३० मंसिर २०७० | 15 December 2013

पतिले छाडेपछि...

Share:
  

शब्द/तस्वीरः कमल रिमाल

विराटनगरको सिटी गोल्ड सेन्टरका संचालक मनिष साहकी पत्नी बबिता खान समेत नपाउने अवस्थामा रहेको बताउँछिन्। विराटनगरमा तीन वटा घर भए पनि एउटा कोठामा खुम्चिएर बसेकी उनीसँग छोरीको स्कूल शुल्क तिर्ने पैसा समेत छैन।

भारतको बिहार छपरा माइती भएकी बबिता सन् २००७ मा विवाह भएको एक वर्षमा छोरी जन्मिएपछि पति र परिवारले दुःख दिन थालेको बताउँछिन्। १५ लाख भारु दाइजो दिएर विवाह गरेकी उनीसँग पति र परिवारले दाइजो कम भयो भन्दै दुःख दिन थालेपछि माइतीबाट अनेकौं पटक पैसा ल्याएर दिइन्। धेरै पैसा दिनु परेको पीरले बुबाको हृदयघात भएर मृत्यु भएको उनको भनाइ छ। उनका पति मनिष अहिले अर्कै युवती लिएर भारतको सिलिगुडी बस्न थालेका छन्।

परिवारले दिएको पीडा सुनाउँदै छोरीका साथ चण्डिका सिवा।

श्रीमान्को पिटाइबाट हात भाँचिएर घाइते भएकी छोरी आरतीका साथमा पार्वती साह।

एबीसी नेपाल मोरङकी अध्यक्ष विष्णु शर्माका अनुसार, बबिता बस्ने कोठामा परिवारले सीसीटीभी क्यामेरा राखेको छ, उनको गतिविधि नियाल्न। बबितालाई भारत पठाउन सहयोग गरे संस्थालाई रु.१५ लाख सहयोग दिने लोभ मनिषको परिवारले दिएको बताउने विष्णु भन्छिन्, “बबिताका तर्फबाट जिल्ला अदालतमा मानाचामल र अंश मुद्दा दर्ता गराएका छौं।”

पति भेषराज सिवा बेपत्ता भएपछि र परिवारले घरबाट निकालिदिएपछि भोजपुर दिङ्ला माइती भएकी चण्डिका सिवालाई पनि सन्तान हुर्काउन समस्या परेको छ। पहिलो पति शान्तिराम परियारको मृत्यु भएपछि दुई सन्तान हुर्काउने खर्च जुटाउन मलेसिया पुगेकी उनले त्यहीं भेटिएका भेषराजसँग विवाह गरेकी थिइन्। छोरी जन्मेपछि 'पोइ टोक्ने आइमाई' भन्दै जेठाजुले कुटेर सुत्केरी भएको १८ दिनमा घरबाट निकालिदिएको उनी बताउँछिन्। धनकुटा, धरान र मोरङको इन्द्रपुरमा घर भएका भेषराजले विराटनगरमा लिइदिएको डेरामा अहिले उनको जिन्दगी चलिरहेको छ। पतिले छाडेर हिंडेपछि छिमेकी र घरबेटीसँग मागेर खाइरहेको बताउने उनका पहिलो पतिबाट जन्मिएका दुई सन्तान विदेशीको सहयोगमा पढ्दैछन्।

लागूऔषध खाँदै पिट्ने पहिलो पतिलाई छाडेर टोलकै सुरज महतोसँग विवाह गरेकी विराटनगर–७ की पूजा कामतको पनि पतिले छाडेपछि अरूको घरमा भाँडा माझ्ोर गुजारा चलाउनुपर्ने स्थिति आएको छ। पहिलो पतिबाट जन्मिएका ८ वर्षका छोरालाई पहिले स्वीकारेका सुरज अहिले बेपत्ता छन्।

चार वर्षअघि अशोक साहसँग विवाह गरेकी विराटनगर–७ की पार्वती साह पतिको दिनहुँको पिटाइबाट आक्रान्त छिन्। पतिले तीनवर्षे छोरी आरतीको देब्रे हात भाँचिदिएको बताउने उनी छुट्टै बस्न चाहन्छिन्। यसअघि आरतीको दाहिने हात पनि अशोकले भाँचिदिएका थिए। आरतीको उपचारमा एबीसी नेपाल र बालकल्याण समितिले सहयोग गरिरहेको छ भने अशोकलाई प्रहरीले पक्रेर मुद्दा चलाएको छ।

१८ मंसीरमा विराटनगरमा आयोजित एक कार्यक्रममा आफ्नो पीडा सुनाउँदै बबिता साह।

विवाह गरेर बेपत्ता भएका पति सुरज महतोको तस्वीर देखाउँदै पूजा कामत।

भारु १० लाख दाइजो दिएर २०६१ मा विराटनगर–७ का कम्प्युटर इन्जिनियर रञ्जित गुप्तासँग विवाह गरेकी भारतको छपरा माइती भएकी रीता रौनियार पनि पतिले अर्काे विवाह गरेपछि पीडित बनेकी छन्। दाइजो नपुगेको भन्दै यातना दिन थालेपछि वर्षैपिच्छे भारु १ लाख ल्याउँदै दिने गरेको बताउने उनी पतिले नचाहेकोले सन्तान पनि नभएको बताउँछिन्। दोस्रो विवाह गरेका रञ्जितले कान्छी पत्नीलाई मानाचामल मुद्दा दिन लगाएको र अदालतले पनि उनीहरूकै पक्षमा फैसला गरेकाले रीताले न्याय पाउन गाह्रो परेको अधिवक्ता कविता बस्नेतको भनाइ छ। कविता भन्छिन्, “रीतालाई हामीले पुनरावेदन अदालतमा मुद्दा दिन लगाएका छौं। ”एबीसी नेपाल विराटनगरका अनुसार यो वर्षको पहिलो पाँच महीनामा घरेलु हिंसामा परेका ४३ जनाले अदालतमा मुद्दा दिएका छन्। तीमध्ये मानाचामल र अंशका ३२ मुद्दा छन्।

comments powered by Disqus

रमझम