२३ मंसिर २०७० | 8 December 2013

'मत परिमाण ठीक छ'

Share:
  

दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले क्रमशः पहिलो र दोस्रो ठूलो दल भएका छन् भने यसअघिको ठूलो दल एमाओवादी तेस्रोमा पुगेको छ। एमाओवादी सहितका केही दलले चुनावमा धाँधली भएको आरोप लगाए पनि सर्वसाधारणको मत भने चुनावी परिणामप्रति सकारात्मक छ। हिमाल ले गतसाता देशका प्रमुख १२ शहरका ३७५ जनासँग सोधेको 'नेपाली कांग्रेस, नेकपा एमालेलाई ठूलो शक्तिका रूपमा स्थापित गरेको संविधानसभा निर्वाचनको मत परिणाम तपाईंलाई कस्तो लाग्यो?' भन्ने प्रश्नमा दुईतिहाइ अर्थात् ६७.७ प्रतिशतले 'ठीक लाग्यो' भनेका छन्। १४.४ प्रतिशतले 'बेठीक लाग्यो' भनेका छन् भने १४.४ प्रतिशतले 'थाहा छैन'।

मत परिणाम 'ठीक लाग्यो' भन्नेमा सबैभन्दा धेरै ६० वर्ष वा सोभन्दा माथिका ७०.२ प्रतिशत छन्। २५–३९ वर्ष समूहका ७२ प्रतिशत, १८–२४ वर्ष समूहका ६७.५ प्रतिशत तथा ४०–५९ वर्ष समूहका ६१.८ प्रतिशतले मत परिमाण 'ठीक लाग्यो' भने। मत परिणाम 'बेठीक लाग्यो' भन्नेमा सबैभन्दा धेरै स्नातकोत्तर तह वा सोभन्दा माथि पढेका २१.९ प्रतिशत छन्। त्यस्तै, स्नातकसम्म पढेका १३.८, प्रमाणपत्र तहसम्म पढेका १७.२ र एसएलसीसम्म पढेका १८.२ प्रतिशतले पनि मत परिणाम 'बेठीक लाग्यो' भने। पूर्वाञ्चलका ९.३, मध्यमाञ्चलका १६, पश्चिमाञ्चलका १८, मध्यपश्चिमाञ्चलका १२ र सुदूरपश्चिमाञ्चलका १६ प्रतिशतले मत परिणाम 'बेठीक लाग्यो' भने।

'अघिल्लो संविधानसभामा सबैभन्दा ठूलो शक्तिका रूपमा रहेको एमाओवादी यो निर्वाचनमा नराम्रोसँग पराजित हुनुको कारण के होला?' भन्ने प्रश्नमा ४७.२ प्रतिशतले 'एमाओवादीले जनअपेक्षा बमोजिम काम नगरेकाले' पराजित भएको विचार राखे। २२.९ प्रतिशतले 'एमाओवादीप्रतिको आश र त्रास घटेकाले' तथा १५.७ प्रतिशतले 'कांग्रेस एमाले राम्रो भएकाले' भन्ने जवाफ दिए। ७.७ प्रतिशतले 'थाहा छैन' भन्ने जवाफ दिए भने ६.१ प्रतिशतले 'कांग्रेस एमालेले धाँधली गरेकाले' एमाओवादी पराजित भएको बताए।

धरानका ६८, धनगढीका ६४, घोराही र नारायणगढका ५६, काठमाडौंका ५२, नेपालगञ्जका ४८, विराटनगरका ४०, बुटवल र दमकका ३६, वीरगञ्जका २८ तथा जनकपुरका २० प्रतिशतले 'एमाओवादीले जनअपेक्षा बमोजिम काम नगरेकाले' पराजित भएको बताए। 'कांग्रेस, एमालेले धाँधली गरेकाले' एमाओवादी पराजित भएको भन्ने विचार राख्नेमा सबैभन्दा धेरै पोखरा र नारायणगढका १२, जनकपुर, विराटनगर र नेपालगञ्जका ८, काठमाडौंका ७, धरान, दमक, वीरगञ्ज तथा बुटवलका ४ प्रतिशत छन्।

'निर्वाचनमा धाँधली भयो भनेर संविधानसभामा नजाने बताएको एमाओवादीले संविधानसभामा जान केही शर्त राखेको छ। तपाईंको विचारमा उसको यो निर्णय ठीक हो कि बेठीक?' भनेर सोधिएको प्रश्नमा ६९.६ प्रतिशतले 'बेठीक हो' भन्ने जवाफ दिए। १८.४ प्रतिशतले 'थाहा छैन' भन्ने जवाफ दिए भने १०.१ प्ा्रतिशतले 'ठीक हो' भन्ने जवाफ दिए।

संविधानसभामा जानका लागि शर्त राख्ने एमाओवादीको निर्णयलाई बेठीक बताउनेमा शतप्रतिशत मधेशी दलित देखिए। ७७.६ प्रतिशत पहाडी, ६४.९ प्रतिशत नेवार, ६३.६ प्रतिशत मधेशी जनजाति, ५९.५ प्रतिशत मधेशी, ५९.१ प्र्रतिशत पहाडी जनजाति, ५३.८ प्रतिशत पहाडी दलित तथा ३३.३ प्रतिशत मुस्लिमले एमाओवादी निर्णय बेठीक हो भन्ने जवाफ दिए। एमाओवादी निर्णय 'ठीक हो' भन्नेमा सबैभन्दा धेरै मधेशी जनजाति १८.२, मधेशी १६.७ तथा पहाडी दलित १५.४ प्रतिशत छन्।

तथ्यांकशास्त्री बालकृष्ण खड्काको नेतृत्वमा देशभरका १२ शहरमा हरेक साता गरिने यस सर्वेक्षणका लागि द एशिया फाउण्डेशनको सहयोग रहेको छ।

–सम्पादक

comments powered by Disqus

रमझम