९ मंसिर २०७० | 17 November 2013

सुरक्षाप्रति ढुक्क छैनन् जनता

Share:
  

संविधानसभा निर्वाचन नजिकिंदै जाँदा विभिन्न ठाउँमा हिंसात्मक घटना दोहोरिएका छन्। निर्वाचन विरोधी दल र सम्वद्ध मोर्चाले निर्वाचन विथोल्ने धम्की दिन छोडेका छैैनन् भने निर्वाचनमा सहभागी दलहरू पनि विपक्षीमाथि हिंसात्मक आक्रमणमा उत्रिएका छन्। हिमाल ले गत साता देशका प्रमुख ११ शहरका ३७२ जनासँग निर्वाचन सुरक्षाबारे गरेको सर्वेक्षणले बहुमत सर्वसाधारण सरकारी सुरक्षासँग ढुक्क हुन नसकेको देखाएको छ। 'यो निर्वाचनमा मतदानस्थल र मतदाताको सुरक्षाका निम्ति सरकारले गरेको तयारी र व्यवस्थाप्रति कत्तिको ढुक्क हुनुहुन्छ?' भनेर सोधिएको प्रश्नमा ५१.९ प्रतिशतले 'ढुक्क छैन' भन्ने जवाफ दिए। २७.७ प्रतिशतले 'ढुक्क छु' भन्ने जवाफ दिए भने १९.९ प्रतिशतले 'थाहा छैन' भने।

निर्वाचन सुरक्षाप्रति आश्वस्त हुन नसक्नेमा सुदूरपश्चिमाञ्चलका ६८, पश्चिमाञ्चलका ६०, मध्यपश्चिमाञ्चलका ५८, पूर्वाञ्चलका ५२ र मध्यमाञ्चलका ४५.३ प्रतिशत छन्। निर्वाचनमा सरकारी तयारीप्रति ढुक्क हुने मतदातामा सबैभन्दा धेरै मध्यपश्चिमाञ्चलका ३८, पश्चिमाञ्चलका ३० र मध्यमाञ्चलका २६.७ प्रतिशत छन्। नेपालगञ्जका ५२ प्रतिशत, जनकपुरका ५० प्रतिशत र विराटनगरका ३६ प्रतिशतले निर्वाचन सुरक्षाप्रति आश्वस्त रहेको बताए भने धनगढी र घोराहीका ६८, बुटवलका ६४ तथा नारायणगढ र धरानका ६० प्रतिशतले निर्वाचन सुरक्षाप्रति ढुक्क हुन नसकेको बताए।

'४ मंसीरमा हुने संविधानसभा निर्वाचनमा तपाईं भोट हाल्न जानुहुन्छ?' भनेर सोधिएको प्रश्नमा ७९ प्रतिशतले 'जान्छु' भनेका छन्। ९.९ प्रतिशतले 'जान्न' भन्ने उत्तर दिए भने ११ प्रतिशतले 'थाहा छैन' भने। जान्छु भन्नेमा पूर्वाञ्चलका ९२, पश्चिमाञ्चलका ८०, मध्यमाञ्चलका ७७.३, मध्यपश्चिमाञ्चलका ७४ र सुदूरपश्चिमाञ्चलका ६० प्रतिशत छन्। भोट हाल्न जान्न भन्नेमा सुदूरपश्चिमाञ्चलका सबैभन्दा धेरै १६ तथा मध्यपश्चिमाञ्चलका १२ प्रतिशत भेटिए।

१८–२४ वर्ष समूहका २६ प्रतिशत उत्तरदाता मत हाल्न जानेमा अनिश्चित देखिए। यो समूहका १३ प्रतिशतले 'जान्न' भन्ने उत्तर दिए भने १३ प्रतिशतले 'थाहा छैन' भने। २५–३९ वर्ष समूहका ११ प्रतिशत, ४०–५९ वर्ष समूहका १०.४ र ६० वर्षमाथिका १.९ प्रतिशतले भोट हाल्न 'जान्न' भन्ने उत्तर दिए। भोट हाल्न जान्छु भन्ने उत्तर दिनेमा पुरुष ७९.२ र महिला ७८.७ प्रतिशत छन्। भोट हाल्न 'जान्न' भन्नेमा सबैभन्दा धेरै पहाडी दलित ३३.३, पहाडी जनजाति १५.७, पहाडी ७.५, मधेशी ९.५, मुस्लिम १० र नेवार ३ प्रतिशत छन्।

'यसपटक सबै उम्मेदवार तपाईंको घरदैलोमै आएर भोट मागिरहेका छन्। यसलाई कसरी हेर्नुभएको छ?' भनेर सोधिएको प्रश्नमा ६४.५ प्रतिशतले 'चुनावका लागि मात्रै हो, चुनावपछि बिर्सन्छन्' भन्ने जवाफ दिए। २४.७ प्रतिशतले 'उम्मेदवारहरू जनताका कुरा सुन्न तयार भए' भन्ने जवाफ दिए भने ९.७ प्रतिशतले 'थाहा छैन' भने।

'उम्मेदवारहरू जनताका कुरा सुन्न तयार भए' भन्नेमा सबैभन्दा धेरै स्नातकोत्तर तह वा सोभन्दा माथि पढेका ३८.५, स्नातक तह पढेका ३४.६ तथा प्रमाणपत्र तह पढेका २१.६ प्रतिशत छन्। यस्तो जवाफ दिनेमा बुटवल र पोखराका ४०, जनकपुरका ३३ र काठमाडौंका ३१.६ प्रतिशत छन्। 'चुनावका लागि मात्रै हो, चुनावपछि बिर्सन्छन्' भन्नेमा प्रमाणपत्र तह पढेका ७२.२, निरक्षर ६८.४ र साक्षर ६४.९ प्रतिशत छन्। यस्तो उत्तर दिनेमा नारायणगढका ९२, धनगढीका ८० तथा विराटनगर, घोराही र नेपालगन्जका ७६ प्रतिशत छन्।

तथ्यांकशास्त्री बालकृष्ण खड्काको नेतृत्वमा देशभरका १२ शहरमा हरेक साता गरिने यस सर्वेक्षणका लागि द एशिया फाउण्डेशनको सहयोग रहेको छ।

–सम्पादक

comments powered by Disqus

रमझम