तौलिया 'संस्कृति'

Share:
  
- कृष्णप्रसाद सिग्द्याल
p64
रासस

केही समयअघि हिमाल खबरपत्रिका मा कनकमणि दीक्षितको लेख 'उध्रेको प्लाष्टिक छ है' पढेपछि यो पंक्तिकारलाई पनि धेरैअघिबाट खसखस लागिरहेको तौलिया संस्कृतिबारे लेख्ने जाँगर आयो। हाम्रा सरकारी हाकीमहरू जो पनि मेचका पछाडि तौलिया फिंजाएर बसेका हुन्छन्। हाकीमहरूका मेचमा तौलिया राख्ने चलन ब्रिटिश शासकहरूले बंगालमा चलाएका हुन्, कपालमा चिपिचिल्लै तेल लगाउने बाबुहरूबाट मेचलाई मैलो हुन नदिन। नेपालमा यो अनौठो चलन २०२४–२५ सालसम्म पनि आएको थिएन। तर, जलवायु परिवर्तनको विश्वव्यापी कोकोहोलो मच्चिनुअघि २०३०–४० को दशकदेखि नै काठमाडौं उपत्यका र मध्यपहाडी क्षेत्रमा विस्तारै गर्मी बढ्दै गएको महसूस हुन थालेको र त्यससँगै 'तौलिया संस्कृति' पनि मौलाएको हो। यस्ता झ्िनामसिना कुरा गरेर राष्ट्रिय पाक्षिकको ठाउँ लिएको आरोप लाग्न सक्छ, तर यस्तै कुराले एउटा समाजको सुसंस्कृत वा त्यसको उल्टो परिचय बनाउँछ भन्ने अडान पंक्तिकारको छ।

सरकारी कार्यालयहरूमा विशेष गरी राजपत्रांकित द्वितीय श्रेणी वा सोभन्दा माथिका अधिकृतका मेचमा तौलियाको प्रयोग भएको देखिन्छ। कार्यालय प्रमुख नै तृतीय श्रेणीका अथवा तृतीय श्रेणीकै भए पनि 'प्रभावशाली' अधिकृत छन् भने बेग्लै कुरा, नत्र द्वितीय श्रेणी भन्दा तलका कर्मचारीका मेचमा त्यस्तो सुविधा उपलब्ध हुँदैन। मसलन्द शीर्षक अन्तर्गत कार्यालयका सुपरीटेन्डेन्ट वा खरीदको जिम्मेवारी वहन गर्ने सुब्बा/खरिदारबाट कार्यालयमा तौलिया भित्रिन्छ। हाकीम फेरिएपिच्छे नयाँ तौलिया ल्याउनु नयाँ हाकीमप्रतिको 'भक्ति' प्रदर्शन हुने गर्दछ। राख्नै पर्ने भए धोएको सफा तौलिया राखिदिए पनि हुने हो, तर नयाँ हाकीम सा'ब रिसाउने पो हुन् कि भन्ने सन्देहले त्यस्तो विरलै हुन्छ।

यो मनोविज्ञानले तौलियालाई हाकीमको आवश्यकता नभएर 'हैकम' जनाउने प्रतीकको रूपमा प्रस्तुत गर्दछ। कसै कसैले साँच्चै आवश्यकता महसूस गरेर वरिष्ठहरूका मेचमा झुण्डिने भन्दा धेरै सानो आकारको तौलिया राख्ने गरेको पनि देखिन्छ। तराईको गर्मीमा त यसको आवश्यकता हुन्छ नै, तर नियमित धोएर प्रयोग गर्ने कार्यालय शायदै होलान्। नेपालीहरूको सरसफाइप्रतिको चेत र आफ्नो कामप्रतिको बोधलाई विचार गर्दा यस्तै निचोड आउँछ।

कहिलेकाहीं हाकीमले अड्डामा विदेशीहरूसँग भेटघाट गरेको दृश्य टेलिभिजनमा हेर्दा मैलो तौलिया पनि देखिन्छ। टीभीमा यस्तो दृश्य देख्दा विदेशीहरूले हाकीमको मेचमा तौलिया राख्नुलाई 'नेपाली संस्कृति' भनिठान्दा हुन्। तर कुनै पनि आनीबानी र प्रचलन आफ्नै किसिमको भए पनि परिष्कृत हुनुपर्दछ, नत्र सुसंस्कृत देखिंदैन। होइन भने अन्तर्राष्ट्रिय प्रचलन र मान्यतालाई अँगाल्नुपर्दछ। सबैले छिःछिः गर्ने कुरामा 'यो मेरो संस्कृति हो' भनेर बस्न मिल्ला जस्तो लाग्दैन। कि त संस्कृति स्थापित गर्न सक्ने हैसियतमा आफू हुनुपर्‍यो।

तौलिया सरकारी कार्यालयका प्रमुखको मेचमा राखिने वस्तु हुँदै होइन। हामीकहाँ सबै टक्क मिलेको, अट्याच बाथरुम भएको हाकीमको कोठा सर्वत्र नहोला, तर धेरै कार्यालयमा त्यस्तो सुविधा भई पनि सक्यो। नभएका ठाउँमा छेउमा साइड र्‍याक राख्न सकिन्छ। उपयोग गरिसकेपछि तौलियालाई पट्याएर र्‍याकमा राखे भइहाल्यो।

यो तौलिया प्रदर्शनी हाम्रा मन्त्री, राज्यमन्त्री, सचिवले विदेशी समकक्षीहरूसँग भेटघाट गर्दा टेलिभिजनले टिप्ने हुनाले यति माथापच्ची गर्नु परेको हो। यो मुलुकमा एउटा केन्द्रीय सेवा विभाग भन्ने निकाय छ। अन्य मुलुकमा भए तौलियाको यो अपसंस्कृतिलाई त्यस्तो निकायले पहिल्यै व्यवस्थापन गरिसक्थ्यो होला। तर, यो कार्यालय चाँडो–चाँडो परिवर्तन हुने मन्त्रीहरूलाई रोजारोजा गाडी, गार्ड र ड्राइभर उपलब्ध गराउने र मन्त्री निवासका झयालढोकाका पर्दा, कार्पेट फेर्नेदेखि मन्त्रीले घर लगेका सामानको सट्टा भर्ना खरीद गरी पुर्‍याउने जस्ता काममा रुमल्लिएको पाइन्छ।

हाम्रो शासन पद्धतिले केन्द्रीय सेवा विभागलाई त्योभन्दा बढीको काममा पत्याउँदैन, किनभने त्यति पनि गहिरिएर सोच्ने नेता ओहोदामै पुग्दैनन्। अन्य मुलुकमा भने केन्द्रदेखि प्रान्त वा जिल्लासम्म पनि सेवा विभाग प्रकृतिका कार्यालयले काम गरिरहेका हुन्छन्।

comments powered by Disqus

रमझम