७ पुस २०७० | 22 December 2013

सहयोगको परम्परा

Share:
  
- दीपक अर्याल
समाजमा एकअर्कालाई चिनेर दुःख–सुखमा जोडिने सदियौं पुरानो नेपाली सामुदायिक परम्परामा कुनै घुन–पुतली लागेको छैन।

नेपाली समाजमा सामाजिक परिवर्तनको उद्देश्य बोकेर वा दुःख पाएका व्यक्तिहरूका हितका लागि सहयोग माग्ने र त्यसमा धनसम्पत्ति हुनेले सघाउने दान–पुण्यको धार्मिक परम्परा कैयौं वर्ष पुरानो रहेको प्रमाणहरू भेटिन्छन्। धार्मिक कामका लागि सहयोग दिन नेपाली मन अलि बढी नै उदार भए पनि अन्य सामाजिक कामका लागि सहयोग गर्ने परम्परा पनि निकै पुरानो छ, नेपालमा।

श्रीचन्द्रकामधेनु चर्खा प्रचारक महागुठीले २००५ सालमा धनी–महानुभावहरूप्रति 'ग्रहणको भिक्षा पाउँ' भन्ने 'महागुठी' को नम्र–प्रार्थना प्रकाशित नै गरेर सहयोगको निम्ति अनुरोध गरेको थियो। 'धनी–दाताहरूले आफ्नो इच्छा बमोजिम सत्पात्रमा भिक्षा दिने र त्यसलाई स्वदेशका दीन–दुःखी–गरीबहरूलाई सहायता गरी देशोन्नति गराउने' उद्देश्यका साथ मागिएको त्यस्तो सहयोग धार्मिक मान्यता अनुसार दान गर्न उपयुक्त हुने दिन रोजेर दिइन्थ्यो, लिइन्थ्यो।

२०११ सालमा निस्किएको 'परोपकार अनाथालयको केटाहरूलाई काम गर्ने मौका दिनुहोस्' शीर्षकको पर्चामा जनतालाई अपील गर्दै भनिएको छ– 'देशका तमाम दाजुभाइ दिदीबहिनीहरूका निमित्त आफूले रोजेको रोटीको व्यवस्था नभएसम्म देशको उन्नति भयो भन्न सकिंदैन। उनीहरूको दुःख निवारण गर्नु र उनीहरूको जीवन सुधारमा लाग्नु नै देशको उन्नति गर्नु हो। तपाईंहरूलाई विदितै छ अनाथालय पनि उही एक मात्र देशसेवाको ध्येय लिएर स्थापना भएको छ। यहाँ हाम्रा देशका अनाथ टुहुराको भविष्य उन्नतिको लागि हर किसिमको प्रबन्ध गर्ने प्रबन्ध हुँदैछ।'

पर्चाले अनाथालयमा 'सडकमा भांग्रा ओढेर सुतेका, मागी मागी हिंडेका तथा कुसङ्गतमा परेका टुहुरा ५० बच्चाहरू रहेको' जानकारी दिन्छ। तिनीहरूलाई पढाइ तथा तालीमको व्यवस्था गर्दै ६ वर्षसम्म सुव्यवस्थित रूपले पालेर सरकार तथा दानी सज्जनहरूसँग सम्बन्ध राखी उच्च शिक्षा दिलाउने उद्देश्य अनाथालयले राखेको देखिन्छ। यो पवित्र उद्देश्य प्राप्तिका लागि सबैसँग सीधै सहयोग वा चन्दा भने मागिएको छैन। बरु दुई वर्षदेखि अनाथालयमा बस्दै आएका बालबालिकाले बनाएका विभिन्न हस्तकलाका सामग्री बेचेर आवश्यक रकमको जोहो गर्ने दीर्घकालीन उद्देश्य राखेको देखिन्छ।

पर्चामा अगाडि भनिएको छ– 'देशवासीहरूसँग अपील गरिन्छ कि त्यस्ता बालकहरूले तयार गरेका मालहरू यथाशक्य खरीद गरेर व्यवहार गर्नुहोस् र अनाथ बालकहरूको उत्साह बढाउनुहोस् साथै भविष्यमा उनीहरूलाई सनाथ गर्ने मौका दिनुहोस्।'

यसरी बालकहरूले तयार गरेका मालहरू बिक्री गरेर जति फाइदा हुन्छ, त्यति फाइदा सो सामग्री तयार गर्ने बालककै नाममा जम्मा गरिने र तालीम सकेर अनाथालय छोडी जाने वेलामा जीवनोपार्जनको निमित्त पूँजीस्वरूप एकमुष्ट रकम प्रदान गर्ने योजना पनि अनाथालयले राखेको थियो। समाजका असहाय र दुःखी जनताको सेवा गर्ने उद्देश्यका साथ खोलिएका यस्ता संस्थाहरूको कामलाई आज पनि कतिपय संस्थाहरू निरन्तरता दिइरहेका छन्। कतिपयले व्यक्तिगत रूपमा समाजसेवाका अनेकौं कामहरू गरिरहेका देखिन्छन्।

स्थानीयस्तरमा हुने सामाजिक सेवाका काम र आपत–विपतमा सघाउने परम्परा बाहेक १९९० को महाभूकम्पपछिको राष्ट्रिय विपतमा 'भूकम्प पीडितोद्धारक संस्था' र 'भूकम्प पीडितोद्धारक फण्ड' खडा गरी जनतासँग पैसा सहयोग मागेर जीउधन गुमाएकाहरूको परिवारलाई सहयोग गरेको घटना यस्तै सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण थियो। अहिले पनि नेपालीहरूमा बाढीपहिरो, आगलागी वा अन्य प्राकृतिक तथा मानवीय दुर्घटनामा परेकाहरूको सहयोगका लागि उदारतापूर्वक मुठी फुकाउने परम्परा रहिआएको छ। दिलशोभा श्रेष्ठ, विष्णु गौतम लगायतका थुप्रै सामाजिक कार्यकर्ताहरूले यस्ता सहयोगी हातहरूलाई एकत्रित पार्दै त्यसबाट जुटेको सहयोगको प्रभावकारी प्रयोग गरिरहेका छन्।

धार्मिक–सामाजिक परम्परागत मान्यतामा आधारित यस्ता 'सहयोगी मन' हरूको निरन्तरताले नै नेपाली समाजमा एकअर्काप्रति आदर, सम्मान र माया घट्न दिएको छैन।

(अध्ययन सामग्री स्रोतः मदन पुरस्कार पुस्तकालय।)

comments powered by Disqus

रमझम