२३ मंसिर २०७० | 8 December 2013

कत्थक नर्तनमा सुबिमा

Share:
  
भारतबाट कत्थकमा स्नातकोत्तर सुबिमा श्रेष्ठ (३५) नेपालमा नृत्यको यो विधालाई व्यावसायिक बनाउने सुरमा छिन्।

शास्त्रीय नृत्यका कलाकार काका नरेन्द्र गोपाल श्रेष्ठको प्रेरणाबाट यो लाइनमा आएकी सातदोबाटो, ललितपुरकी सुबिमाले कत्थकमा उम्दा कलाकारको पहिचान बनाइसकेकी छन्। सात वर्षयता राजधानीका शास्त्रीय नृत्य कार्यक्रमहरूमा कत्थक जादूले दर्शकलाई स्तब्ध पार्दै आएकी उनी भन्छिन्, “यो विधामा धैर्यपूर्ण मिहिनेत गरेर एक जना राम्रो कत्थक कलाकार त भएकी छु, तर यतिले नपुग्ने भएको छ।”

त्यसैले उनी नेपालमा यो विधालाई कसरी व्यावसायिक बनाउने भन्ने चिन्तामा छन्। पद्मकन्या क्याम्पसमा नृत्यमा स्नातक गरिरहेको वेला २०५५ सालमा छात्रवृत्ति पाएर नयाँदिल्लीको श्रीराम भारतीय कलाकेन्द्र पुगेकी सुबिमाले सात वर्ष लगाएर शास्त्रीय नृत्यमा स्नातकोत्तर गरिन्, जसमा कत्थक उनको मुख्य रह्यो। सुबिमा शास्त्रीय नृत्यमा लखनऊको भातखण्डे महाविद्यालयकी विशारद पनि हुन्।

पद्मकन्या क्याम्पसमा दुई वर्ष कत्थक पढाएकी उनले ललितपुरको झम्सीखेलमा 'नृत्य आँगन' खोलेको चार वर्ष भयो। शास्त्रीय नृत्यका राम्रा नर्तक–नर्तकी कम भएको नेपालमा उनी बढीभन्दा बढी कलाकार जन्माउने काम गरिरहेकी छन्। भन्छिन्, “दुई–चार महीना सिकेर शास्त्रीय नृत्य नहुने भएकोले यो क्षेत्रमा हातमा गन्न सकिने कलाकार छन्, तर अब धेरै संभावनायुक्तहरू आउन थालेका छन्।”

शब्द/तस्वीरः ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम