१६ मंसिर २०७० | 1 December 2013

'दाहाल अलोकप्रिय नेता'

Share:
  

सर्वाधिक चर्चित काठमाडौं क्षेत्र नम्बर १० मा एमाओवादी अध्यक्षलाई पराजित गरेका नेपाली कांग्रेसका राजन केसीभन्छन्, “पुष्पकमल दाहाल न शक्तिशाली हुन् न त प्रभावकारी।”

बिक्रम राई
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल जस्तो शक्तिशाली र प्रभावशाली नेतालाई हराउनुभयो नि?

जनताले २०६४ को चुनावमा माओवादी अध्यक्ष दाहाललाई मत दिएर दुई ठाउँबाट जिताए, तर उहाँले न जनताको पक्षमा केही काम गर्नुभयो न त संविधानका लागि। प्रधानमन्त्री हुँदा पनि उहाँले केही गर्नुभएन। त्यसकारण उहाँ शक्तिशाली र प्रभावशाली दुवै होइन।

अघिल्लो पटक दाहालसँगै पराजित हुनुभयो, अहिले जित्दा कस्तो लागिरहेको छ?

त्यो वेला जंगलबाट भर्खरै संसदीय व्यवस्थामा प्रवेश गरेको माओवादी हार्‍यो भने फेरि हत्या–हिंसामा फर्केला भन्ने चिन्ता लोकतन्त्रवादीमा थियो। त्यसमाथि लडाकू र वाइसीएलको त्रास पनि थियो। तर, यस पटक त्यो नहुँदा काठमाडौं–१० का मतदाताले मलाई सजिलै जिताए। मतदाताले उम्मेदवार चिनेर भोट दिएका हुन् भन्ने मलाई लाग्छ। माओवादी अध्यक्षले जनतालाई शब्दजालमा भुलाउने काम मात्र गर्नुभयो। यस पटक उहाँको नाटक मञ्चनलाई मतदाताले अस्वीकार गरे।

अरू के कारणले जितें जस्तो लाग्छ?

म गत २५ वर्षदेखि मतदाताहरूको बीचमा काम गरिरहेको छु, विकास निर्माणमा संलग्न छु। नेपाली कांग्रेसले जितेमा शान्ति सुरक्षा कायम भएर मुलुक समृद्धिको बाटोमा जाने विश्वासमा मतदाताले मलाई मत दिए।

तपाईंले मतदातालाई दिएको आश्वासन पूरा हुन्छ त?

यो चुनाव मूलतः संविधानसभाको हो। मैले मेरा मतदातालाई एक वर्षभित्र संविधान जारी हुन्छ भनेको छु। २०४८ सालमा पनि कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको थियो। हामी जनताको अपेक्षा अनुसार काम गर्छौ। एक वर्षमा संविधान जारी गरेर अर्को चार वर्षसम्म विकास निर्माणका काम गर्छौं।

जितिसकेपछि मतदाताप्रति तपाईंको थप सन्देश के छ?

लोकतन्त्रका पक्षमा कांग्रेसको योगदानलाई कदर गरेकोमा म सबैलाई धन्यवाद दिन चाहन्छु। संविधानसभा चुनावको प्रारम्भिक परिणाम हेर्दा कांग्रेसको नेतृत्वमा संविधान बन्ने देखिएको छ। सबैको पहिचान भेटियोस्, द्वन्द्व पनि मेटियोस् भन्ने हाम्रो एजेन्डामा एमाले पनि सहमत छ। मुलुकले धान्न सक्ने गरी सकेसम्म कम प्रदेश बनाउने कांग्रेसको चाहना छ।

comments powered by Disqus

रमझम