१६ मंसिर २०७० | 1 December 2013

रोगको घर

Share:
  

बिम्मी शर्मा
१९८४ सालमा बढीमा ५०० कैदी–बन्दी राख्ने गरी बनाइएको वीरगन्ज जेल अहिले भत्कन तम्तयार खण्डहर जस्तो छ। प्लास्टर उडिसकेका पर्खालहरू भत्कन थालेका छन्। मर्मत–सुधारका लागि गृह मन्त्रालयसँग साढे तीन करोड रुपैयाँ बजेट मागेकोमा जम्मा रु.६ लाख पाएको कारागारका प्रमुख धिरज मरासिनी बताउँछन्। “जेलमा अहिले ७९ महिला सहित १ हजार ३१९ कैदी–बन्दी छन्” जेलर मरासिनी भन्छन्, “५० सुरक्षाकर्मीको दरबन्दी भए पनि ४२ जना मात्र कार्यरत छन्।”

जेल हाताका १२ वटा घरमा प्रति घर २६५ कैदी–बन्दी राखिएका छन्। जेलभित्र आठ वटा धारा छन्, जसमा पानी थाप्न कैदीहरू आधा रातदेखि लाइनमा बस्छन्। दैनिक ७०० ग्राम चामल र रु.४५ पाउने उनीहरूले बढ्दो महँगीमा दाल, तरकारी, तेल–मसला आदिको खर्च धान्न मूढा, टोपी आदि बुन्ने गरेकोमा २०६८ फागुनदेखि त्यो पनि रोकिएको छ, कमिसन विवादका कारण। कैदी–बन्दीको संख्या अनुसार जेल कति साँघुरो छ भने उनीहरू हलचल नगरी टाँसिएर सुत्छन्। जेलका हेल्थ असिस्टेन्ट शशिधर सिंह उनीहरूमा छाला र दम रोगको संक्रमण देखिएको बताउँछन्। “१६ जनालाई क्षय रोग र एक महिला सहित चार जनालाई एचआईभी/एड्सको संक्रमण भएको छ”, हेल्थ असिस्टेन्ट सिंह भन्छन्।

जेलमा केही सातादेखि २४ वर्षसम्मको सजाय पाएका कैदी–बन्दीलाई कुनै वर्गीकरण नगरी एकै ठाउँमा कोचेर राखिएको छ। लागूपदार्थ ओसार–पसारको मुद्दाका ६५० कैदी छन्। कैदी–बन्दीका लागि शौचालय र धारा बनाउन आर्थिक सहयोग गर्दै आएका समाजसेवी जसपाल सिंह न्यूनतम आवश्यकता समेत नभएबाट उनीहरूको मानवअधिकारको समेत हनन भइरहेको बताउँछन्। “अपराध गरेर कैदी बन्नु परे पनि उनीहरू भोलि समाजमा फर्कने मान्छे हुन्” सिंह भन्छन्, “उनीहरूलाई चरित्र सुधार्ने हैन, बिगार्ने गरिको अमानवीय वातावरणमा राखिएको छ।”

बिम्मी शर्मा, वीरगन्ज


उत्पादनशील काममा पूर्व लडाकू

सशस्त्र युद्धकालकी माओवादी 'सेक्सन कमान्डर' हरिकला रम्तेल अहिले 'साहुनी' बनेकी छन्। युद्धको अग्रिम मोर्चामा लडेकी उनले स्वेच्छिक अवकाश रोजेर कैलालीको बौनिया बजारमा फेन्सी पसल चलाएकी छन्। उनको विवाह लडाइँकै वेला आफ्नै उमेरका तारासिंह रम्तेलसँग भएको थियो। स्वेच्छिक अवकाश रोजेका दुवै जनाले पाँच–पाँच लाखका दरले बुझ्ेको रकमबाट पसलसँगै घरबासका लागि एक कट्ठा जमीन पनि जोडे। “पसलले बालबच्चा पढाउन सजिलो भएको छ”, हरिकला भन्छिन्, “समाजमा रत्तिन 'युद्ध' जस्तो सजिलो भने भएन।”

हुन पनि, युद्धकालमा विचार प्रभावहीन भएको ठाउँमा धम्कीले पनि काम दिन्थ्यो, तर खुला सामाजिक जीवनमा त्यो चल्ने कुरै भएन। बौनिया बजारमै जुत्ता–चप्पलको पसल थापेकी अर्की पूर्व माओवादी लडाकू वसुन्धरादेवी गिरी 'बबिता' ले 'जनताको गरीबी हटाउन लडे पनि त्यसो नभएको बताइन्। जालझ्ेलको राजनीतिदेखि अलग हुँदा परिवार चलाउन भने सजिलो भएको बताउँछिन्। वसुन्धराले पनि युद्धभन्दा व्यवहार गरिखानु गाह्रो हुने बताइन्। स्वेच्छिक अवकाशपछि पाँच लाख रुपैयाँले ट्याक्टर किनेर खेतीमा जुटेका रतनपुर–८ कैलालीका हरिराम चौधरीले पनि “झूटो सपनाको पछाडि दौडनुभन्दा परिवार पाल्न गाह्रो भएको बताए।”

हरिकला, वसुन्धरादेवी र हरिराम जस्तै पूर्व लडाकू सिटीराम चौधरी पनि स्वेच्छिक अवकाशपछि तेल कारोबार गरेर परिवार पाल्न लागिपरेका छन्। उनले आफू जस्ता थुप्रै साथी रोजगारीका लागि विदेश गएको बताए। “आखिरमा गरिखान नै ठूलो र गाह्रो कुरा रहेछ”, जीवनको उर्वर समय व्यर्थैमा लडाइँमा बितेको बताउँदै सिटीराम भन्छन्, “बाँकेको कचनापुरमा हाम्रा अरू साथिहरूले समाज परिवर्तन गर्न 'भूपू पीएलए नमूना गाईपालन' फार्म खोलेर उत्पादनशील काम गरिरहेका छन्।”


निर्दोष मजदूर मारिए

नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले ४ मंसीरको संविधानसभा निर्वाचन बिथोल्न आह्वान गरेको बन्दमा फुर्सद भएका ३७ वर्षीय ट्रक चालक राजकुमार देउजा २८ कात्तिक बाराको निजगढ–७ स्थित घरको करेसाबारीमा प्याज रोप्दैथिए। बन्दको खासै प्रभाव नभएको भन्दै साहू हरि प्रसाईले जितपुरमा धान पुरुर्‍याउन भनेपछि आमासँग खाना खान आइहाल्छु भन्दै हिंडेका उनी कहिल्यै फर्किएनन्। पूर्व–पश्चिम राजमार्गको निजगढ–पथलैया खण्डको दुधौरा पुल नजिकै पेट्रोल बम प्रहारमा परेका उनी २ मंसीरको बिहान उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा दिवंगत भए।

७ कक्षासम्म पढेका राजकुमार सानैमा खलासी भएर ट्रक ड्राइभर बनेका थिए। “गाडी चलाउन शुरू गर्दा २० वर्ष जतिको हुँदो हो” आमा चिनीमायाले भक्कानिंदै भनिन् “बित्थामा मारे मेरो छोरालाई, आखिर के दोष थियो र गरीबको?” बन्दकै कारण शव गाउँमा ल्याउन नपाएपछि आफन्तहरूले काठमाडौंमै छोराको अन्तिम संस्कार गरेको उनले बताइन्। राजकुमारकी श्रीमती निर्मला बन्दका कारण ५ मंसीरमा मात्र काठमाडौंबाट घर फर्कन सकिन्। “बन्दमा बाबालाई जलाउलान् भनेर आमालाई पनि नआउन भन्यौं”, १२ वर्षीया छोरी निशाले भनिन्।

श्याम गुप्ता, बारा

comments powered by Disqus

रमझम