३० मंसिर २०७० | 15 December 2013

जनमतको कदर गर

Share:
  

हिमाल (१६ मंसीर) मा प्रकाशित 'सत्तामा संघर्ष संविधानमा सहमति' समाचार पढेपछि अझै पनि नेताहरूले चेतेका रहेनछन् भन्ने लागेको छ। कांग्रेस, एमाले जस्ता लोकतन्त्रमा विश्वास राख्ने दलका नेताहरूले ४ मंसीरमा सम्पन्न संविधानसभा चुनावमा उनीहरूलाई संविधान लेख्ने विश्वासका साथ मत दिएको यथार्थता बिर्सनुहुँदैन। त्यसकारण तोकिएको एक वर्षभित्र संविधान जारी गर्न सकिए मात्र अरू धेरै समस्या स्वतः समाधान हुँदै जाने कुरालाई जिम्मेवार दलका नेताहरूले मनन गर्नुपर्छ। संविधानसभा निर्वाचनपछि तेस्रो दलको हैसियतमा रहेका एमाओवादीलाई समेत मिलाएर अगाडि बढ्नु ठूला दलहरूको दायित्व हुन आउँछ। स–साना कुरामा बखेडा निकालेर सधैं झ्गडा गर्ने जिम्मेवार नेताहरूले सहमतिको बाटो रोज्दै संविधान निर्माणतर्फ लाग्न ढिलो गर्नुहुँदैन।

रिसव न्यौपाने, इमेलबाट

४ मंसीरको सन्देश

हिमाल (१६ मंसीर) मा प्रकाशित 'मिलेर जाने चुनौती' समाचार यथार्थपरक लाग्यो। सत्ता बाँडफाँडमा लुछाचुँडी हुने र कुरा नमिले दुरी बढ्दै जाने नेपाली राजनीतिको पुरानै रोग हो। त्यसकारण त्यस्ता पुराना रोगको अन्त्य गरी नेपाली कांग्रेस र एमाले मिलेर जानुमै बुद्धिमानी हुनेछ। जनतालाई दिएको आश्वासन पूरा गर्न नसक्दा कुन परिस्थितिको सामना गर्नुपर्दो रहेछ भन्ने जवाफ ४ मंसीरको संविधानसभा चुनावमा जनताले दिइसकेका छन्। त्यसकारण नेताहरूको वेलैमा बुद्धि फिरोस्।

ओम शर्मा, इमेलबाट

कोइरालालाई शुभकामना

हिमाल (१६ मंसीर) मा प्रकाशित अन्तर्वार्तामा सबैलाई मिलाएर सहमतीय सरकार गठन गर्ने भन्ने नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको विचार स्वागतयोग्य लाग्यो। अहिलेको जटिल राजनीतिक परिस्थितिमा कसैले पनि मेरो गोरुको बाह्रै टक्का भन्ने अडान लिनुहुँदैन। दलहरूबीच सहमति नभएसम्म कुनै पनि काम अघि बढ्न नसक्ने यथार्थता हाम्रो सामु छ। त्यसैले यो वास्तविकतालाई ध्यान दिएर एमाओवादी लगायत सबै दललाई सहमतिमा ल्याउने कांग्रेस सभापति कोइरालाको प्रयास सफल होस्। कोइरालालाई शुभकामना।

जीवन दंगाल, इमेलबाट

गल्तीबाट पाठ सिक

हिमाल (१६ मंसीर) मा प्रकाशित 'धोकालाई धक्का' समाचार आफूमाथि भएको अन्याय कसैले सहन सक्दैनन् भन्ने कुराको गतिलो प्रमाण हो। डर, धम्कीका कारण पीडितहरू केही समय चूप लाग्न बाध्य भए पनि कुनै दिन त्यसको बदला लिइन्छ भन्ने कुरामा कसैको दुईमत हुन सक्दैन। अब इमान्दार बनेर देश विकासमा लाग्ने हो भने अर्को निर्वाचनमा सफल हुन सकिन्छ भन्ने पाठ सिकेर एमाओवादी अगाडि बढ्नु नै बुद्धिमानी हुनेछ। यस्तै बखेडा झ्िकेर बस्ने हो भने भोलिका चुनावमा अझै खुम्चिनुपर्ने अवस्था आउन सक्नेतर्फ एमाओवादी नेतृत्वको वेलैमा ध्यान जाओस्।

नवीन आचार्य, इमेलबाट

स्याबास सुरक्षाकर्मी हिमाल (१६ मंसीर) मा प्रकाशित 'राजन मुक्तिबाट मुक्ति' समाचार पढेपछि अब तराई केही शान्त हुने हो कि भन्ने लागेको छ। तराईका विभिन्न जिल्लामा सक्रिय भूमिगत सशस्त्र समूहका कारण मानिसहरू सधैं त्रसित अवस्थामा छन्। राजनीतिक आडमा फस्टाउने यस्ता सशस्त्र समूहकै कारण देशमा ढुक्क भएर लगानी गर्न सक्ने अवस्था पनि छैन। प्रहरीले सक्रियता देखायो भने धेरै काम गर्न सक्दछ भन्ने कुराको प्रमाण हो यो। त्यसैले यस्ता अमानवीय काम गर्नेहरूलाई कार्वाहीको दायरामा ल्याउन ढिलाइ गर्नुहुँदैन।

सुलोचना चौधरी, इमेलबाट

सलाम खेलाडीहरूलाई!

हिमाल (१६ मंसीर) मा प्रकाशित 'सफलताले ल्याएको चुनौती' समाचारमा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय जगतमा पाएको सफलता प्रशंसनीय छ। सीमित स्रोत साधनमा पनि नेपाली क्रिकेट टीमले पाएको सफलताले नेपाली खेलाडीको उज्ज्वल भविष्यको बाटो खोलिदिएको छ। यो सफलतालाई कायम राख्दै अघि बढ्नका लागि हरेक क्षेत्रबाट कुनै कसर बाँकी राख्नुहुँदैन। नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने नेपाली खेलाडीहरूलाई सलाम!

मिलन बम, इमेलबाट

comments powered by Disqus

रमझम