३० मंसिर २०७० | 15 December 2013

मेडिकल कलेज गाथा

Share:
  

काठमाडौं विश्वविद्यालय (केयु) का पूर्व रजिष्ट्रार तथा रसायनशास्त्रका प्राध्यापक सीताराम अधिकारीले लेखेका र शिक्षक मासिकको प्रकाशन संस्था ज्ञान–विज्ञान शैक्षिक सहकारी संस्थाले प्रकाशित गरेको पुस्तक चिकित्सा शिक्षामा फड्को नेपालको मेडिकल क्षेत्रमा चासो राख्ने जो कोहीका लागि उपयोगी छ। नेपालमा मेडिकल कलेजको प्रारम्भ, विस्तार र सम्बन्धनका विविध पक्ष केलाइएको किताबमा लेखकले प्रशस्त तथ्य–तथ्याङ्क, लेख–दस्तावेज र यो प्रक्रियासँग सम्बन्धित थुप्रै व्यक्ति–संघसंस्थाका भनाइहरू राखेका छन्। बीच–बीचमा परेका संस्थाहरूका प्रगति विवरण जस्तो लाग्ने कुरा बाहेक कतै निजी संस्मरण त कतै रिपोर्टिङ शैलीमा सरल र रोचक पाराले लेखिएकाले किताब पढ्न शुरू गरेपछि छोड्न मन लाग्दैन।

चिकित्सा शिक्षामा फड्को

लेखकः डा. सीताराम अधिकारी

प्रकाशकः शिक्षक मासिक, २०७०

मूल्यः रु.४००,

पृष्ठः ३९०+२२

किताबले समेट्नुपर्ने विषयवस्तुलाई भने त्यति पूरा गरेको देखिंदैन। मूल शीर्षकबाट चिकित्सा शिक्षा क्षेत्रको समग्र पक्ष समेट्न खोजिएको त छ, तर लेखाइ केयु र यससँग आबद्ध कलेजहरूमा बढी केन्द्रित छ। चिकित्सा शिक्षामा 'फड्को' भन्दा पनि विस्तारको चर्चा बढी छ। त्यस क्रममा मेडिकल कलेजहरूको सम्बन्धन, भौतिक–शैक्षिक पूर्वाधार, पाठ्यक्रम, पठन–पाठन, परीक्षाप्रणाली, शैक्षिक जनशक्ति विकास आदिमा केयुले गरेको योगदान र संघर्षलाई भने राम्ररी प्रस्तुत गरिएको छ। चिकित्सा शिक्षामा साँच्चैको फड्को त केयुले शुरूमा आफैंले राम्रो मानेर ल्याउन खोजेको 'बीएस–एमडी' उपाधि भित्र्याउन सकेको भए हुन्थ्यो होला। यता 'एमबीबीएस' मा परम्परागत घोकन्ते विद्या भन्दा 'समस्यामा आधारित सिकाइ' (पीबीएल) को अवधारणा अघि सारेर एक प्रकारको फड्को मारेको त देखिन्छ, तर व्यापारिक स्वार्थले धेरै विद्यार्थी लिन खोज्ने कलेजहरूले खर्चिलो ठानिने यो विधि कत्तिको अपनाएका होलान् भन्नेतर्फ चाहिं त्यति प्रकाश पारिएको छैन।

मेडिकल कलेजहरूको स्वीकृति र सम्बन्धन, विद्यार्थी कोटा, पढाइ शुल्क, शिक्षण अस्पतालहरूको अवस्था जस्ता बरोबर विवादमा आउने विषयलाई छर्लङ्ग पार्न पनि किताब त्यति सफल छैन। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सम्बन्धन नदिएपछि केयुले आफ्नो मेडिकल फ्याकल्टी समेत नभएको अवस्थामा विभिन्न प्रभाव, दबाब, करबल र बाध्यतामा एकपछि अर्को कलेजलाई सम्बन्धन दिनुपरेको स्वीकार गरेका लेखकले कस–कसको, कस्तो दबाब पर्‍यो भनेर खुलाएका छैनन्। त्रिविले ती कलेजलाई सम्बन्धन दिन नमानेको कारण पनि खुलाइदिएको भए राम्रो हुन्थ्यो। बरु किताबमा उद्धृत पूर्वसचिव मधुसूदन ढकालको कुराले केही संकेत गरेको छ– प्रधानमन्त्री र मन्त्रीहरूको 'चित्त बुझाउनुपर्ने' देखि 'गुप्त खर्च' सम्मको चर्चा गरेर। एक ठाउँमा लेखक स्वयंले पनि सम्बन्धन लिन खोजेका कलेजलाई 'पसल' को दर्जामा राखेका छन्।

जे होस्, नेपालमा निजी मेडिकल कलेजहरूको सम्बन्धनको सुरुआत एउटा निश्चित प्रणालीको आधारमा भन्दा पनि हचुवा किसिमले भएको थियो भन्ने कुरा किताब पढ्दा प्रष्ट हुन्छ। यस्तै परम्परा र नजीर बसेको कारण हुन सक्छ, अहिलेसम्म पनि मेडिकल कलेजहरूको स्वीकृति र सम्बन्धन विवादमा पर्ने गरेको छ। चिकित्सा शिक्षामा अति व्यापारीकरणका साथै थुप्रै विकृति भित्रिएका छन्। मेडिकल कलेज खोल्न कति पापड पेल्नुपर्ने रहेछ भन्ने कुराको राम्रो जानकारी दिने यो किताब, मन्तव्य लेखक डा. तीर्थबहादुर श्रेष्ठका विचारमा, नयाँ मेडिकल कलेज खोल्ने सपना बोकेका वा त्यस क्रियाकलापमा लम्केका सबैले पढ्नुपर्ने खालको छ।

बद्री पौड्याल

comments powered by Disqus

रमझम