१६ मंसिर २०७० | 1 December 2013

जनताको जवाफ

Share:
  

हिमाल (२ मंसीर) मा प्रकाशित 'प्रतिरोधको चुनाव' समाचार पढेपछि केही लेख्न मन लाग्यो। २०६४ को संविधानसभा निर्वाचनमा एमाओवादी विजय हुनुको मुख्य कारण हिंसा थियो भन्नेमा दुईमत छैन। चुनावमा हारेर माओवादी फेरि जंगल पसेमा भोलिका दिनमा दुःख दिन्छ भन्ने त्राससँगै नयाँ दलले केही गरिहाल्छ कि भन्ने आशाका कारण पनि मतदाताले माओवादीलाई मत दिएर ठूलो दलको हैसियतमा पुर्‍याएका थिए। तर यो अवधिमा माओवादीले जनताको लागि केही नगर्ने रहेछ भन्नेमा जनता प्रष्ट भएका छन्। यसका साथै विलासी जीवन विताउने बानी परेको माओवादी अब जंगल पस्दैन भन्ने कुरा जनताले बुझ्िसकेका छन्। त्यसैले अहिलेको चुनावमा जनताले उसलाई जवाफ दिएका हुन्। जनमतको अवज्ञा गरेमा माओवादीले भोलिका दिनमा ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ।

मिलन बम, इमेलबाट

कानून बराबर होस्

हिमाल (२ मंसीर) मा प्रकाशित 'जनमतको अपमान' समाचार पढेपछि शीर्षस्थ भनिएका नेताहरू विभिन्न काण्डमा मुछिंदा उनीहरूको राजनीतिक जीवन त समाप्त हुन्छ नै राजनीति गर्नेले जे गरे पनि हुन्छ, कानून भनेको सोझा―सीधा र कमजोरको लागि हो भन्ने मानसिकताका कारण समस्या बढेको हो। अपराध गर्ने जो–कोहीलाई कानूनी कार्वाहीमा ल्याउनुपर्छ।

विनोद पोखरेल, इमेलबाट

स्वदेशमै केही गरौं

हिमाल (२ मंसीर) मा प्रकाशित 'बाख्रासँगै होमस्टे' समाचार सामग्री सान्दर्भिक लाग्यो। राजनीतिक अस्थिरताका वेला केही हुँदैन भनेर बस्नेलाई जाँगरिला युवाले गतिलो जवाफ दिएका छन्। अरूले केही गरिदेलान् भनेर मुख ताकेर बस्नु भन्दा आफ्नो तर्फबाट सक्ने कामको सुरुआत गर्नु उत्तम हुन्छ।

सुलोचना चौधरी, इमेलबाट

राष्ट्रिय चरित्र देखाऊ

हिमाल (२४ कात्तिक) मा प्रकाशित 'कमजोर माओवादी' समाचार पढेपछि लाग्यो यसको प्रमुख कारक अध्यक्ष पुष्पकमल दाहाल नै हुन्। राष्ट्रिय नेता हुन चाहनेमा राष्ट्रिय चरित्र पनि हुनुपर्दछ। तर पुष्पकमल दाहालमा राष्ट्रिय चरित्रको खडेरी लागेको देखियो। त्यसैले यस्तो नेता कमजोर हुनु स्वाभाविक हो। हिजो द्वन्द्वको समयमा जे भए पनि सत्तामा आएपछि राम्रो काम गर्नुपर्दछ भन्ने कुराको अलिकति पनि ख्याल नगर्दा दाहाल मात्र नभई सिंगो एमाओवादी पार्टी कमजोर भएको हो।

रामहरि डम्च, इमेलबाट

स्वतन्त्र भई बस

हिमाल (२ मंसीर) मा प्रकाशित 'भोट माग्दै कलाकार' समाचार सान्दर्भिक लाग्यो। पछिल्लो केही वर्षमा नेपाली कलाकारहरू धमाधम राजनीतिक दलमा प्रवेश गर्न थालेका छन्। राजनीतिमा नलागेसम्म पदमा पुग्न सकिंदैन भन्ने मानसिकताका कारण पनि यसरी राजनीतिक मोह बढेको हो। कलाकारले राजनीतिक संरक्षणभन्दा पनि आफ्नो क्षमता देखाउन सक्नुपर्छ। आफ्नो पेशालाई मर्यादित बनाउने हो भने उनीहरू स्वतन्त्र हुनै पर्छ।

मधु नेपाली, इमेलबाट

कामको सम्मान गर

हिमाल (२ मंसीर) मा प्रकाशित 'कामसँगै दाम पनि' समाचार पढेपछि नेपालीको कामप्रतिको सम्मान जागेर आयो। परिश्रमी नेपाली देशमा काम गर्ने वातावरण नभएपछि कामका लागि विदेशिएर परिश्रम गरिरहेका छन्। देशमा लगानी भित्र्याउने र ढुक्कसँग काम गर्ने वातावरण हुने हो भने विदेशमा राम्रो गर्ने नेपालीले स्वदेशमा पनि राम्रो गरेर देखाउन सक्छन् भन्ने कुरा बुझनुपर्दछ।

वर्षा आचार्य, इमेलबाट

comments powered by Disqus

रमझम