३० मंसिर २०७० | 15 December 2013

युगका नेता

Share:
  
मण्डेलाको संघर्षपूर्ण जीवनले दक्षिण अफ्रिकालाई मात्र नभई संसारलाई डोर्‍यायो, त्यसैले युगका नेता भए उनी।

मण्डेलाका साथमा लेखक।
जीवनभर रंगभेद–नश्लवाद विरुद्ध र सामाजिक सद्भाव स्थापनाका लागि संघर्ष गरेका मण्डेलाको विश्वमा दीर्घकालीन प्रभाव रहन्छ। समुदाय, वर्ण, रंग, क्षेत्रबाट माथि उठेर सबै मानिसले समान अवसर र सम्मान पाउनुपर्छ भन्ने उनको सन्देशले विश्वमै परिवर्तन ल्याएको छ। मण्डेला यति ठूला नेता थिए, तर २०४७ सालमा जेनेभामा आयोजित एउटा सभामा मैले भेट्दा उनी अत्यन्तै विनम्र थिए। उनी सबैप्रति जहिल्यै यस्तै विनम्र रहे।

महात्मा गान्धीबाट औधी प्रभावित थिए मण्डेला। गान्धी नभएको भए मण्डेला हुन्थे वा हुन्नथे, त्यस्तै मण्डेला नभएको भए बाराक ओबामा जन्मन्थे कि जन्मन्नथे, भन्न गाह्रो छ। यस्ता सत्पुरुषहरुको प्रभाव युगौं युगसम्म रहन्छ र उनीहरुको प्रत्यक्ष–परोक्ष प्रभावबाटै महान नेताहरुको उदय भइरहेको हुन्छ। जुन शासक र सत्ताले आफूलाई २७ वर्षसम्म कठोर काराबासमा राख्यो, उसका प्रति मण्डेलामा कुनै वैरभाव थिएन। उनले संसारलाई क्षमादान, धैर्य र मेलमिलापबाटै सबै समस्याको समाधान हुन्छ भन्ने सन्देश दिए। अहिंसावादी मण्डेलाले कालाहरुको अधिकार स्थापित गर्दा गोराहरुको अधिकारको उत्तिकै ख्याल गर्दै सामाजिक सद्भावबाटै विकास सम्भव छ भन्ने प्रमाणित गरे।

“सबै मानिसले समान अवसर पाउने र आपसी सद्भाव राखेर एकैसाथ बस्ने लोकतान्त्रिक समाजलाई मैले आदर्श मानेको छु र त्यस्तो आदर्शका लागि आवश्यक परे मर्न तयार छु”, भनेर उनले बन्दी अवस्थामै दिएको वक्तव्यले पाँच दशकपछि पनि विश्व समाजलाई तरंगित बनाइरहेको छ। उनले मानिसलाई मानिसको व्यवहार गर्न सिकाए। सामाजिक सद्भाव, पारस्परिक सम्मान र सद्भाव कायम राखेर अधिकार प्राप्तिको दिशामा अघि बढ्न सकिन्छ भन्नेमा मण्डेलाको अटुट विश्वास थियो। कुनै वर्ग वा समुदायको व्यक्तिले शोषण–विभेद गर्‍यो भन्दैमा सम्पूर्ण समुदायलाई नै दोषी देख्ने चलन विरुद्ध उनले विभेद गर्नेसँगै हातेमालो गरेर अधिकार स्थापित गरे। परिणाम, दक्षिण अफ्रिकामा सामाजिक सद्भावसँगै विकासले गति लियो।

मण्डेलाको नेतृत्व क्षमता र अतिकम राजनीतिक महत्वाकांक्षाबाट हामीले धेरै सिक्न सक्छौं। २७ वर्षको जेलजीवनपछि चार वर्ष राष्ट्रपतिको कार्यभार सम्हालेका मण्डेलाले दक्षिण अफ्रिकालाई नयाँ युगमा प्रवेश गराए। मण्डेला नेतृत्वको सरकारले रंगभेद, सामाजिक असमानता र गरीबी हटाउन उल्लेख्य कार्य गर्‍यो। अश्वेतहरुको राज्य बनाउने प्रस्ताव विरुद्ध उभिएका उनले दक्षिण अफ्रिकालाई संघीयता सहितको बलियो बहुजातीय, बहुसांस्कृतिक राष्ट्र बनाए, जुन संसारको लागि गतिलो सन्देश र प्रेरणा बन्यो।

उपल्लो स्तरको नेतृत्व र अन्तर्राष्ट्रिय प्रभाव हुँदाहुँदै पनि मण्डेलाले कुनै व्यक्तिगत महत्वाकांक्षा राखेनन्। राष्ट्रपतिको एक कार्यकाल पूरा गरेपछि फेरि सत्तामा आउन चाहेनन्, न त कुनै हस्तक्षेप नै गरे। सन्तको जस्तो चरित्र थियो मण्डेलाको।

नीलाम्बर आचायर्

comments powered by Disqus

रमझम