२३ मंसिर २०७० | 8 December 2013

जाडो छल्न दक्षिण

Share:
  

शब्द/तस्वीरः छेटु शेर्पा, संखुवासभा

संखुवासभाको उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने सिङसावा ल्होमी जातिका मानिस चिसो बढेपछि न्यानो खोज्दै जिल्लाको दक्षिणी भेग र तराई झार्न थालेका छन्। यहाँको उच्च हिमाली क्षेत्रमा मंसीर लागेपछि तुषारो र हिमपात शुरू हुन्छ।

यहाँका किमाथाङ्का, चेपुपा, हटिया, पावाखोला गाविस उच्च हिमाली क्षेत्रमा पर्छन्। जाडो छल्न तराई झार्ने प्रक्रियालाई यहाँ 'कावेला झार्नु' भनिन्छ। कावेला झर्दा यहाँका बासिन्दा जडीबुटी लिएर झार्छन्। जडीबुटी बिक्री गरेर आएको पैसाले गुजारा चलाउँदै उनीहरू चैत मध्यसम्म न्यानो ठाउँमा बस्छन्।

यहाँका उच्च हिमाली क्षेत्रमा धूप, पाखनभेद, ठूलोओखत, सुनपाते जस्ता जडीबुटी पाइन्छन्। राम्रो मूल्यमा ती जडीबुटी बिक्री गरेर उनीहरूले तराईमा बस्दाको खर्च र फर्कंदा मट्टीतेल, खानेतेल, चामल, भाँडाकुँडा र लत्ताकपडा समेत किन्ने पैसा निकाल्छन्।

हिमपात शुरू भएपछि कावेला झारेका हिमाली क्षेत्रका बासिन्दा खाँदबारीका सडकमा।

यहाँका उच्च हिमाली क्षेत्रमा झण्डै २० हजार मानिसको बसोबास छ। जवानहरू कावेला झारेको वेला बालीनाली र चौपायाको हेरचाह गर्ने जिम्मेवारी घरमा रहेका बालबालिका, वृद्धवृद्धाको हुने गर्छ। यो समयमा यो क्षेत्रका विद्यालय समेत बन्द हुन्छन्।

comments powered by Disqus

रमझम