१६ मंसिर २०७० | 1 December 2013

शर्मनाक पराजयको कारण

Share:
  
- मुमाराम खनाल
सरकार र संविधानसभाभित्रका असन्तुलित प्रस्तुति, जातिवादी राजनीति, पार्टी विभाजन, सांगठनिक अराजकता, भ्रष्टाचारमा संलग्नता र कार्यकर्तालाई उपेक्षा गर्नु एमाओवादीले लज्जास्पद पराजय बेहोर्नुका कारण हुन्।

बिक्रम राई
मतदाताको उत्साहः संविधानसभाको लागि ४ मंसीरमा भएको निर्वाचनमा नातिनीको सहयोग लिई मतदान गर्दै एक वृद्धा।
आशा र अपेक्षा गरेभन्दा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न भएको दोस्रो संविधानसभा निर्वाचनको परिणाम आश्चर्यजनक रूपले एमाओवादीको विपक्षमा गएको छ। घोषित परिणामको आँकडाले नेकपा (एमाले) र नेपाली कांग्रेस ठूलो दल बन्ने प्रतिस्पर्धामा रहेको देखाउँछ भने गत निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमाओवादी निकै कम संख्या सहित तेस्रो स्थानमा पुगेको छ। यो परिणामपछि संविधानसभाका संभावना र चुनौतीको लेखाजोखा गर्न थालिएको छ।

निर्वाचनको पूर्व सन्ध्यामा एमाओवादीको अवस्था देशव्यापी रूपमै कमजोर रहेको टिप्पणी भइरहेकै थिए। तर, राम्रै मत ल्याएर उसले तेस्रो स्थान प्राप्त गर्ने आकलन गरिएको थियो। आकलन गरिएभन्दा निकै कम मत पाएपछि एमाओवादीले राजनीतिक धैर्य गुमाउँदै मत गणनाको प्रक्रियाबाट बाहिरिने घोषणा गर्‍यो। प्रक्रियाबाट बाहिरिने उसको निर्णयले शान्ति प्रक्रिया, संविधान निर्माण र उसकै राजनीतिक भविष्यबारे प्रश्न उठ्न थालेका छन्।

असन्तुलित एमाओवादी

मत गणनाको प्रारम्भिक प्रक्रिया शुरू हुनेवित्तिकै आफ्नो पक्षमा परिणाम नआउने देखेपछि एमाओवादीले राति ३ बजे निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षडयन्त्र र धाँधली भएको आरोप सहित पार्टीका मतगणना एजेन्टहरूलाई बाहिरिन निर्देशन दियो। जबकि निर्वाचन सम्पन्न हुनेवित्तिकै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नै निर्वाचन स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष भएको प्रतिक्रिया दिएका थिए। यसरी आफ्नो पक्षमा परिणाम नआउने वित्तिकै राजनीतिक रूपमा असन्तुलित हुँदै उनले अराजनीतिक प्रतिक्रिया दिए।

सबैलाई थाहा भएकै हो, प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठन गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव एमाओवादीले नै गरेको थियो। त्यो पनि आफ्नो महाधिवेशन हलबाटै। जबकि उसको त्यस्तो प्रस्तावप्रति राजनीतिक दल, नागरिक समाज, बार एशोसिएसन लगायत विभिन्न पेशागत संगठन तथा बुद्धिजीवीहरूको विरोध थियो। तैपनि निर्वाचन हुन्छ भने जोखिम मोलेरै भए पनि निर्वाचन गर्नुपर्छ भन्ने मत बढ्दै गएकाले यो निर्वाचन सम्पन्न हुनसकेको हो। वर्तमान गैरदलीय सरकारको निर्माण पनि एमाओवादीको आग्रह अनुसार नै भएको हो।

निर्वाचनबारे एमाओवादीले अहिले गरेको निर्णयले उसलाई फेरि एक पटक अराजनीतिक र गैरजिम्मेवार राजनीतिक दल भनेर चिनाएको छ। योभन्दा अगाडि पनि उसले कैयौं पटक विद्रोहको धम्की दिंदै शान्ति प्रक्रियाबाट बाहिरिने चेतावनी दिने गरेको थियो। त्यस्ता भनाइले उसको राजनीतिक विश्वसनीयतालाई समाप्त पार्दै पार्टीमै विभाजनको बीउ रोपेको थियो। विगत दुई वर्षदेखि उसको विश्वसनीयतामा केही सुधार भएको वेला पहिलो दिन आफैंले स्वच्छ र स्वतन्त्र भनेको निर्वाचनको परिणामलाई अस्वीकार गर्ने र प्रक्रियाबाटै भाग्ने निर्णयले एमाओवादीलाई निकै अप्ठेरो परिस्थितिमा पुर्‍याएको छ।

तर, निर्वाचनको परिणाम स्वीकार नगरी एमाओवादीलाई सुखै छैन। निर्वाचन परिणाम नस्वीकार्ने निर्णयमा अडिग रह्यो भने ऊ पुनः विभाजित हुने निश्चित छ। किनभने बाबुराम भट्टराई पक्षले संविधानसभालाई त्याग्ने राजनीतिक निर्णय स्वीकार्ने देखिंदैन। त्यस्तो अवस्थामा पुष्पकमल दाहालका सामु मोहन वैद्यको नेतृत्वलाई निःशर्त स्वीकार्नुको विकल्प बाँकी रहने छैन। अहिलेको असन्तुलित निर्णयलाई नसच्याउने हो भने उसको सांगठनिक विघटनको प्रक्रिया डरलाग्दो रूपमा शुरू हुने खतरा छ। त्यस्तो वेला एउटा पक्ष एमालेतर्फ र अर्को पक्ष वैद्य माओवादीतर्फ आकर्षित हुन सक्छ। त्यसकारण, एमाओवादीले यो असन्तुलित र अराजनीतिक निर्णयलाई छिट्टै सच्याउँदै निर्वाचन परिणामलाई स्वीकार्नुको विकल्प छैन।

पराजयका कारण

दश वर्षको जनयुद्ध र १९ दिनको जनआन्दोलनको राजनीतिक म्यान्डेट के थियो र के थिएन भन्ने पहिलो संविधानसभाको निर्वाचनपछि ज्यादै विवादित विषय बन्यो। अझ् मधेश आन्दोलन भएपछि त्यसको अभिजात वर्गीय नेतृत्वले मधेशमा रहेको चरम वर्गीय उत्पीडनलाई उपेक्षा गर्दै क्षेत्रीयताको नाममा आफ्नै वर्गमा अधिकार केन्द्रित गर्न खोज्यो। र, अभिजात वर्गमा फेरिएको एमाओवादीको नेतृत्वले ऊसँग अराजनीतिक गठबन्धन गर्दै आफूहरूलाई कथित अग्रगामी शक्ति भन्न थाल्यो। जनयुद्ध र मधेश आन्दोलनको जगमा निर्मित यी दुवै नव अभिजात वर्गीय नेतृत्वले नेपालको राजनीतिक शक्ति सन्तुलन र नेपाली समाजको बनोटलाई मनोगत व्याख्या गर्दै उग्र जातिवादको बीउ रोप्ने प्रयास गरे। उनीहरूको पतनको श्रृंखला शुरू भएको त्यहींबाट हो। एमाओवादीले अहिले लज्जास्पद पराजय भोग्नुको महत्वपूर्ण कारण पनि त्यही हो।

संविधानसभा, लोकतान्त्रिक गणतन्त्र, राज्यको पुनर्संरचना र धर्म निरपेक्षता एमाओवादीले स्थापित गरेका मुद्दाहरू हुन् भन्ने साँचो नै हो। गत संविधानसभाको निर्वाचनमा माओवादीले ती मुद्दामा दावी गर्दै जनतासमक्ष मत मागेको थियो। जनताले पनि 'जनयुद्ध' र जनआन्दोलनको राप र ताप भएको त्यो वेला एमाओवादीको दावीलाई सत्य ठहर्‍याउँदै ठूलो पार्टी बनाइदिए। एमाओवादी ठूलो बन्नुमा त्यो मुद्दासँगै बल प्रयोग, शान्ति प्रक्रियाबाट बाहिर नजाउन् भन्ने जनचाहना र लडाकूको माध्यमबाट सिर्जना गरिएको मनोवैज्ञानिक त्रासले पनि काम गरेको थियो।

तर, ठूलो दल बनेपछि एमाओवादीले दम्भ र अहंकार देखाउँदै अन्य दलहरूलाई अपमान गर्न थाल्यो। गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्नबाट रोक्यो र सहमतिको राजनीतिलाई भत्काउँदै बहुमतीय प्रणालीको आधारमा आफ्नै नेतृत्वमा सरकार बनायो। संविधान निर्माणमा प्राथमिकता दिनुको साटो एमाओवादी नेतृत्वले सर्वसत्तावादको अभ्यास गर्दैै र नेपाललाई 'स्वर्ग बनाउने' बताउन थाल्यो।

सेनापति रुक्मांगत कटवाल हटाउने प्रकरणबाट सत्ताच्यूत भएपछि त दाहाल संविधान निर्माण गर्न नभएर पुनः प्रधानमन्त्री कसरी बन्न सकिन्छ भन्ने प्रयत्नमा सम्पूर्ण रूपमा केन्द्रित हुन थाले। त्यसले एमाओवादी विरुद्ध तीव्र धु्रवीकरण भयो भने उसैमा पनि कथित विद्रोह र शान्ति प्रक्रियालाई हेर्ने दृष्टिकोणमा विवाद ल्यायो। त्यो विवाद बढ्दै जाँदा उसमा व्यवस्थापन गर्नै नसकिने गरी विभाजनको रेखा कोरियो। अनेक प्रयत्न गर्दा पनि दाहाल प्रधानमन्त्री बन्न नसकेकै वेला पार्टी विवादको फाइदा उठाउँदै बाबुराम प्रधानमन्त्री बन्न सफल भए। उनकै नेतृत्वमा 'अपमानजनक ढंग' ले लडाकूको समायोजन र संविधानसभाको विघटन गरियो। यो निर्वाचनमा जनताले एमाओवादीलाई संविधानसभाको नेतृत्व दिन नचाहनुका कारणमध्ये यी केही हुन्। पाँच वर्ष नेतृत्व गर्ने मौका पाउँदा पनि संविधान बनाउन नसक्नु एमाओवादीलाई जनताले मौका नदिनुको अर्को कारण हो।

वर्गीय मुद्दालाई तिलान्जली दिंदै शक्ति आर्जन गर्न एमाओवादीले उचालेको उग्र जातिवाद र एकल जातीय पहिचानको नारालाई पनि नेपाली जनताले रुचाएनन्। जातजातिलाई अधिकार दिने नाममा अमूक जातिका अभिजातहरूलाई मात्र अधिकार दिंदै आफ्नो गठबन्धन बलियो बनाउने एमाओवादीको नियत जनताले वेलैमा बुझे। जनताले जातीय संघीयताका विरोधीहरूलाई मतदान गर्नुको कारण त्यही हो।

एमाओवादीले पराजय बेहोर्नुको अर्को कारण पार्टी विभाजन पनि हो। शान्ति प्रक्रियामा आएर पार्टी बहुपदीय प्रणालीमा गइसकेपछि पनि एमाओवादीको नेतृत्व व्यक्तिवादी नै रह्यो। जसको परिणाम नेताहरू असन्तुष्ट र भूमिकाहीन बन्दै गए। नेतृत्वको चाकरी गर्ने नेताको काँधमा बोक्नै नसक्ने जिम्मेवारीहरू थोपरियो भने क्षमतावान भए पनि नेतृत्वको आलोचना गर्नेहरूले जिम्मेवारी पाएनन्। त्यो असन्तुष्टि र सैद्धान्तिक मतान्तर बढ्दै पार्टी विभाजन समेत भयो। संविधानसभा विघटनलगत्तै भएको विभाजनमा वैद्य पक्षमा ९० जनाभन्दा बढी सभासद्सहित कार्यकर्ताहरूको ठूलो पंक्ति लाग्यो। जतिसुकै नजरअन्दाज गर्न प्रयत्न गरे पनि एमाओवादीलाई हराउन त्यो शक्ति पर्याप्त थियो।

एमाओवादी हार्नुको अर्काे कारण उसको सांगठनिक अराजकता पनि रह्यो। पार्टी विभाजनपछि एमाओवादीको संगठन अस्तव्यस्त बन्यो तथा पुराना र संघर्षशील कार्यकर्ताहरू असन्तुष्ट बने। नेतृत्वले भने त्यसलाई बेवास्ता गर्दै शोधभर्ना गर्ने नाममा स्वार्थपूर्तिका लागि आएका नयाँ प्रवेशीलाई महत्व दियो। पुराना कार्यकर्ताहरूले त्यसलाई अपमान मान्दै निर्वाचनको वेला बदला लिने अठोट गरे। उनीहरू निर्वाचनमा पूरै निष्त्रि्कय रहे। जबकि जनताले उनीहरूलाई नै एमाओवादीको वास्तविक नेता/कार्यकर्ता ठान्थे। कतिपय खराब उम्मेदवार परेको ठाउँमा र लाभको पदमा छँदा सम्पर्क समेत नदिने नेताहरूलाई हराउन उनीहरू विरोधीका सहयोगी समेत बने।

मूल नेतृत्व नयाँ पूँजीपति वर्गमा रूपान्तरण हुनु एमाओवादी पराजित हुनुको अर्को कारण हो। सरकारको नेतृत्व गर्ने, लाभको पदमा बस्नेका परिवार एकाएक असीमित सम्पत्तिको मालिक बनेपछि एमाओवादी नेतृत्व अलोकप्रिय बनेको थियो। आर्थिक मुद्दामा सबैभन्दा बढी दाहाल तानिए भने बाबुरामकी पत्नी हिसिला यमी पनि त्यत्तिकै बदनाम बनिन्। एमाओवादीका अरू नेताहरू पनि गच्छे अनुसार कमाउ धन्दामा लागेको सार्वजनिक भयो। ती घटनाहरूले एमाओवादी नेतृत्व जनतासँग टाढिन पुग्यो। जनताले एमाओवादी नेतृत्व पाखण्डी रहेको महसूस गरे। कार्यकर्ताहरू त्यस्ता नेतालाई निर्वाचनमा जिताउन सक्रिय भएनन्।

एमाओवादीमा लागेर दुःख पाएका पूर्व लडाकू, घाइते र अपाङ्ग, एमाओवादीका नेताहरूबाट तिरस्कृत भएका कार्यकर्ताहरू रुष्ट हुनु एमाओवादी हार्नुको अर्को कारण हो। एमाओवादीले आफ्नो जीवन बर्बाद पारिदिएको उनीहरूको दुखेसो थियो। एमाओवादीको समर्थन गर्ने निम्न वर्गीय जमात उनीहरूको दुखेसोसँग प्रभावित बन्यो। यो वर्ग एमाओवादीको उपभोक्तावादी र भ्रष्ट नेतृत्वसँग रुष्ट हुनु पनि अस्वाभाविक भएन। यो जमात एमाओवादी नेतृत्वसँग बदला लिने मौका पर्खिरहेको थियो, निर्वाचन त्यसका लागि उपयुक्त मौका बन्यो।

हिंसाको राजनीतिप्रति जनताको वितृष्णा एमाओवादी पराजित हुनुको अर्को महत्वपूर्ण कारण रह्यो। उनीहरूको नेतृत्वमा भएको निरन्तर कलह, सही चुनावी रणनीति र जनताले पत्याएको परिपक्व नेतृत्वको अभाव, जिम्मेवारी र उत्तरदायित्व नलिने नेतृत्व, दम्भ र अहंकारी नेता, राजनीतिक सुझ्बुझ्को अभाव, जनतालाई सताउने कार्यकर्ता, शक्तिको वस्तुपरक विन्यासको कमी एमाओवादीले पराजय बेहोर्नुका अरू कारण रहे।

comments powered by Disqus

रमझम