फेरिएको सोच
ह्विलचेयरमा बस्नुपर्ने नयाँ परिस्थितिमा पुगेपछि उनको ध्यान पढाइतिर लाग्यो। अस्पतालको बेडमा रहँदा नै उनले हकिन्स, हेलेन केलर, झ्मककुमारी घिमिरेका पुस्तक पढेर शारीरिक तन्दुरुस्ती गुम्नु सर्वस्व गुम्नु होइन भन्ने बुझे। र, पुस्तकलाई जीवन जिउने माध्यम बनाउने विचार बनाए।
नभन्दै अस्पतालबाट निस्किएपछि उनले घरको भुइँतलाको कोठामा र्याक बनाएर पुस्तक जम्मा गर्न थाले। अरू पुस्तक जम्मा गर्न र बन्न लागेको पुस्तकालयको व्यवस्थापन गर्न ९ जना साथी जुटाएर पुस्तकालय समिति पनि बनाए। उनको यो काम देखेपछि दमक नगरपालिकाले पाँच वटा राष्ट्रिय दैनिक पत्रिकाको ग्राहक शुल्क तिरिदियो। यसरी, उनले शुरू गरेको पुस्तकालयमा पढ्न र सहयोग गर्न आउनेहरूको संख्या बढ्न थाल्यो। यसले छिमेकी र साथीहरूसँग भेटघाट गर्न उनलाई सहज बनायो भने छिमेकी र साथीहरूले पनि पढ्ने ठाउँ पाए।
डेढ वर्षअघिको एक अपरान्ह अमेरिकी नागरिक ब्रायन वाल भेषराजको घरअघिको बाटो हुँदै साइकलमा कतै जाँदै गरेको वेला 'दमक पब्लिक लाइब्रेरी' लेखिएको बोर्ड देखेर अडिए। भूटानी शरणार्थीलाई सहायता गर्न दमकमा स्थापित राष्ट्रसंघीय शरणार्थी आयोगमा कार्यरत पत्नी आको र छोरा काईसँग बसिरहेका ती अमेरिकी पढाइ र पुस्तकका सौखिन रहेछन्। पढ्ने ठेगाना खोज्दै गरेको वेला पुस्तकालय भेट्दा हर्षित भएको बताउँदै ब्रायनले भने “अहिले यो पुस्तकालय मेरो लागि दोस्रो घर भएको छ।”
नियमित आउन थालेका ब्रायनले पुस्तकालयलाई भरिभराउ पार्न उल्लेखनीय सहयोग जुटाएका छन्। शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च आयोग र अन्तर्राष्ट्रिय आप्रवासी संगठनका कर्मचारीसँग उनले सहयोग मागेपछि १२ मंसीरमा आप्रवासी संगठनको अतिथि गृहमा सहायता संकलन तथा हस्तान्तरण समारोह भयो। जहाँ रु.३ लाख उठ्यो। यसरी सहयोग जुट्दै गएपछि अहिले पुस्तकालयमा चारहजारभन्दा बढी पुस्तक जम्मा भइसकेका छन्।
सात्विक भोजन, ह्विलचेयरमै सक्दो कसरत, ध्यान र अध्ययनलाई जीवनपद्धति बनाएका भेषराज भन्छन्, “शारीरिक कमजोरी हुँदा पनि जीवन सिंगार्न सक्ने पुस्तकबाटै थाहा पाएकाले पुस्तकको सम्बर्द्धनमा लागेको हुँ।”
गोपाल गड्तौला, झापा
उपचारको पर्खाइ
त्यो वेलादेखि उनको फोक्सो बाहिरबाटै देखिने गरी करङमा प्वाल परेको छ। उनी त्यो प्वालमा खाँदेको कपडा दिनको तीन–चार पटक फेर्छन्। पोखराको मणिपाल अस्पताल जाँदा उपचार हुने तर, त्यसका लागि खर्चको बन्दोबस्त गरेर आउन भन्दै फर्काइएको उनी बताउँछन्। कुमालका तीन छोरामध्ये जेठो र माइलो छुट्टिएर बसेका छन् भने कान्छो १३ वर्षदेखि बेपत्ता छन्। दुई बूढाबूढीको चूलो चार रोपनी बारी र मजदूरीबाट चलेको छ। “कतैबाट उपचारमा सहयोग पाए गरेर खान अलिक सहज हुन्थ्यो होला”, कुमालले भने।
सरिता अर्याल, दमौली