
मूल्यः रु.२००
नेपाल र चीनको धार्मिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र कूटनीतिक सम्बन्धका आयामहरूको महत्वमाथि प्रकाश पार्ने विभिन्न क्षेत्रका व्यक्तिहरूको आलेख सँगालो।
नेपाली पत्रकारिताको यथार्थ
नेपाली पत्रकारिताले शान्तिकालमा समेत हस्तक्षेप र 'सेल्फ सेन्सरसीप' को चुनौती बेहोर्नुपरेको छ। लोकतन्त्र भनिए पनि अभिव्यक्ति र प्रेस स्वतन्त्रता सुनिश्चित गर्न राज्य सक्षम देखिएको छैन। संचारकर्मीहरूले हत्या र भ्रष्टाचारमा दोषी किटान भएकाहरूको राजनीतिक अभियानलाई समेत वैधानिक मानेर समाचार सम्प्रेषण गर्नु परिरहेको छ।
नेपाली मिडियाले स्वीकार्नु परेको यस्ता परिस्थितिजन्य अनेक विषय र सन्दर्भ समेट्दै सार्वजनिक भएको पुस्तक मिडिया रिडर मा पत्रकारिताका प्राध्यापक पी खरेलले नेपाली सञ्चारमाध्यम कसरी चुकिरहेको छ भनेर औंल्याएका छन्। प्राध्यापक खरेलले नेपाली पत्रकारितामा व्यावसायिक अभ्यासको खाँचो औंल्याएका छन् भने प्रकाश आचार्यले पत्रकारितामा व्यावसायिकका समस्याहरू देखाएका छन्।
सात खण्डको पुस्तकमा परम्परागत मिडियादेखि न्यू मिडियासम्म बुझाउने २४ थान अनुसन्धानात्मक लेख छन्। कमल दीक्षितको 'प्रेस र अखबार' शीर्षक लेखमा नेपालमा छापाखानाको विकासदेखि २००७ सालसम्मको पत्रकारिताको इतिहास छ भने ऋषिकेश दाहालले २००७ देखि २०४६ सालसम्मको छापा पत्रकारितामाथि प्रकाश पारेका छन्। रेडियो पत्रकारिताको विषयमा सह–प्राध्यापक बद्री पौड्यालले नेपालमा रेडियोको इतिहासदेखि एफएम रेडियोका विसंगतिसम्म पर्गेल्न खोजेका छन्। पौड्यालको 'रेडियो पत्रकारिता' शीर्षकको लेखमा पछिल्लो समय एफएम रेडियोहरू विभिन्न राजनीतिक दल, गुट, समूह र नेता कार्यकर्ताका नियन्त्रणमा पुग्न थालेकोमा आमसंचारको यो माध्यमप्रति चिन्ता जनाइएको छ।
पुस्तकले पुस्तक, फोटोपत्रकारिता, वृत्तचित्रको बदलिंदो शैली, टेलिभिजन, अनलाइन पत्रकारिता, खोज पत्रकारिता, मिडिया अनुसन्धान, सूचनाको हक, मिडिया र मानवअधिकार लगायतका विषयका सार्थक छलफल चलाउन खोजेको छ। नेपाली पत्रकारिताको ऐतिहासक पृष्ठभूमि, विकासक्रम र प्रवृत्तिका साथै निष्कर्ष सहितको सामग्री पस्केको यो पुस्तक पत्रकारिताका शिक्षक, विद्यार्थी र अध्येता–अनुसन्धानकर्ताका लागि निकै उपयोगी हुने देखिन्छ। पुस्तकले नेपाली मिडियाका विविध विषयलाई एकै ठाउँमा समेटेको छ।
एउटै कुरा वा प्रसंग धेरै ठाउँमा दोहोरिनुलाई पुस्तकको कमजोरी भन्न सकिन्छ। पुस्तकका धेरैजसो लेखमा नेपाली पत्रकारिताको इतिहास दोहोरिएको छ। प्रा. खरेलको लेखमा रत्नराज्य (आरआर) क्याम्पसमा २०४० सालदेखि पत्रकारिताको स्नातक तह शुरू भएको उल्लेख छ भने तिलक पाठकले त्यो कोर्ष आरआरमै तर २०३६ देखि थालिएको उल्लेख गरेका छन्। अनुसन्धानमूलक भनिएको पुस्तकका कतिपय लेख सतही छन्। विद्यार्थी लक्षित भएकोले पुस्तकमा मूल्य नराखिएको हो भने त्यसलाई राम्रो पक्ष मान्नुपर्छ।
रामजी दाहाल