९ मंसिर २०७० | 17 November 2013

प्रतिरोधको चुनाव

Share:
  
- रामेश्वर बोहरा
गत निर्वाचनमा जस्तै हिंसाबाट जित्ने एमाओवादीको योजना विफल पार्न कांग्रेस―एमाले यो पटक प्रतिरोध गर्ने प्रयास गर्दैछन्।

** दोलखा–२ अन्तर्गत पर्ने लादुकमा एमालेको चुनावी सभामा एमाओवादीको आक्रमण, एमालेका २० कार्यकर्ता घाइते, चार जनाको अवस्था गम्भीर।

** बाग्लुङको हुग्दीशिर गाविसको बर्‍याङ बजारमा राष्ट्रिय जनमोर्चाले निकालेको जुलूसमा एमाओवादीको आक्रमण, पूर्वसभासद् मीना पुन सहित तीनजना घाइते, पुनको अवस्था गम्भीर।

** सिन्धुली–१ को दुधौलीमा उम्मेदवार सहितका एमाओवादी कार्यकर्ताले एमाले उम्मेदवार गणेश पहाडी बसेको घर घेरा हालेपछि झ्ाडप, एमाओवादी उम्मेदवार लेखनाथ दाहाल सहित तीन जना घाइते।

** बैतडी–१ मा चुनावी प्रचारका क्रममा जिल्लाको उत्तरपूर्वी मल्लादेवी–९ बबिडामा एमाओवादीद्वारा एमाले कार्यकर्तामाथि आक्रमण, पूर्व जिल्ला अध्यक्ष नरेन्द्र बिष्टसहित ६ जना घाइते।

** डडेल्धुराको जोगबुढामा चुनावी सभाबाट फर्किरहेका कांग्रेस कार्यकर्तामाथि एमाओवादी आक्रमण, जोगबुढा गाविसका कांग्रेस सभापति गणेश जोशी सहित १५ कार्यकर्ता घाइते।

** नुवाकोट–२ अन्तर्गतको लच्याङमा एमाओवादीद्वारा घरमा बसिरहेका कांग्रेस कार्यकर्तामाथि आक्रमण, चार जना घाइते।

** ओखलढुंगा–२ अन्तर्गत गाम्नाङटार–१ मा एमाले उम्मेदवार नानीबाबु बुढाथोकी सहितको टोलीमाथि एमाओवादी आक्रमण, सुरक्षाका निम्ति सशस्त्र प्रहरीद्वारा हवाई फायर।

कृष्ण सिंजाली
२४ कात्तिकमा झापा क्षेत्र नम्बर १ को बाहुनडाँगीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य गगन थापा। सम्बोधनका क्रममा उनले १० वर्षे युद्धको औचित्य पुष्टि गर्न एमाओवादीलाई चुनौती दिए।
४ मंसीरमा हुने संविधानसभाको दोस्रो निर्वाचन हुनुभन्दा चार दिनअघि २९ कात्तिकमा देशभर भएका यी घटनाले निर्वाचन हिंसात्मक हुने संकेत गर्छन्। यसअघि २८ कात्तिकमा रुकुम–२ का कांग्रेस उम्मेदवार गोपालजीजंग शाह एमाओवादीको धम्की र आक्रमण सहन नसकेर चुनावी प्रचार स्थगित गर्दै सदरमुकाम फर्किएका थिए। सदरमुकाम फर्किएपछि उनले भने, “राज्यले सुरक्षा दिन नसकेकाले २०६४ मा जस्तै यो पटक पनि निर्वाचन हुने वातावरण छैन।”

वैद्य माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले निर्वाचन विथोल्न हिंसात्मक क्रियाकलाप चलाइरहेको वेला एमाओवादीले शुरू गरेको हिंसाले भयरहित निर्वाचन हुनेमा थप आशंका जन्माएको छ। एमाओवादी नेताहरूले गत हप्तादेखि '२८ देखि खास चुनाव हुन्छ' भन्नु र २९ देखि हिंसाको श्रृंखला शुरू हुनुले पछिल्ला घटना योजनाबद्ध रहेको देखाउँछन्। २५ कात्तिकमा काभ्रेको पाँचखालको सिनेमा हलमा चलिरहेको प्रशिक्षणमा सहभागी एमाओवादी कार्यकर्ताहरूले हिमाल सँग 'गोप्य रणनीतिक प्रशिक्षण' भएको बताउनुले पनि त्यही नै देखाउँछ।

एमाओवादीका योजनाबद्ध हिंसात्मक क्रियाकलापले वैद्य माओवादीको हिंसासँग उसको प्रत्यक्ष वा अप्रत्यक्ष तालमेल हुनसक्ने आशंका पनि जन्माएको छ। वैद्य माओवादीका धेरैजसो विरोध कार्यक्रम एमाओवादी नेतृत्वप्रति लक्षित देखिए पनि तिनले समग्र वातावरणलाई आतङ्कित बनाएका छन् र शहर―बजारमा कार्यरत मध्यमवर्गीय र जागरुक मतदातालाई घर जानबाट रोकेका छन्। जुन, एमाओवादीका लागि सहयोगी हुनसक्ने देखिन्छ।

प्रतिरोधको मानसिकता

२०६४ को निर्वाचन जित्न उम्मेदवारलाई गाउँ पस्न नदिएर बूथ कब्जा गरे जस्तो एमाओवादीलाई सहज रूपमा त्यही दोहोर्‍याउन यो पटक सजिलो छैन। शान्ति प्रक्रिया सकिएकाले ऊ भड्किएर जंगल फर्किएला भन्ने त्रासमा अहिले अरू दल छैनन् भने लडाकू, वाईसीएल र युद्धकालीन कार्यकर्ताहरूको भावनात्मक साथ एमाओवादीलाई नभएकाले अरू दल ऊसँग कमै त्रसित छन्। नयाँ स्वादको नारा दिंदै आशा जगाएको ऊप्रति निराशा बढेकाले यो बीचमा गाउँसम्म बलियो संगठन पुर्‍याउन सक्नु अरू दलमा हिम्मत बढ्नुका थप कारण हुन्।

तर, हिंसाको संस्कृतिमा दीक्षित कार्यकर्ता रहेको एमाओवादीले अहिले पनि गत निर्वाचनमा जसरी नै बाहुबल र छलकपटबाट निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने कसरत गर्न छाडेको छैन। फरक कति मात्र छ भने गत निर्वाचनमा जस्तो यो पटक अरू दल निरीह देखिएका छैनन्। एमाओवादीले जाजरकोटमा आफ्ना कार्यकर्तालाई लगातार आक्रमण गर्न थालेपछि प्रतिरोध गर्न थालेका जाजरकोट–२ का कांग्रेस उम्मेदवार राजीवविक्रम शाह भन्छन्, “अब प्रतिरोध गर्र्दै अघि बढ्नुको विकल्प छैन।” कांग्रेस बलियो रहेको मजकोट, कोर्ताङ र दह गाविसमै एमाओवादीले उसलाई प्रचार गर्न रोक लगाउँदै २५ कात्तिकमा मजकोटमा कांग्रेसका क्षेत्रीय सचिव वीरेन्द्र शाही र १८ कात्तिकमा नेविसंघ जिल्ला अध्यक्ष खड्क बिसीमाथि आक्रमण गरेको थियो।

२५ कात्तिकमा प्यूठानको ढुङ्गेगढी―८ मा आमसभामा सहभागी हुन गएको वेला एमाओवादीले आक्रमण गरेपछि एमाले कार्यकर्ता पनि भिडेका थिए।

एमाओवादीको प्रतिरोध गर्ने तयारीमा कांग्रेस–एमाले लगायतका दलहरू लागेपछि सुदूरपश्चिममा त गत निर्वाचनभन्दा फरक दृश्य देखिन थालेको छ। त्यो वेला अरू दललाई प्रचार गर्न नदिएको एमाओवादी अहिले विकट स्थानमा सभा गर्न डराएको छ भने स्थितिलाई उत्तेजक बनाउन खोज्ने एमाओवादी कार्यकर्ता प्रतिपक्षीबाट कैयौं ठाउँमा कुटिएका छन्। सुदूरपश्चिमको दार्चुलामा पहिलो संविधानसभा निर्वाचनमा एमाओवादी कार्यकर्ताबाट दुर्व्यवहार भोगेका नेपाली कांग्रेसका नेता दिलेन्द्र बडू भन्छन्, “महाकालीमा धेरै पानी बगिसकेकाले अब जनता पहिले जस्ता छैनन्, जनताले प्रतिरोध गर्न थालिसके।”

देबकी विष्ट
गोंगबु, काठमाडौंमा २७ कात्तिकमा आयोजित एमाओवादीको चुनावी सभामा खटिएका वाईसीएलका कार्यकर्ता।
गत निर्वाचनमा माओवादीले बैतडीका गाउँमा चुनावी सभा गर्ने क्रममा आक्रमण गर्दा एमाले सभासद् पूर्णसिंह दयाल करङ्ग भाँचिएर उपचारका लागि एक महीना त्रिवि शिक्षण अस्पतालमा बस्नुपरेको थियो। अहिले त्यस क्षेत्रमा एमाओवादी कार्यकर्ताहरूले झ्ण्डै त्यस्तै अवस्था बेहोर्नुपरेको छ। गत निर्वाचनमा एमाओवादीले अरूलाई प्रतिबन्ध लगाएको त्यहाँको हाट क्षेत्रमा यो पटक पूर्वप्रधानमन्त्री एवम् राप्रपा उम्मेदवार लोकेन्द्रबहादुर चन्द निर्वाध प्रचार गरिरहेका छन्। २५ कात्तिकमा बङ्सल्लामा आफूलाई अवरोध पुर्‍याउन खोज्दा एमाओवादी कार्यकर्ता पिटिएको उदाहरण दिंदै बैतडीका दुवै क्षेत्रबाट उठेका चन्द भन्छन्, “जनता जागेकाले म पनि अहिले गाउँसम्म पुग्न पाएको छु।”

कतिसम्म भने 'अखण्ड सुदूरपश्चिम पार्टी' का कार्यकर्ता समेत अहिले एमाओवादीमाथि हावी भएको देखिएको छ। गत निर्वाचनमा कांग्रेस–एमाले नेताहरूलाई कुटपिट गरेका डोटी–१ का एमाओवादी उम्मेदवार मोहन बमले २५ कात्तिकमा डोटीको तिखा गाविसमा कांग्रेस कार्यकर्तासँगको झ्डपमा पिटाइ खाए। त्यो घटनामा एमाओवादीका समानुपातिक उम्मेदवार कलावती ओझ्ा र उनीहरूका सहयोगी स्वतन्त्र उम्मेदवार लालबहादुर खड्का पनि कुटाइ खाएर घाइते भएका थिए।

गत निर्वाचनमा माओवादी प्रभाव रहेको क्षेत्रमा यो पटक एमाओवादी विरुद्ध बढी प्रतिरोध भएको देखिन्छ। ११ कात्तिकमा बैतडीको तल्लो स्वराड पुगेको एमाओवादी उम्मेदवार रेणु चन्दको टोलीलाई मेलौली गाविसमा कार्यक्रम गर्न नदिएर स्थानीयले फर्काइदिए भने १३ कात्तिकमा दार्चुलाको गोकुलेश्वरमा पनि एमाओवादी–कांग्रेसबीच झ्डपपछि एमाओवादीले कार्यक्रम गर्न पाएन। २१ कात्तिकमा बैतडीको देहिमाण्डौंमा रहेको एमाओवादी कार्यालयमा 'अखण्ड सुदूरपश्चिम पार्टी' का कार्यकर्ताले तोडफोड गरे। एमालेका बैतडी सचिव लीलाधर भट्ट हिजोको ज्यादती र अहिलेको उच्छृंखल व्यवहारका कारण जनता एमाओवादी विरुद्ध खुलेर निस्किएको बताउँछन्। एमाओवादी बैतडीका इन्चार्ज गोपाल चन्द भने एमाओवादी विरुद्ध माहोल बनेको नभई कांग्रेस–एमालेहरूको उक्साहटमा ती घटना भएको दावी गर्छन्।

सुदूरपश्चिममा एमाओवादी विरुद्ध प्रतिरोध देखिनुमा कांग्रेस–एमालेसँगै 'अखण्ड सुदूरपश्चिम पार्टी' को पनि भूमिका देखिएको छ। कैलाली र कञ्चनपुरलाई थरुहट राज्यमा राख्ने एमाओवादी प्रस्तावविरुद्ध 'अखण्ड सुदूरपश्चिम' पक्षधरहरूले गरेको ३२ दिने आन्दोलनले द्वन्द्वकालमा र गत निर्वाचनताका माओवादी 'ज्यादती' विरुद्ध बोल्न नसकेका अन्य पार्टी र सर्वसाधारणलाई बोल्न र प्रतिकार गर्न सक्ने बनाएको 'अखण्ड सुदूरपश्चिम पार्टी' का अध्यक्ष पुष्करराज जोशी 'लख्खाभाइ' बताउँछन्। त्यो आन्दोलनले माओवादी विरुद्ध बोल्न हुन्न भन्ने त्रास हटाएकाले गलत काम गर्ने एमाओवादीका नेता–कार्यकर्ता गाउँबाट लखेटिनुपरेको उनको भनाइ छ।

असहिष्णुता बढ्ने खतरा

प्रभात भट्टराई
नुवाकोट–३ मा चुनावी प्रचारका क्रममा एमाले कार्यकर्ता।
२५ कात्तिकमा उत्तरपूर्वी धादिङको सुनौलाबजारमा भर्खरै स्थापना गरिएको कांग्रेस गाउँ इकाईको कार्यालयमा एमाओवादीले ल्याएर गाडेको झ्ण्डा निकाल्न प्रशासनलाई गुहार्दा केही नभएपछि कांग्रेस कार्यकर्ताले आफैं झ्ण्डा निकालेर एमाओवादी कार्यकर्तालाई दिए। लगत्तै एमाओवादी र वाईसीएलका कार्यकर्ता कांग्रेस विरुद्ध लड्ने भन्दै खुँडाखुकुरी लिएर जम्मा हुन थालेपछि कांग्रेस कार्यकर्ताले आफ्नो कार्यालयमा एमाओवादीले झ्ण्डा राख्ने हो भने उसको कार्यालयमा पनि आफ्नो झ्ण्डा राख्नुपर्ने तर्क गरे। तर, एमाओवादी कार्यकर्ताले त्यो घरमा कांग्रेस कार्यालय खुल्नुअघि नै आफ्नो झ्ण्डा राखिएकाले निकाल्न नमिल्ने अड्डी लिएपछि र त्यहाँ वाईसीएल कार्यकर्ताको भीड बढेर भिडन्त हुने सम्भावना देखिएपछि कांग्रेस पछि हट्यो र आफ्नो कार्यालयमा एमाओवादीको झ्ण्डा राख्न मान्यो। धादिङ–२ का कांग्रेस उम्मेदवार रामनाथ अधिकारी एमाओवादीसामु प्रशासन निरीह बनेकाले भिडन्त गर्नुभन्दा झ्ण्डा राख्न दिने कमसल विकल्प रोजिएको बताउँछन्।

२६ कात्तिक बिहान बिदुर नगरपालिका–४ बट्टारमा एमाओवादी नुवाकोट–३ का उम्मेदवार पोष्टबहादुर बोगटी बसेको घरमा एमाओवादी नुवाकोटका सदस्य नवराज ढुंगाना 'विज्ञान' सँगै बसेका केन्द्रीय सदस्य श्रीकृष्ण अधिकारी 'विवेक' सँग भन्दैथिए, “प्रहरीले हाम्रो कुरा नसुनेकाले अब हामीले नै घरघरबाट निकालेर पिट्नुपर्छ।” २५ कात्तिक राति सामरीमा भएको झ्डपमा कांग्रेस कार्यकर्ताबाट आफ्ना कार्यकर्ता पिटिएको सन्दर्भमा एमाओवादी नेताहरूबीच भएको सल्लाह थियो त्यो। त्यो सल्लाहसँगै नुवाकोट मात्र हैन, देशका अन्य भागमा समेत एमाओवादीले कांग्रेस कार्यकर्तामाथिको आक्रमण तीव्र पारेको छ।

एमाले पोलिटब्यूरो सदस्य विष्णु रिमाल चुनाव जित्ने आँट नभएपछि भौतिक आक्रमण गरेरै आफ्नो हात माथि पार्ने दाउमा एमाओवादी लागेको बताउँछन्। रिमाल भन्छन्, “उसको यो क्रियाकलापले पार्टीहरूबीच भिडन्तको अवस्था निम्त्याउने र निर्वाचनपछि संविधान निर्माणका लागि चाहिने सहमतिको वातावरण विथोल्ने खतरा बढाएको छ।”

कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजाल एमाओवादी हतास मनस्थितिमा देखिएको, निर्वाचन हार्ने तथा बढी प्रतिस्पर्धा हुने ठाउँमा असहिष्णु बनेको र भयत्रास पैदा गरेर निर्वाचन नहोस् भन्ने नियतमा पुगेको बताउँछन्। दलहरूबीच अस्वस्थ प्रतिस्पर्धा र झ्डपको स्थिति नआओस् भनेर कांग्रेसले ठूला सभा र र्‍यालीहरू नगरेको, घरदैलो–कोणसभामा मात्र केन्द्रित भएको तर एमाओवादीले जानीजानी भिडन्त निम्त्याउन खोजेको उनको भनाइ छ। “यसले प्रतिरोध निम्त्याउँछ, सीधै आक्रमण हुँदा प्रतिकार हुन्छ नै” रिजाल भन्छन्, “तर हामी झ्डप र प्रतिरोधको स्थिति नआओस् भन्नेमा लागिरहेका छौं।” एमाओवादी केन्द्रीय सदस्य राम कार्की चाहिं भिडन्तको स्थिति देखिए पनि स्थानीय तहबाट त्यसलाई सुल्झाउने प्रयास भइरहेको बताउँछन्। “हाम्रो नीति आफ्नो तर्फबाट उत्तेजित पार्ने काम नगरौं भन्ने नै हो, तर चुनावी राजनीतिमा कांग्रेस–एमालेका नेताहरू धेरै पोख्त भएकाले उहाँहरूले गर्ने चुनावी तिकडमले हाम्रा साथीहरूलाई आक्रोशित बनाउँछ”, कार्की भन्छन्।

साथमा बच्चु विक धनगढी, तुफान न्यौपाने नेपालगञ्ज, गोपाल गड्तौला झ्ापा, प्रभात भट्टराई धादिङ, सविता श्रेष्ठ चितवन


एमाओवादीको त्रास

सुवास देवकोटा
चुनावी रणनीति बनाउन २५ कात्तिक २०७० मा पाँचखाल काभ्रेमा बसेको एमाओवादीको गोप्य बैठक।
गत निर्वाचनमा दोलखाको दुवै क्षेत्र माओवादीले जितेकोमा अहिले दुवै क्षेत्रमा एमाओवादी तेस्रो स्थानमा देखिए पनि एमाले र कांग्रेसका कार्यकर्ता र सर्वसाधारणले मतदानको वेलासम्म त्यही स्थिति कायम रहनेमा आशंका गरे। २५ कात्तिकमा हिमाल संवाददाता त्यहाँ पुग्दा उनीहरूमध्ये अधिकांशले भने, “अन्तिम वेला एमाओवादीले भिडन्त निम्त्याउन वा पैसाको खोलो बगाउन सक्छ।”

एमाओवादी कार्यकर्ताहरूले २८ कात्तिकपछि मात्र आफूहरूलाई चुनाव लाग्छ भनेर भन्ने गरेको पनि उनीहरूको भनाइ थियो। नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलका जिल्ला अध्यक्ष जयराम श्रेष्ठले कात्तिक अन्तिम सातासम्म चरिकोट नगर र गाउँमा एमाओवादीको चहलपहल उत्ति नदेखिएकोले त्यस्तो आशंका थपिएको बताउँदै भने, “अहिलेकै कुरा गर्ने हो भने दोलखाका दुवै क्षेत्रमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा छ र एमाओवादी तेस्रो स्थानमा छ।”

२५ कात्तिक बिहान चरिकोटमा रहेको एमाले जिल्ला कार्यालयमा भेटिएका कार्यकर्ताहरू कमला श्रेष्ठ र भीमसेन नेपालीले दोलखाका दुवै क्षेत्रमा पार्टीको अवस्था निकै राम्रो भएको बताए पनि जित हुनेमा ढुक्क देखिएनन्। भीमसेनले भने, “अहिलेसम्म राम्रो भए पनि के हुन्छ भन्न सकिंदैन।”

एमाओवादी राज्य समिति सदस्य जीवन खड्काले चाहिं दुवै क्षेत्रमा एमाओवादी, कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा भए पनि दुवै क्षेत्रमा आफ्नै पार्टी विजयी हुने बताए। “गत निर्वाचनमा जस्तो ठूलो मतान्तरले हार जित हुँदैन, झ्िानो मतले हामी जित्छौं”, उनले भने।

comments powered by Disqus

रमझम