निम्त्याइएको प्रकोप
अहिले भ्वाङहरू देखिएको खेत पहिलेको ताल र त्यसपछि धाप क्षेत्र हो। यो क्षेत्रको करीब दुई मिटरसम्मको उपरी परत कालीखोलाले सदियौंदेखि बगाइल्याएको पाँगो माटोेले बनेको छ। यो पूरै क्षेत्र पहिला कालीखोलाको सिमसार थियो। ८/१० वर्षअघिसम्म पनि यहाँ गोरु लगाएर जोत्न मिल्दैनथ्यो। त्यो वेला खोलाको प्रवाह मार्ग पनि धेरै चौडा थियो। २०३४ सालमा खेतको लालपुर्जा बनाउँदाको नापी नक्सामा दुहुनी खोलाकै चौडाइ पनि धेरैजसो ठाउँमा २५/३० मिटर देखिन्छ।
यो क्षेत्रको दुई मिटर पाँगो सतहभन्दा तल ६ मिटर बाक्लो चुनयुक्त कमेरे माटोको परत छ। कक्रक्क परेर बस्ने यो चुनयुक्त परत पानीको सम्पर्कमा आएपछि सलसली बग्न थाल्छ। चुनयुक्त माटोको यो परत ८/१० हजार वर्षअघि सेती नदीमा आएका ठूल्ठूला बाढीले बगाइल्याएको ढुंगा–माटोको निक्षेप हो। त्यसरी बगेर आएका चिजले पुर्न नसकेका विन्ध्यवासिनी, भद्रकाली जस्ता थुम्काहरू छँदैछन्।
खानी तथा भूगर्व विभागको सन् १९९८ को 'पोखरा उपत्यकाको भौगर्भिक इन्जिनियरिङ नक्सा तथा प्रतिवेदन' ले यो उपत्यकाको संवेदनशीलताको स्पष्ट संकेत गरेको थियो। तर, त्यसतर्फ विचारै नगरी जथाभावी सार्वजनिक तथा निजी संरचना निर्माण गरियो। विकासको नाममा जल प्रवाह र जमीनबीचको प्राकृतिक सन्तुलनसँग खेलबाड गर्दै अग्ला भवन तथा बाक्ला बस्ती बढाइयो। संवेदनशील सतहमाथि बगेको दुहुनी खोलाको प्रवाह मार्ग अतिक्रमण र कालीखोलाबाट पनि जथाभावी ढुङ्गा–गिट्टी निकासी गरियो। यो अवस्थामा पानीको वहाव गहिरिएर जानु स्वाभाविक हुन्छ। बस्ती विकासको क्रममा बढेका अव्यवस्थित ढलले पनि यो समस्या बढाउने काम गरेको देखिन्छ।
त्यसरी छिरेको सबैखाले पानीले तल्लो परतको चुनयुक्त कमेरे माटोमा थुप्रै छिद्रहरू बनाएको छ। छिद्रहरू बढेर जमीनको सतह कमजोर हुँदा भार थाम्न नसकी साना–ठूला भ्वाङहरू परेका हुन्। ती भ्वाङहरूले पानीको भूमिगत प्रवाह बढाउने नै छ। त्यसबाट चुनयुक्त कमेरे माटोको क्षयीकरणलाई अझ् बढाउनेछ। कालीखोलाको सङ्लो पानी एकाएक धमिलो (सेतीकै जस्तो) देखिनु यसैको संकेत हो।
जोखिम न्यूनीकरणका उपाय
अर्मलामा जे देखिएको छ, त्यसप्रति स्थानीय र अरू ठाउँका जनसमुदाय तथा सरोकार समूहहरू समेतलाई यस प्रकारको जोखिमयुक्त जमीनको प्रकृति सम्बन्धमा अविलम्ब सचेत पार्न कार्यक्रमहरू चलाइनुपर्छ। साथै जोखिमयुक्त क्षेत्रको अविलम्ब पहिचान गरी ती ठाउँहरूमा स्थानीय तथा अवलोकनकर्ताहरूलाई अचानक पीडित हुनबाट जोगाउन संकेत चिन्ह र छेकबारहरू राख्नुपर्छ। जोखिम क्षेत्र वरिपरि र माथिल्लो भागका पानीका स्रोतहरूको भरपर्दो व्यवस्थापन गर्नेतर्फ पनि लाग्नुपर्छ।
सम्बन्धित निकायले जोखिम क्षेत्रमा जारी निर्माण र बस्ती विकासको तत्काल कडा अनुगमन गर्नुका साथै स्थानीयहरूले पनि घर–घरको बलेनी र निकासलाई ढल प्रणालीबाट मात्र बगाउने उपायहरू अवलम्बन हुनुपर्छ। भासमा परेका जोखिम क्षेत्रका सडकहरूको पुनः निर्माणमा सम्बन्धित निकायहरू तत्काल सक्रिय हुनुपर्ने देखिन्छ, जसबाट जोखिम न्यूनीकरणका सबै खाले गतिविधिमा सघाउ पुगोस्।
कालीखोलाको प्रवाह मार्गको अतिक्रमण र ढुङ्गा निकासीलाई तत्काल रोकेर जोखिम क्षेत्रको सघन वैज्ञानिक अध्ययन थालिनुपर्छ। त्यस्तो अध्ययन विना संकटग्रस्त क्षेत्रको सुरक्षित भू–उपयोगदेखि समग्र पोखरा उपत्यकाको जोखिम न्यूनीकरणका सटिक उपायहरू ठम्याउन कठिन हुनेछ। पोखरामा पनि भौतिक संरचना निर्माण गर्दा पानीको निकासमा अब बढी नै ध्यान दिनुपर्छ। नत्र, पोखरामा पर्ने भ्वाङ अर्मलाको भन्दा गम्भीर प्रकृतिको हुन्छ। बाक्लो बस्ती भएकाले स्वाभाविक छ, क्षति पनि ठूलो हुनेछ।
पानी प्रवाह प्रणालीमा व्यापक जनचेतना सहितका वैज्ञानिक उपायद्वारा सुधार गरेर पोखरा उपत्यकाको पिंधको जमीन भासिने प्रक्रियालाई कम गर्न सकिन्छ। विशेषगरी सेती नदीको किनार वरपर, गुप्तेश्वर गुफा, पाताले छाँगो भएको क्षेत्रमा निर्माण विस्तार प्रक्रियालाई रोक्नु नै पर्दछ। नदीपुर, तेर्सापट्टी, महेन्द्रपुल, न्यूरोड, पार्दी लगायत क्षेत्रका निर्माण कार्यमा बढी सतर्कता अपनाउनुपर्दछ। खास गरेर सेती पश्चिमको क्षेत्र बढी जोखिममा छ। अहिलेको मनपरीले ठूलो संकट निम्त्याउनेमा सबै पक्ष सजग हुनै पर्छ।
अर्मलामा सामान्य होइन, गम्भीर प्रकारको प्राकृतिक प्रकोपको संकेत देखिएको मानेर अगाडि बढ्नुपर्छ। मानवीय गतिविधि प्रकृति सुहाउँदो नहुँदा यो समस्या आइलागेको छ। यसको समाधानमा बुद्धिमत्तापूर्ण सक्रियता आवश्यक छ। यो अर्मलाको मात्र समस्या होइन न त पोखराको मात्र हो। किनभने, जमीन भासिने पोखरामा मात्र होइन अन्यत्र पनि हुने प्राकृतिक प्रक्रिया हो।