३० मंसिर २०७० | 15 December 2013

अब ईएसपीएनमा

Share:
  

नेपाली महिला आरोही टोलीको फिचर बनाउन खेलकुदको अन्तर्राष्ट्रिय टीभी च्यानल र पत्रिका ईएसपीएन को एउटा टीम २१ मंसीरमा नेपाल आइपुगेको छ। एलिसा रोग्निकले नेतृत्व गरेको यो टीमले डेढ साता लगाएर सात जना नेपाली महिला आरोहण दलको अन्तर्वार्ता, तालीम, सहयोगकर्ताहरूको भनाइ र हिमाली दृश्यहरू समेटेर फिचर बनाउनेछ।

सातै महादेशका अग्ला शिखर टेक्ने अभियानमा रहेका नेपाली महिला टोलीले हालसम्म एशिया, अष्ट्रेलिया, यूरोप र अफ्रिकामा सफलता पाइसकेको छ। केही सेकेण्डको विज्ञापनको लागि करोडौं खर्चनुपर्ने चुनौतीमा रहेको नेपालको पर्यटन क्षेत्रलाई नेपाली महिलाहरूको सफलतामाथि विख्यात अन्तर्राष्ट्रिय संचारमाध्यमले बनाउने 'फिचर' बाट ठूलो सहयोग मिल्ने अनुमान गरिएको छ। शैली बस्नेत, माया गुरुङ, निम्डोमा शेर्पा, पूजन आचार्य, आशाकुमारी सिंह, पेमा दिकी शेर्पा र चुनु श्रेष्ठ सम्मिलित टोली सात महादेशका अग्ला हिमाल आरोहणमा निस्केको विश्वकै पहिलो र सफल महिला टोली हो। यो टोली २०१४ मा अर्जेन्टिनाको अकन्कागुवा, एन्टार्टिकाको भिन्सन म्यासिफ र उत्तर अमेरिकाको डेनाली/मकिन्ले हिमाल आरोहण गर्ने तयारीमा छ। यिनै हिमाल महिला टोलीको अन्तिम तीन लक्ष्य हो।

नेपाली महिला आरोहण टोलीको यात्रा, साहस र सफलतामाथि संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले वृत्तचित्र बनाउँदैछ। आर्थिक सहयोग जुटाउने प्रमुख चुनौती भए पनि देश–विदेशबाट आएको प्रोत्साहनले अभियान सफल पार्ने ऊर्जा मिलेको टोली संयोजक शैली बस्नेत बताउँछिन्।

comments powered by Disqus

रमझम