१६ मंसिर २०७० | 1 December 2013

पहिलो भोट

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
यसपटकको निर्वाचनमा पहिलो पटक मतदान गरेका २१ लाखभन्दा बढी तन्नेरीको चाहना छ– देशको राजनीति सुधि्रयोस्, संविधान बनोस्।

ललितपुर, मंगलबजारकी हिना महर्जन (२२) को जीवनमा संविधानसभा जस्तो विरलै हुने निर्वाचनमा पहिलो पटक मतदान गर्ने जोगमेसो पर्‍यो। मतदाता परिचयका लागि तस्वीर खिचेदेखि भोट खसाल्न आतुर हिनाले मतदानपछि भनिन्, “अब संविधान बनोस्, युवाले देशमै शिक्षा र रोजगारी पाउने वातावरण बनोस्।” हिनाको यो बोलीमा ४ मंसीरमा सम्पन्न निर्वाचनमा पहिलो पटक मतदान गरेका २१ लाखभन्दा बढी नेपाली तन्नेरीको प्रतिनिधित्व छ।

ललितपुरको पाटन दरबार स्क्वायर मतदान केन्द्रमा मतदान गर्दै मंगलबजारकी हिना महर्जन (२२)।

२०६४ सालको संविधानसभा निर्वाचनपछि देशमा कुनै निकायको निर्वाचन नभएको अवस्थामा भएको यो चुनावमा मताधिकार प्रयोग गरेका कुल एक करोड २१ लाख ४७ हजार ८६५ मतदातामध्ये २१ लाख अर्थात् १७.५४ प्रतिशतभन्दा बढी मतदाता १८–२५ वर्ष उमेर समूहका थिए। यो चुनावमा उनीहरूले आफ्नो राजनीतिक रोजाइको प्रकटीकरणसँगै उत्सुकता समेत मेटे। उनीहरूमा यो निर्वाचनले देशलाई संविधान दिने आशा छ।

'गरिखाने माहोल बनोस्'

यो पटक जीवनको पहिलो मतदान गरेका दमक–१० का अनिमेष काफ्ले (२०) ले आफ्नो पुस्ताले राजनीतिको नाममा समय बर्बाद गर्न नचाहेको बताए। काठमाडौंमा पढिरहेका अनिमेषले दमकमा भोट खसाएपछि भने, “देशको राजनीति पढ्न र गरिखानलाई बाधक नहुने गरी अगाडि बढिदिए हुन्थ्यो भन्ने लाग्छ।” दुई घण्टा लाइनमा उभिएर दमक–११ को मतदान केन्द्रमा भोट खसाएकी सुष्मा राई (२०) ले पनि आफूले यो चुनावपछि संविधान बनाउँदै देशले ठीक बाटो समात्छ भन्ने कामनाका साथ मतदान गरेको बताइन्।

मनोज भट्ट, धनगढी र सुष्मा राई झापा।

अंकित अग्रवाल र करिश्मा अग्रवाल, विराटनगर।

सन्देश र सम्झना, चितवन।

आठ वर्षअघि दाजुबाबुहरूसँगै लोकतन्त्र ल्याउने नारा लगाउँदै दमकको सडकमा निस्किएकी भेषकुमारी तिवारी (२५) ले पनि बन्द हडताल नहोस्, जबर्जस्ती चन्दा दिन नपरोस्, पढेर सजिलै गरिखान पाइयोस् भनेर मतदान गरेको बताइन्। यता विराटनगर–९ की करिष्मा अग्रवाल (२०) ले मतदान गरेपछि आफू नेपाली नागरिक भएको रोमाञ्चक अनुभूति भएको बताइन्। बीबीएकी विद्यार्थी करिष्माले भनिन्, “पहिलो भोट नै देशको संविधान बनाउनका लागि हाल्न पाएबाट पनि दंग छु।”

विराटनगर–९ कै अंकित लखौटिया (२३) ले पनि पहिलो पटक भोट दिंदा 'एक्साइटेड' भएको अनुभव सुनाए। चुनावी अभियान, उम्मेदवार र निर्वाचन हेर्दा आफूलाई यसपटक नयाँ संविधान बनेर देश अगाडि बढ्छ भन्ने लागेको उनले बताए। नेपालमा फेशन जस्तो बनेको बन्द–हडतालकै कारण भारत गएर बीबीएस पढ्नु परेको बताउँदै अंकितले भने, “नयाँ संविधानले बन्द–हडताललाई सधैंका लागि बन्द गरोस्, कुनै धर्म–सम्प्रदायलाई नहोच्याउने गरी नेपाल धर्मनिरपेक्ष नै रहोस्।”

चितवनको गुञ्जनगर उमावि केन्द्रमा पहिलो पटक मतदान गरेका सन्देश पौडेल (१९) र सम्झना पण्डित (१९) ले विजेता उम्मेदवारहरूले युवा पुस्ताको चाहनालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए। “युवा वर्गको आकांक्षालाई सम्बोधन गरिएको संविधानले मात्र देशमा दीर्घकालीन शान्ति र समृद्धि ल्याउँछ”, सम्झ्ानाले भनिन्। आमाबुबा र दाजुभाउजूहरूले भोट हालेको देख्दै आएका धनगढीका मनोज भट्ट (२३) ले यसपटक आफूले पनि भोट खसाएर 'ठूलो र जिम्मेवार भएको' महसूस गरे। उनले भने, “भोट हालेपछि त म पनि नेता बन्न सक्छु जस्तो लाग्यो।”

काठमाडौं बूढानीलकण्ठकी रविना श्रेष्ठ (२४) पहिलो मतदानपछि।

मन नलागी–नलागी मतदाता परिचयपत्र बनाएको बताउने धनगढीकै भुवन भट्ट (२४) ले भोट हालिसकेपछि भने आफू एउटा महत्वपूर्ण राजनीतिक प्रक्रियामा सामेल भएको र आफ्नो मत देशको बाटो निर्धारणमा काम लागेको अनुभव भएको बताए। “यो निर्वाचनले मेरो राजनीतिप्रतिको अरूचि हटाएको छ”, मेडिकलका विद्यार्थी भट्टले भने, “हामीले नै छानेर पठाउने रहेछौं, सबैले राम्रो मान्छेलाई छान्यौं भने त राम्रो भइहाल्छ नि!”

साथमा; गोपाल गडतौला, झापा, कमल रिमाल, विराटनगर, सविता श्रेष्ठ, चितवन, बच्चु विक, धनगढी

comments powered by Disqus

रमझम