१६-३१ भदौ २०६९ | 1-16 September 2012

बिरामी देशको कथा

Share:
  
r10

शिल्पी नाट्य समूहले देशको राजनीतिक विसंगतिलाई मुख्य विषय बनाएको बिल्टु बिमारी छ नाटक चार जिल्लाका ११ स्थानमा मञ्चन गरेको छ। प्रशस्त हास्यव्यङ्ग्य मिसिएको ५० मिनेटको नाटक मञ्चनपछि हरेक ठाउँका दर्शकसँग अन्तरक्रिया गरेको निर्देशक घिमिरे युवराजले बताए। नेपाल बन्दको बेला दूध डेरीको, जिल्लाका विद्यार्थीहरूले किताब नपाएको, मल अभाव झेलिरहेका किसान आदिका सन्दर्भहरूलाई हास्यव्यङ्ग्य मिसाएर प्रस्तुत गरिएको छ।

नाटकमा मछ्वारे कल्वाको छोरो बिल्टु बेलामा किताब नपाएको र हिंसात्मक जातीय आन्दोलनको प्रभावले बिरामी पर्छ। औषधी सुझाएका एक जना वैद्यले त्यो खुवाउने उपाय भने नेताहरूलाई मात्रै थाहा भएको बताउँछन्। कल्वा नेताहरूको पछि लाग्छन्। एउटा नेताले भन्छ, यो औषधी १२ टुक्रा पारेर खुवाउने, अर्कोले भन्छ ७। अर्कोले १६। अर्कोले भन्छ थाहा छैन। अन्तिमकोले भन्छ, सिंगै खुवाउनुपर्छ। नाटक यही अन्योलमा सकिन्छ। यो नाटक यही २० भदौमा दलका शीर्ष नेताहरूलाई देखाउने तयारी भइरहेको निर्देशक घिमिरेले बताए। नाटकमा भोलाराज सापकोटा, लुनिभा तुलाधर, अरुणा कार्की, रविन्द्र झा, प्रमिला कटवाल, विपीन कार्की, जीवन बराल, गुरु पोख्रेल, रामबाबु रेग्मीले अभिनय गरेका छन्। 

comments powered by Disqus

रमझम