१६ मंसिर २०७० | 1 December 2013

छुर्पीको लागि चौंरी

Share:
  

*शब्द/तस्वीरः सीता मादेम्बा**

“नान्दोमा, स्यो स्यो...!”

निमा फुङजु शेर्पा (३७) यसरी कराएपछि केही तलको चौरमा उग्राइरहेकी नान्दोमा जुरुक्क उठेर कोदोको छोक्रा खान गोठमा आई। आरीमा तोङ्वाको छोक्रा राखिदिएपछि निमाले नान्दोमाका पछाडिका दुई खुट्टा बाँधेर दुधेरोमा दूध दुहुन थालिन्। निमा यसरी नामले पालै पालो बोलाउँदै दैनिक २० वटा चौंरी दुहुन्छिन्। “यसको नाकमा सेतो टाटो छ, त्यसैले नाम नान्दोमा”, निमाले भनिन्, “यो अलिक बदमास पनि छ, त्यसैले दुहुदा बाँध्नुपर्छ। नयाँ मान्छेलाई त हान्छ पनि।”

दोबाटेको चौंरीगोठका चौंरी र याक।

ताप्लेजुङ जिल्लाको साँघु र फाकुम्वा गाविसको सिमानामा पर्ने यो सिद्धि लेक गिद्धेमा संखुवासभा, गुफाकी निमाले याक सहित ३० वटा चौंरी पालेकी छन्। एउटा चौंरीले दैनिक सरदर दुई लिटर दूध दिन्छ, जसबाट नौनी र छुर्पी बन्छ। यही कमाइबाट निमाले घर चलाउनुको साथै तीन जना छोराछोरीलाई बसन्तपुरको बोर्डिङ स्कूलमा पढाइरहेकी छन्। हिउँदको ६ महीना मात्र गुफास्थित घरमा बस्ने उनी भन्छिन्, “चौंरी बिक्रीबाट पनि वर्षमा डेढ लाखसम्म हात पर्छ।”

पाँच वर्षदेखि ताप्लेजुङको फाकुम्वा–६ हिलेमा चौंरी पाल्न थालेका दोर्जी लिम्बूका पनि २२ वटा चौंरी छन्। आमा शेर्पा भएकाले यो व्यवसायमा आएका उनले ६ महीनामा डेढ लाख आम्दानी हुने बताए। यो भेकको गिद्धे, जलजला, तोप्केगोला र थुदाममा धेरैले चौंरी पालन गरेका छन्। चौंरीको नौनी किलोको साढे ६ सय र छुर्पी प्रतिकिलो रु.४०० मा बिक्री हुन्छ।

चौंरी दुहुदै गिद्धेकी निमा फुङजु।

याक र स्थानीय गाईबाट चौंरी जन्मन्छ। पोथी चौंरीलाई जोमु र भालेलाई फोम्जो भनिन्छ। जोमुको मूल्य रु.४० हजारसम्म पर्छ भने फोम्जोको रु.८० हजार। जोमु र चिनियाँ गोरुबाट जन्मेको बाच्छीलाई सिन्जो भनिन्छ, जसलाई धेरै दूध दिने उन्नत मानिन्छ। बहर भने भारी बोक्न र मासुका लागि राम्रो मानिन्छ। जोमु र स्थानीय गोरुबाट जन्मेको बाच्छाबाच्छीलाई पालिंदैन। चौंरी र याक बूढो भएपछि मासुका लागि बिक्री गरिन्छ। बूढो भएका चौंरी र याकलाई साउन–भदौमा सभापोखरी, साजुगोसा, तोप्केगोला, थुदम, साम्दोकहुँदै तिब्बतको रियुतिर लगिन्छ। नेपाल–तिब्बत सीमामा पर्ने व्यापारिक केन्द्र साम्दोक पुग्न गुफाबाट १० दिन लाग्छ।

छुर्पी बनाउँदै निमा र उनका श्रीमान।

comments powered by Disqus

रमझम