३० मंसिर २०७० | 15 December 2013

'२० देशका ३७ फिल्म देखाउँदैछौं'

Share:
  

हिमाल एसोसिएसनले हरेक वर्ष गर्दै आएको 'काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) राजधानीको राष्ट्रियसभा गृहमा २६–३० मंसीरमा हुँदैछ। महोत्सवकी निर्देशक रम्यता लिम्बू भन्छिन्, “प्रदर्शनको आकर्षण बढ्दो छ।”

देबकी विष्ट
प्रदर्शनीमा कस्ता फिल्म प्राथमिकतामा परेका छन्?

विशेषगरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्म प्रदर्शन हुनेछन्। साहसिक यात्रा, आरोहण, द्वन्द्व, संस्कृति, गरीबी, विकास, लैंगिकता, भूमण्डलीकरण र बसाइँसराइ सम्बन्धी फिल्म पनि देखाइने छन्। आरोहण सम्बन्धी फिल्म र 'ह्वाई पोभर्टी' शीर्षकमा छोटा फिल्महरू पनि देखाइने छन्। हिमाल र पर्यटनबारे छलफल, सेमिनार पनि हुनेछन्।

महोत्सवको छनोट प्रक्रिया कस्तो छ? यो पटक कति आवेदन परेका थिए र कसरी छानिए?

२९० फिल्म आएकामा २० देशका ४७ फिल्म (डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्म) छनोट भए। फिल्महरूलाई अन्तर्राष्ट्रिय र नेपाल पानोरामा गरी दुई खण्डमा छुट्याइएको छ। फिल्महरू ८ जनाको छनोट कमिटीले छानेका हुन्।

नेपाली फिल्मको स्तर कस्तो देखिएको छ?

यस पटक आवेदन परेका ५५ नेपाली फिल्ममध्ये १० वटा छनोटमा परे। नेपाली युवाहरूमा फिल्ममेकिङप्रति रुचि बढेको छ, तर डकुमेण्ट्री भन्दा बढी चासो फिक्सनमा देखिन्छ। डकुमेण्ट्री जति बनिरहेका छन् तिनमा अझै पनि रिसर्च, लगाव, कडा मिहिनेत र बुझाइको अभाव देखिन्छ।

अघिल्लो महोत्सवमा कतिपय फिल्म सबै दर्शकले हेर्न पाएनन्,यो पटकको तयारी कस्तो छ?

हल क्षमताका कारण त्यस्तो भएको हो। यस पटक राष्ट्रिय सभागृहको ठूलो हल र चौरमा टेन्ट गाडेर प्रदर्शन गर्दैछौं। यसपटक ५ दिनमा २० हजारभन्दा बढी दर्शकले हेर्ने अपेक्षा छ।

हरेक वर्ष महोत्सव गर्न गाह्रो छैन?

निजी संस्थाले अन्तर्राष्ट्रिय स्तरको महोत्सव गर्नु कठिन नै हुन्छ। तर, धेरै संघसंस्थाको सहयोगमा यसलाई निरन्तरता दिइरहेका छौं। चलचित्र विकास बोर्डले पनि एउटा उत्कृष्ट नेपाली फिल्मलाई रु.२५ हजारको पुरस्कार प्रदान गर्छ।

comments powered by Disqus

रमझम