२३ मंसिर २०७० | 8 December 2013

दुर्व्यसनी घटाउँदै पुनर्स्थापना केन्द्र

Share:
  
लागूऔषधका दुर्व्यसनीहरूलाई सुधार्न वीरगञ्जमा स्थापना भएको लागूऔषध केन्द्रले उल्लेखनीय काम गरेको छ।

बिम्मी शर्मा
वीरगञ्जका उद्योगी, व्यवसायी र सामाजिक कार्यकर्ताहरूले एक वर्षअघि नेशनल ट्रेडिङ नजिक स्थापना गरेको लागूऔषध पुनर्स्थापना केन्द्रले ४६ जना दुर्व्यसनीलाई कुलतबाट मुक्त गराएको छ भने २० जना दुर्व्यसनीलाई उपचार गरिरहेको छ। 'सानो पाइला' नामको संस्थाबाट संचालित यो केन्द्रले कुलत छाड्नेहरूलाई विभिन्न सीप सिकाएर परिवार र समाजमा पुनर्स्थापना पनि गरेको छ। सानो पाइलाका प्रमुख कार्यकारी अधिकृत कन्चन झाका अनुसार, केन्द्रमा आएका ८० प्रतिशत दुर्व्यसनीले कुलत छाडेका छन्।

आर्थिक अवस्था कमजोर भएका दुर्व्यसनीहरूको निःशुल्क उपचार गर्ने यो केन्द्रले एक वर्षमा गरेको राम्रो काम देखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाले सहयोग गर्न रूचि देखाएको उनी बताउँछन्।

कुलत छुटाउने विधि

लागूऔषध सेवन गर्न नपाउँदा छटपटाउने दुर्व्यसनीहरूलाई लठ्याउने औषधि दिएर शान्त पारिन्छ। १० दिन जति त्यसरी राखेर हेरेपछि औषधि घटाउने वा बढाउने निर्णय गरिन्छ। दुर्व्यसनीहरूलाई तीन महीनासम्म बाहिर निस्कन दिइन्न। त्यो वेलासम्म दुर्व्यसनीहरूलाई कुलत छाड्न प्रेरित गर्ने तरिकाहरू सिकाउँछन्। यो केन्द्रमा आर्थिक अवस्था बलियो भएकासँग रु.२५ हजार शुल्क लिने गरिएको छ।

एउटा अनुमान अनुसार, वीरगञ्जमा करीब दुई हजार लागूऔषध दुर्व्यसनी छन्। जसमध्ये करीब ५०० ले सुईबाट लागूऔषध लिन्छन्। केन्द्रमा बसेर काउन्सिलिङ गरिरहेका पूर्वदुर्व्यसनी अजित राईका अनुसार लागूऔषधको कुलतबाट मुक्त भएकाहरूबीच अरू दुर्व्यसनीलाई कुलतबाट मुक्त गराउन हरेक साता छलफल हुने गरेको छ।

अजितले १४ वर्षसम्म लागूऔषध सेवन गरेका थिए। कुलतकै कारण उनले ८ कक्षाभन्दा बढी पढ्न सकेनन्। फूटबल खेलेर पाएका पदक र पुरस्कार पनि उनले लागूऔषध किन्न खर्च गरे। दुईपटक बिहे गरे पनि उनलाई दुवै पत्नीले छाडे।

दुर्व्यसनबाट मुक्त भएपछि तेस्रो विवाह गरेका अजित भन्छन्, “यो केन्द्रको सहयोग नभएको भए लागूपदार्थको लतमा लागेरै मेरो जीवन बित्थ्यो होला।” ब्राउनसुगर नामको लागूऔषध पाँच वर्ष सेवन गरेका वीरगञ्ज छपकैयाका भोला गुप्ता (२२) अहिले यही केन्द्रमा उपचार गराइरहेका छन्। साथीहरूको संगतले लागूऔषधको लती बनेका उनी आफ्नो किराना पसलबाट पैसा चोरेर लागूऔषध किन्थे। परिवारका सदस्यले त्यो तथ्य थाहा पाएपछि पसल नै बन्द गरिदिए। अहिले उनी कुलतबाट छुटकारा पाउन प्रयासरत छन्।

स्नातक उत्तीर्ण दीपकुमार बर्मा (३२) पनि दुई वर्ष अघिसम्म लागूऔषधका दुर्व्यसनी थिए। लागूऔषधको कुलतमा लागेर उनले निजी कम्पनीको राम्रो जागिर समेत छाडेका थिए। परिवारले त्यो थाहा पाएपछि उनलाई काठमाडौं पुर्‍याएर उपचार गर्‍यो। अहिले उनी केन्द्रमा आएका दुर्व्यसनीहरूलाई छुटकारा पाउने तरिका बताइरहेका छन्।

बिम्मी शर्मा, वीरगञ्ज


पानी सुकेपछि बसाइँ

खानेपानीको अभाव भएपछि पाँचथरको केही गाउँका बासिन्दा गाउँ छाडेर बसाइँ हिंडेका छन्।

गणेश साम्पाङ
पाँचथरका यासोक, रानीगाउँ र स्याबरुम्बा गाविसका बासिन्दा घरको ढोकामा भन्दा पानीको ड्रममा ताल्चा लगाउन बढी ध्यान दिन्छन्। धारा, कुवा, पँधेरा दुई वर्षयता सुकेपछि त्यहाँका बासिन्दाले खानेपानी जोगाउन यो जुक्ति लगाएका हुन्। रानीगाउँ–८ का लेखनाथ खनालका अनुसार, खानेपानीको अभावले ती गाविसका झ्न्डै १५० परिवार गाउँ छाडेर बसाइँ सरिसकेका छन्।

खानेपानीको समस्या रानीगाउँको १, ५, ७, ८ र ९, यासोकको ५ र ७ तथा स्याबरुम्बाको १, ५ र ९ नम्बर वडामा बढी छ। यासोक बजारमा रहेको मुना होटलकी प्रोप्राइटर मुना श्रेष्ठ पानीको अभावका कारण गाउँमा पानी चोरी हुने गरेको सुनाउँछिन्।

लीटरको दुई रुपैयाँ

खानेपानीको अभाव कतिसम्म छ भने, यासोक र रानीगाउँका बासिन्दाले ८ किमी टाढाको निभुखोला दोभानबाट ट्याक्टरले ओसारेको पानी प्रति लीटर रु.२ का दरले किन्नु परेको छ। खानेपानी संकट क्षेत्र तमोर पम्पिङ संयोजन समितिका संयोजक नरबहादुर खड्काका अनुसार, तमोर नदीको पानी मशीनले तानेर वितरण गर्ने योजना पनि आर्थिक अभावका कारण अघि बढ्न सकेको छैन। दुई वर्षअघि गरिएको विस्तृत सर्भेले सो योजना सम्पन्न गर्न रु.३० करोड खर्च हुने देखाएको थियो। सो योजनाबाट आउने पानीका लागि प्रतिपरिवारले मासिक रु.२ हजार तिर्नुपर्ने देखिएकाले योजना सफल भए पनि दिगो हुनेमा शंका गरिएको छ।

पहिलादेखि नै पानीको स्रोत कम भएको सो ठाउँमा स्काभेटर प्रयोग गरेर बाटो खनिएपछि कुवा र पानीको मुहान सुकेको बताउने रानीगाउँ–८ की चन्द्रकला सम्बाहाम्फेका अनुसार, चार/पाँच वर्षअघिसम्म कुवामा सजिलै पानी पाइने गरेकोमा अहिले एक गाग्रो पानी भर्न तीन घण्टा लाग्ने गरेको छ।

गणेश साम्पाङ, पाँचथर

comments powered by Disqus

रमझम