२३ मंसिर २०७० | 8 December 2013

मलिन गाउँघर

Share:
  
- फुर्पा तामाङ
नेताले जनता नसम्झँदा गाउँघरले पनि नेताहरूको अनुहार बिर्सन थालेछ।

फुर्पा तामाङ
ढुंगे गारो, काठको बुट्टे झयाल–ढोका र टीनको छानोमा बौद्ध झ्न्डा फहराएको रसुवाको चिलिमे गाविसमा पर्ने पजोङ गाउँ टाढाबाट हेर्दा निकै राम्रो देखिन्छ। यो नुप्पा (तामाङ) गाउँलाई शिरमा रहेको गुम्बाले थप शोभायमान बनाएको छ। चार वर्षअघि जताततै दिसा–पिसाब गरिएको देखेर मैले धुन्चेमा गैर–सरकारी संस्थाहरूलाई शौचालयको कार्यक्रम लिएर पजोङ जान अनुरोध गरेको थिएँ। तर, तीन वर्षअघि, गत साल र दोस्रो संविधानसभा निर्वाचनको क्रममा यसपाला पुग्दा पनि त्यस्तै भेटें पजोङलाई।

जिल्ला विकास समितिले पनि कहिल्यै हेरेन त्यतातिर। गत आर्थिक वर्षमा खर्च गर्न नसकेर दुई करोड भन्दा बढी रकम फ्रिज भयो रसुवामा। पजोङ भने खुला दिसापिसाबमाथि खानेपानीको अभावले पनि उत्तिकै आक्रान्त छ। गाउँमा पाइपबाट तानिएको पहेंलो पानीको स्वाद अमिलो छ। ४०–५० घरधुरीको यो गाउँमा स्वास्थ्य चौकी पनि छैन। गाउँका लोप्साङ तामाङ पीपले टन्टनी पोलिरहेको घाउ भएको नाडी अर्को हातले समातेर हिंडिरहेका थिए।

रक्सीमा रेमिट्यान्स

जिल्लाको दक्षिणी भेगमा पर्ने यार्सा, सरमथली र भोर्ले पनि पजोङकै समस्या भोग्न बाध्य छन्। भोर्लेदेखि सरमथली हुँदै यार्सातिर लाग्दा बाटोमा उताबाट कोही आयो भने गाडीले गाडीलाई साइड दिए झ्ैं ठिङ्ग उभिएर बस्नुपर्ने। त्यहाँबाट लडियो भने लाश टिप्न पनि नसकिने रहेछ। दोग्लाङबाट थाङदोर र लङ्बुबाट आरुखर्क आउने बाटो पनि त्यस्तै छ– खसियो भने कहाँ हो कहाँ!

यार्सामा केही नानीहरूलाई ठूलो भएपछि के गर्छौ? भनेर सोध्दा अधिकांशले पैसा कमाउन विदेश जाने बताए। उमेर पुगेपछि पासपोर्ट बनाएर हिंड्ने चलन बसेकोले उनीहरूले सहजै त्यसो भनेका थिए। यार्साका एकाधले बढीमा १२ कक्षा पढेका रहेछन्। गाउँमा बस्नेहरू धेरै त गोठमा बस्दा रहेछन्। यार्सा, गङ्बर, दोग्लाङ, सिङबेन्दी, युक्ब्रा, बाच्च गाउँका करीब ४० घरधुरी धुन्चे र कालिकास्थानतिर बसाइँ सरेछन्।

पढेलेखेका मान्छे नदेखिने यो क्षेत्रमा टेलिफोन, टेलिभिजन, रेडियो, पत्रपत्रिका कुन दुनियाँमा छन् अत्तोपत्तो छैन। यार्सामा शिक्षक रहेका लहरेपौवाका न्यौपाने सर पनि पक्का यार्साली भएका रहेछन्। स्थानीय भाषामा लट्टे पड्के झ्ैं पड्कने उनी जाँडपानीका ठूलो भोगी भइसकेछन्। यातायात सुविधाबाट धेरै परको यार्साका प्रायः सबै घर वरिपरि यत्रतत्र छरिएका बियर, भोड्का र ह्विस्कीका सिसीले गाउँमा घरेलु जाँडपानी खपत हुन छाडेको देखाउँथे।

सडक, बत्ती, विद्यालय, खानेपानी, शौचालय, स्वास्थ्य चौकी र संचार सुविधाबाट वञ्चित यी गाउँघरका बालबालिका र वृद्धवृद्धाको अनुहार मलिन छ। तन्नेरीहरू विदेशिएका छन्। जति बसेका छन् ती पनि विभिन्न राजनीतिक कित्तामा बाँडिएर एकअर्का विरुद्ध खनिएका छन्। खेतबारी धेरै राम्रो उत्पादन दिने खालका छन्, तर तिनले पसिनाको सिंचन पाएका छैनन्। उत्तरी भेगको ब्राबल, ठूलो स्याफ्रु, बृद्धिम, खाङजिम, स्यारपोको र पश्चिम पारिपट्टिको दालफेदी, थुमन, पाजोङ, चिलिमे–तातोपानी, ग्रे, स्यो, नेसिङ, हाकु, गोगने, तरु, सिरुचे, करुम्राङ गाउँको अवस्था पनि उस्तै छ। गाउँलेहरू भन्छन्, “रामकृष्ण आचार्यलाई तीन पटक जिताएर पठायौं, फर्केर आएनन्। डीबी लामालाई जिताएर पठायौं, उनी पनि आएनन्। प्रेमबहादुर तामाङलाई सभासद् बनाएर पठायौं, उनी पनि काठमाडौंतिरै विलाए।”

जनताले धेरै आश गरेर आफ्नो प्रतिनिधि छानेका हुन्छन्, तर ती सबैले बेवास्ता गरेपछि परिवर्तनप्रति उनीहरूको विश्वास डगमगाउँछ। यार्सामा एकजना वृद्धाले भनिन्, “नेताहरू आउन छाडेकोले हामीले उनीहरूको अनुहार नै बिर्सिसक्यौं।”

comments powered by Disqus

रमझम