९ मंसिर २०७० | 17 November 2013

भोट माग्दै कलाकार

Share:
  
- अनुशील
आफूले भोट मागेको राजनीतिक दल भोलि सत्तामा पुगे अवसर पाइने लालसाले कलाकारहरू पनि विभिन्न खाले झ्ाण्डा बोकेर दौडधुपमा लागेका छन्।

झापामा एमाले उम्मेदवार केपी ओलीको प्रचार गर्दै नायक भुवन केसी।

४ मंसीरमा हुने संविधानसभा निर्वाचनको रन्कोले पूरै देशलाई छोप्दा कलाकारलाई नछुने कुरै भएन। यसपटकको फरक चाहिं के छ भने, दलका भ्रातृ संगठनमा आवद्ध कलाकारलाई भन्दा नामी फिल्मी कलाकारहरूलाई बढी चुनाव लागेको छ। चुनावी प्रचारमा कलाकारहरूको प्रयोग बढ्ने क्रममा नीर शाह, मदनदास श्रेष्ठ, किरण खरेल, राजकुमार राईदेखि गायिका राधिका हमालसम्म नेपाली कांग्रेसलाई भोट माग्न व्यस्त छन्। उता भुवन केसी, मनोज गजुरेल, जिया केसी, देशभक्त खनाल, लव शर्मा नेकपा एमालेको प्रचारमा खटेका छन्।

एमाओवादी पनि के कम; उसले रेखा थापा, मौसमी मल्ल, राजेन्द्र खड्गी, अशोक शर्मा, चेतन सापकोटा, केपी पाठक लगायतका कलाकार समूहलाई देश दौडाहामा खटाएको छ। यो रिपोर्ट तयार पार्दासम्म निर्देशक दीपक श्रेष्ठ एमाओवादीका लागि सुनसरी क्षेत्र नं. १ मा सक्रिय छन्। एमाओवादीले उनलाई समानुपातिक सूचीमा राखेको छ। पञ्चायतकालदेखि नै 'गाउँ गाउँबाट उठ...' जस्ता जागरण गीत गाएर जनता जगाउँदै माले, एमालेदेखि माओवादीसम्मको लागि भोट मागेका रामेश र रायन भने यसपटक मौन छन्। “आफूले प्रचार गरेको पार्टीले जिते पद वा आर्थिक फाइदा लिन सकिने स्वार्थमा धेरै कलाकार लागेका छन्”, मन मारेर बसेका जनगायक रामेश भन्छन्, “यस्तो प्रयोग गरागरबाट देश र जनताले केही पाउँदैनन्।” (हे.बक्स)

रुपन्देहीमा एमाओवादीका बाबुराम भट्टराईको प्रचारमा पुगेका मौसमी मल्ल, अशोक शर्मा, राजेन्द्र खड्गी आदि।

लागिपरे कलाकार

नेताका भाषण, विकासे आश्वासन र संविधान निर्माणका मौखिक प्रतिबद्धता भन्दा कलाकारका प्रस्तुति बढी बिकाउ बनिरहेका छन्। चर्चित कलाकारहरू आउने भएपछि दर्शकको रूपमा जनताको उपस्थिति बढ्नु स्वाभाविक हो। एमालेले समानुपातिकतर्फ उम्मेदवार बनाएका भुवन केसी र एमाओवादीबाट आश्वासन पाएर पनि टिकट नपाएकी रेखा थापा आ–आफ्नो पार्टीलाई जिताउन लागिपरेका छन्।

यो अवधिमा केसी राजधानीमा एमाले नेता माधवकुमार नेपालको क्षेत्रदेखि पूर्व झ्ाापा र पश्चिममा गुल्मी, रूपन्देहीसम्म पुगे। उनले नेताको शैलीमा भाषण गर्नेदेखि कम्मर मर्काउँदै गीत समेत गाएर मतदाता आकर्षित गर्न खोजे। उता नीर शाह र मदनदास श्रेष्ठले राजधानीवासीका घर–घर पुगेर भोट मागे। रेखा थापा, मौसमी मल्ल, अशोक शर्मा, राजेन्द्र खड्गी लगायतका कलाकारहरू विभिन्न प्रस्तुतिसहित एमाओवादी नेता बाबुराम भट्टराई उम्मेदवार भएको रूपन्देहीको क्षेत्र नं. ४ मा भोट माग्दै हिंडे। एमालेले बुटवलमा लोकगायक वैकुण्ठ महत लगायतका कलाकारहरूको चुनावी सांस्कृतिक समूह नै तयार गरेर प्रचारमा हिंडायो।

राजधानीमा नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहको प्रचारमा नीर शाह र मदनदास श्रेष्ठ।

२० कात्तिकमा एमाओवादीको देशव्यापी चुनावी अभियान शुरू भएपछि झापा र मोरङका आठ ठाउँमा जनवादी कलाकार जेबी टुहुरेले 'आमा दिदी बहिनी हो...' बोलको गीत गाए, जुन उनले पाँच वर्षअघि एमाले नेता केपी ओलीको लागि गाएका थिए। ३७ वर्षदेखि गाउँदै आएको त्यो गीतमा उनले यस पटक पनि धेरैलाई नचाए। ७ कात्तिकमा झापाको दमकमा भएको एमालेको चुनावी सभामा पनि कलाकारहरूको लर्काे नै लागेको थियो। त्यहाँ भुवन केसी, लोकगायक बद्री पङ्गेनी, जिया केसी, लव शर्मा लगायतले नेता ओलीलाई जिताउन आग्रह गर्दै आ–आफ्ना प्रस्तुति दिए।

अधिकांश जिल्लामा स्थानीय कलाकारहरूलाई परिचालन गरेको कांग्रेसले २४ कात्तिकमा दमकमा गरेको चुनावी सभामा भोट हाल्न अनुरोध गर्न पुगेकी थिइन्, लोकगायिका राधिका हमाल। काठमाडौंको क्षेत्र नं ६ बाट राप्रपा नेपालको उम्मेदवार बनेका निर्माता उद्धव पौडेल कलाकारहरूलाई प्रचारमा प्रयोग गर्न हौसिने नै भए। आयुष रिजाल, गरिमा पन्त, सुमन सिंह, निता ढुङ्गाना, निर्माता छवि ओझ्ाा लगायतका कलाकारहरू पौडेलको पक्षमा खुलेर लागेका छन्। राप्रपाबाट पप गायक सञ्जय श्रेष्ठ र गायिका मीरा राणाले समेत टिकट पाएका छन्।

नेपालगञ्जमा आफ्ना बुबा धवलशमशेरको चुनाव प्रचारमा नायिका शिवाङ्गिनी राणा।

कात्तिकमा रिलिज भएको मधुमास फिल्मकी नायिका शिवाङ्गिनी राणा पनि बाबुको चुनाव प्रचारमा व्यस्त छिन्। उनका बाबु धवलशमशेर बाँके क्षेत्र नं. ३ बाट राप्रपा नेपालका उम्मेदवार छन्। त्यस्तै, दलित जनजाति पार्टीको मोरङ क्षेत्र नम्बर ५ का उम्मेदवार तथा चलचित्रकर्मी सलिम अन्सारी निर्वाचन प्रचारका लागि चिन्ह भन्दा फिल्मी पोस्टर टाँस्दै हिंडेका छन्। उनले आफू हिरो भएको चलचित्रका सीडी बाँडेर चुनाव प्रचारमा नयाँ तरिका अपनाएका छन्। राष्ट्रिय मधेश समाजवादी पार्टीमा लागेका सलिमले मागेको क्षेत्र नपाएपछि नयाँ पार्टीबाट उम्मेदवारी दिएका हुन्।

साथमा गोपाल गडतौला, झापा, दीपक ज्ञवाली, बुटवल, तुफान न्यौपाने, नेपालगञ्ज, कमल रिमाल, विराटनगर

comments powered by Disqus

रमझम