७ पुस २०७० | 22 December 2013

वेलैमा सोचौं

Share:
  

हिमाल (२३ मंसीर) मा प्रकाशित 'पोखराको जोखिम काठमाडौंको चिन्ता' समाचार पढेपछि हामी कतिसम्म जोखिममा बसेका रहेछौं भन्ने प्रष्ट हुन्छ। बढ्दो शहरीकरण, जमीन अतिक्रमण र विज्ञको सल्लाहविना निर्मित संरचनाले अन्ततः नोक्सान पुर्‍याउने भनेको हामीलाई नै हो। बाढी मात्र होइन भूकम्प र भूक्षयको जोखिममा रहेका हाम्रा गाउँ शहरलाई विपत्तिबाट बचाउन वेलैमा सचेत हुनुपर्दछ। अन्यथा पछुताउनुको विकल्प हुँदैन।

विनोद पोखरेल, इमेलबाट

यसैगरी विनाश हुँदै जाने हो भने प्राकृतिक विविधताले भरिएको नेपाल भनेर खुशी मान्नुपर्ने केही बाँकी रहँदैन। प्राकृतिक विपत्ति निम्त्याउने मानव क्रियाकलाप नरोक्ने हो भने भोलि सुरक्षित ठाउँ बाँकी नरहन सक्छ।

गोपाल पौडेल, इमेलबाट

हिंसा अन्त्य

हिमाल (२३ मंसीर) मा प्रकाशित 'पतिले छाडेपछि...' समाचार सामग्री पठनीय लाग्यो। सुनौलो भविष्यको सपना बुन्दै वैवाहिक जीवनमा प्रवेश गरेका निर्दोष महिला बच्चा सहित अलपत्र परेको घटना नेपाली समाजमा धेरै छन्। यस्ता घटनाले महिलामाथि थप पीडा थोपरेको छ। महिला हिंसा विरुद्वको अभियान जारी रहेका वेला महिलामाथि हुने यस्ता अन्यायको अन्त्य गर्न ढिलाइ गर्नुहुँदैन। शहरमा हुने सभा, सेमिनारले मात्र दूरदराजमा महिला हिंसाको घटना कम गर्न सक्दैनन् भन्नेतर्फ सरोकारवालाहरूको ध्यान जाओस्।

निरज घिमिरे, इमेलबाट

दण्डहीनताको अन्त्य

हिमाल (२३ मंसीर) मा प्रकाशित 'राजनीतिक आड' समाचारले दण्डहीनताको अन्त्य हुनेमा केही आशा जगाइदिएको छ। राजनीतिक आडमा गरिने हत्या, हिंसा र लूटपाटका कारण जनता त्रसित भइरहेको समयमा हत्याराहरू पक्राउ पर्दा जनताले केही राहत महसूस गरेका छन्। राजनीतिक आडमा हुने यस्ता कुकृत्यको अन्त्य गर्ने सुरक्षाकर्मीको प्रयास प्रशंसनीय छ। दण्डहीनताको अन्त्य हुने हो भने हत्यारा धेरै दिन उम्कन पाउँदैनन्।

सुलोचना चौधरी, इमेलबाट

सरोकारवालाको ध्यान जाओस्

हिमाल (१६ मंसीर) मा प्रकाशित 'सफलताले ल्याएको चुनौती' समाचार पढेपछि खेल क्षेत्रमा आशाका किरण देखिएको छ। सीमित स्रोत–साधनमा नेपाली क्रिकेटले पाएको सफलता पक्कै कदरयोग्य छ। नेपालको लागि विश्वकपको ढोका खुल्नु भनेकोे चानचुने कुरा होइन। परिश्रम र इमान्दारिताका साथ नेपाली खेलाडीले ल्याएको सफलतालाई नयाँ उचाइ दिन सरोकारवाला निकायले कुनै कसर बाँकी राख्नुहुँदैन। यसका साथै नेपाली खेलजगतमा राजनीतिको प्रभाव घुस्न नदिनेतर्फ सबै सचेत हुनुपर्छ।

ममता पोखरेल, इमेलबाट

वास्तविकता यस्तो हो

हिमाल (१६ मंसीर) मा प्रकाशित सौर्य ऊर्जा सम्बन्धी 'तीन अर्बको चलखेल' समाचारप्रति वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ध्यानाकर्षण भएको छ। केन्द्रले सौर्य ऊर्जा प्रविधिमा प्रयोग हुने उपकरण तथा पार्टपुर्जाको गुणस्तर निर्धारण गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान अन्तर्गत नवीकरणीय ऊर्जा परीक्षण केन्द्रको संलग्नतामा प्राविधिक मापदण्ड नेपाल फोटोभोल्टानिक क्वालिटी एसुरेन्स तयार गरी परीक्षण गर्दै आएको छ। सौर्य ऊर्जा प्रणालीको लागि उपलब्ध अनुदान रकम अन्तर्राष्ट्रिय बजारलाई ध्यानमा राखी घटाउँदै लगिएको छ। अनुदान रकम लक्षित वर्गसमक्ष छिटो र प्रभावकारी रूपमा परिचालन गर्न विगतका कमी–कमजोरी सुधार गर्ने गरी नवीकरणीय ऊर्जा अनुदान परिचालन कार्यविधि २०६८ परिमार्जन गरिएको छ।

सौर्य ऊर्जाका प्रणालीलाई अनुदान कार्यक्रम अन्तर्गत जडान तथा बिक्री–वितरण गर्न पूर्व सौर्य ऊर्जा सम्बन्धी काम गर्ने कम्पनीहरूले रेट्सबाट नयाँ उपकरणको लागि प्रोडक्ट इन्फर्मेशन टेष्ट तथा बिक्री–वितरणका लागि आयात गरिएका उपकरणहरूको लागि र्‍याण्डम स्याम्प्लिङ टेष्ट गर्नुपर्ने प्रावधान छ। भीआरएलए ब्याट्री र फ्लडेड ब्याट्री फरक विधिबाट बन्ने भए पनि तिनको काम ऊर्जा संचय गर्नु हो। साधारणतया ट्युबलर प्लेट ब्याट्रीको लाइफ साइकल, फ्ल्याट प्लेट ब्याट्रीको तुलनामा बढी खप्छ। जीईएल फ्ल्याट प्लेट ब्याट्रीको लागि २० प्रतिशत डीओडीमा ३००० साइकल र तीन वर्षको वारेण्टी नभए कम्पनी जिम्मेवार हुन्छ।
गुणस्तर सम्बन्धी मापदण्ड २००९ परिमार्जन गर्दा १० देखि ११.५ एम्पियर आवरको जीईएल ट्युबलर प्लेट ब्याट्री पर्याप्त मात्रामा स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा समेत उपलब्ध नभएकोले उपभोक्ताले १० वाट पीक क्षमताको साना घरेलु सौर्य विद्युत् प्रणाली खरीद गर्दा छनोट गर्ने तथा एकाधिकार कायम नहोस् भनेर डिसेम्बर २०१३ सम्म जीईएल फ्ल्याट प्लेट ब्याट्री प्रयोग गर्न पाउने प्रावधान राखिएको हो। यसपछि जीईएल ट्युबलर प्लेट ब्याट्रीहरू मात्र नेपाल सरकारको अनुदान कार्यक्रमको लागि मान्य हुनेछन्। अन्तर्राष्ट्रिय दातृ निकायहरूको समेत प्राथमिकतामा रहेको नेपालका गरीब जनताले प्रयोग गर्न सक्ने प्रणाली भएकोले केन्द्रले १० वाट पीकको साना घरेलु सौर्य विद्युत् प्रणालीको लागि गुणस्तरमा विशेष ध्यान दिएको छ।

सूर्यकुमार सापकोटा, नि. कार्यकारी निर्देशक

रेट्सको टेष्टिङ प्रक्रियाको हकमा सौर्य विद्युत्मा प्रयोग हुने उपकरण पीभी मोडुल, ब्याट्री, डब्लूएलईडी ल्याम्प, चार्ज कन्ट्रोलर आदि उत्पादन तथा आयातकर्ता कम्पनीले आफूले उत्पादन गरेका वा आयात गरेका उपकरणहरूको विस्तृत विवरण सहित नियमानुसार गुणस्तर परीक्षण प्रोडक्ट इन्ट्रडक्सन टेष्ट तथा र्‍याण्डम स्याम्प्लिङ टेष्ट गर्न रेट्समा निवेदन दिएपछि रेट्सका कर्मचारी सम्बन्धित कम्पनीको भण्डारण गृहमा पुगेर स्वीकृत स्याम्प्लिङ प्लान अनुसार नमूना संकलन गरी प्राविधिक मापदण्ड अनुसार गुणस्तर परीक्षण गरिन्छ।
भीआरएलए/फ्लडेड ब्याट्री फरक प्रविधिबाट बन्ने भए पनि दुवै ब्याट्रीको काम ऊर्जा संचय गर्नु हो। गुणस्तर सम्बन्धी मापदण्ड २०१३ मा जेल फ्ल्याट प्लेट ब्याट्रीको लागि २० प्रतिशत डीओडीमा ३००० साइकल र तीन वर्षको वारेण्टीको प्रावधान भएकोले तोकिए अनुसार नभएमा कम्पनी जिम्मेवार रहन्छ। रेट्सको टेष्ट रिपोर्टमै नो लाइफ साइकल टेष्ट फ्यासिलिटी तथा टेष्ट सर्टिफिकेटमा पनि कम्प्लेन्स/ननकम्प्लेन्स इन टेष्टेड प्यारामिटर्स भनी उल्लेख हुन्छ। त्यसैले लाइफ साइकल ३ सम्बन्धमा सबै ब्याट्री उत्पादक कम्पनीले आफ्नो लेटरहेडमा आफूले उत्पादन गरेको ब्याट्रीले पीईपीक्यूए २०१३ मा उल्लेख टेक्निकल रिक्वायरमेन्ट पूरा गर्दछ भनी लिखित प्रतिबद्धता पेश गरी तीन वर्षको वारेण्टी दिनुपर्ने हुन्छ। टेक्निकल रिक्वायरमेन्ट नपुगेको पाइएमा आयातकर्ता वा स्थानीय उत्पादक कम्पनीले सट्टा दिनुपर्नेछ।

गुणस्तर सम्बन्धी मापदण्ड २०१३ बनाउँदा १० देखि ११.५ एम्पियर आवरको जेल ट्युबलर प्लेट ब्याट्रीहरू पर्याप्त मात्रामा स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा समेत उपलब्ध छैन। त्यसैले उपभोक्ताले १० वाट पीक क्षमताको साना घरेलु सौर्य विद्युत् प्रणाली खरीद गर्दा छनोट गर्ने मौका पाउन् र कसैको एकाधिकार नहोस् भनेर तत्कालका लागि अनुदान कार्यक्रम अन्तर्गत डिसेम्बर २०१३ सम्मका लागि मात्र जेल फ्ल्याट प्लेट ब्याट्री प्रयोग गर्न पाउने प्रावधान छ। अनुदान नदिइएकोमा भने बिक्री गर्ने कम्पनीले परीक्षण गर्न ल्याएमा डिसेम्बर २०१३ पछि पनि रेट्सले परीक्षण गर्नुपर्ने प्रावधान गुणस्तर सम्बन्धी मापदण्डमा उल्लेख छ।

प्रेमबहादुर बस्नेत, महाप्रबन्धक

नवीकरणीय ऊर्जा परीक्षण केन्द्र

comments powered by Disqus

रमझम