७ पुस २०७० | 22 December 2013

आफ्नै बुतामा क्लिनिक

Share:
  
स्वास्थ्य सेवाको पहुँच नभएको लमजुङको एउटा गाउँका बासिन्दाले आफ्नै स्रोत र पहलमा सामुदायिक क्लिनिक खोलेका छन्।

युवराज श्रेष्ठ
सामुदायिक स्वास्थ्य क्लिनिकमा बिरामी बच्चाको उपचार गर्दै स्वास्थ्यकर्मी।
पश्चिम लमजुङको विकट गाविस भोंजे―८ घाम्राङका बासिन्दाले आफ्नै पहलमा सामुदायिक स्वास्थ्य क्लिनिक चलाउन थालेका छन्। एकीकृत ग्रामीण स्वास्थ्य सेवाकेन्द्र नामको संस्थाबाट उनीहरूले 'करुणा सामुदायिक स्वास्थ्य क्लिनिक' स्थापना गरेका हुन्। क्लिनिक स्थापना हुनुअघि यहाँका बासिन्दाले सामान्य चोटपटकदेखि बिरामीको उपचार गर्न तीन घण्टा टाढा हिंडेर जानुपर्थो।

आफ्नै गाउँमा स्वास्थ्य क्लिनिक खुलेकाले स्वास्थ्य सेवा सहज भएको समाजसेवी मखन गुरुङ बताउँछन्। “बिरामीलाई उपचार गर्न लैजाँदा बाटोमै अप्रिय घटना हुन्थ्यो, महिलालाई सुत्केरी परीक्षण गराउन पनि समस्या थियो, अब त्यो समस्या हटेको छ”, गुरुङले भने।

सदरमुकाम बेसीशहरबाट करीब आठघण्टा पैदल हिंडेपछि कास्कीसँग सीमा जोडिएको भोंजेको घाम्राङ पुगिन्छ। “घाँस काट्दा हात काटेको औषधिदेखि ज्वरो आउँदा खाने सिटामोल किन्ने ठाउँ थिएन” एकीकृत ग्रामीण स्वास्थ्य सेवाकेन्द्रका अध्यक्ष राजु गुरुङ भन्छन्, “त्यही भएर गाउँले मिलेर क्लिनिक खोलेका हौं।” क्लिनिकमा सीएमए उत्तीर्ण गरेकी सोममाया गुरुङलाई स्वास्थ्यकर्मी राखिएको छ। क्लिनिकमा आउन नसक्ने बिरामीलाई घरमै गएर उपचार गरिने गुरुङ बताउँछिन्। क्लिनिकबाट भोंजे गाविसको घाम्राङ, मपिङ, तामु, घिचे, चरागाउँका पाँचसय बढी घरधुरी लाभान्वित भएका छन्।

संस्थाका अध्यक्ष गुरुङका अनुसार, निजीस्तरमा क्लिनिक चलाउँदा महँगो पर्ने भएकाले सामुदायिक रूपमा चलाइएको हो। क्लिनिक चलाउन स्थानीयवासी, विदेशमा रहेका गाउँले र गाउँ तथा जिल्लाका संस्थाहरूले सहयोग गरेका छन्। स्थानीय क्रोम्रो आमा समूहले रु.१ लाख, गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य भुवन गुरुङले रु.१ लाख, जिल्ला विकास समितिले रु.७० हजार, गाविसले रु.३४ हजार सहयोग गरेको संस्थाका अध्यक्ष गुरुङले बताए। क्लिनिकका लागि ६ कोठे भवन बनाउन ग्रामीण पूर्वाधार विकास परियोजना (ड्रिलिप) ले रु.१७ लाख सहयोग गर्‍यो भने स्थानीयवासीले रु.५ लाख बराबर श्रमदान गरे।

ठूला अस्पतालहरूबाट टेलिफोन मार्फत स्वास्थ्य सम्बन्धी सल्लाह लिन सकिने 'टेलिमेडिसिन' सेवा पनि क्लिनिकमा थप्ने तयारी भइरहेको छ। महावीर पुनले म्याग्दीमा सञ्चालन गरेको प्रविधिमा आधारित टेलिमेडिसिन चलाउन खोजिएको एकीकृत ग्रामीण स्वास्थ्य सेवा केन्द्र लमजुङका संस्थापक गमप्रसाद गुरुङले बताए। “जिल्ला अस्पताल, पोखरा र काठमाडौंका केही अस्पतालमा छलफल चलाइराखेका छौं”, उनले भने।

युवराज श्रेष्ठ, लमजुङ


खुकुरीको उम्दा व्यापार

गोपाल गडतौला
झापाको काँकडभिट्टामा रहेको 'कौशिला खुकुरी पसल' मा रु.६०० पर्ने कर्द जत्रा साना खुकुरीदेखि रु.१५ हजार पर्ने सवा तीन फीट लामा खुकुरीसम्म पाइन्छन्। २८ वर्षअघि रु.२०० मा ७ खुकुरी राखेर शुरू भएको लीला घिमिरेको यो पसलको अहिले चालु पूँजी नै रु.२० लाख पुगेको छ। दैनिक रु.२० हजारसम्मको खुकुरी बिक्री भइरहेको बताउँदै लीला भन्छिन्, “भारतको दार्जीलिङ, सिक्किम, कालिम्पोङ, डुबर्स, आसाम, अरुणाचलका नेपालीहरूले सिरुपाते, भोजपुरे, धनकुटे, कोथिमोडा खुकुरी लैजाने गरेका छन्।”

खुकुरी व्यापारको आम्दानीबाट लीलाको परिवारले घर घडेरी जोडिसकेको छ। दार्जीलिङे युवकले विभिन्न आकारका ३६ वटा खुकुरी भर्खरै लगेको बताउँदै लीलाले भनिन्, “भारतका नेपालीमा कसैलाई चिनो दिनुपर्दा खुकुरी दिने चलन रहेकाले खुकुरी बिक्रीमा समस्या छैन।”

धनकुटा, ताप्लेजुङ, भोजपुर लगायत पूर्वी पहाडी जिल्लाका विश्वकर्मा जातका कारीगरले अर्डर अनुसार खुकुरी बनाएर लीलाको पसलमा ल्याउने गर्छन्।

गोपाल गडतौला, झापा


सम्पन्न घाँसी

तनहूँ गुणादीका वामदेव खनाल (६०) घाँस बेचेर सम्पन्न भए भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ।

उनले घाँस खेती थाल्दा पनि घाँस बेचेर पैसा कमाइन्छ भनेर पत्याउने कमै थिए। व्यावसायिक पशुपालन शुरू भएपछि उन्नत जातका घाँसको माग बढेर तिनका बिरुवा बिक्री गर्ने व्यवसायले गति लिन थालेको उनको भनाइ छ। “पशु कार्यालयले घाँस र घाँसका बिरुवा किन्न थालेपछि व्यवसाय राम्रो भएको हो”, खनाल भन्छन्।

अहिले उनीकहाँ देशका विभिन्न भागबाट किसान तथा सरकारी/गैरसरकारी संघसंस्था घाँसको बिरुवा लिन आउँछन्। गत वर्ष घाँसका बेर्ना बेचेर रु.१५ लाख लिएका उनले यो वर्षको गर्मीमा पनि रु.१० लाखका बिरुवा बेचे। शुरूमा १७ रोपनी बारीमा घाँसका बिरुवा रोपेका उनले अहिले ७० रोपनी जमीन भाडामा लिएर खेती गरेका छन्। फाइदा राम्रो हुन थालेपछि उनले ५ रोपनी धानखेतमा पनि घाँसकै बेर्ना रोपेका छन्। “धान रोपेको भए दुई महीना छाक टार्न मुश्किल पर्थ्यो, घाँसबाट रु.४ लाख आम्दानी हुन्छ”, खनाल भन्छन्।

पवन पौडेल

घाँस खेती गर्दा धान खेती जस्तो दुःख नहुने उनको भनाइ छ। गोडमेल र सिंचाइ कम भए पुग्ने र एकपटक रोपेपछि मल र केही चिस्यान दिने हो भने उत्पादन गतिलो हुने उनी बताउँछन्।

२०५६ देखि खनाललाई घाँसखेती गर्न सघाएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख बाबुराम जमरकट्टेल खनाललाई मुलुककै नमूना कृषक भन्न रुचाउँछन्। “उहाँको फर्ममा जस्तो घाँस खेती नेपालमा कसैको छैन”, कट्टेल भन्छन्, “अवलोकन भ्रमण र वेर्ना खरीद गर्न उनीकहाँ घुईंचो लाग्ने कारण त्यही हो।” खनालले उत्पादन गरेका घाँसका बिरुवा झापादेखि डडेलधुरासम्म पुगेको पनि उनी बताउँछन्।

कृषि मन्त्रालयबाट उत्कृष्ट कृषक पुरस्कार पाएका उनको व्यवसाय सफल हुन थालेपछि वैदेशिक रोजगारीमा मलेशिया गएका उनका छोरा विनोद फर्केका छन्। “घाँसबाट कमाइ होला भन्ने नलागेर मलेशिया गएको थिएँ” विनोद भन्छन्, “त्यहाँभन्दा यहीं धेरै कमाइ हुने देखेर फर्किएँ।” विनोदका तीन दाजुभाइ पनि घाँस खेती गर्न बुवालाई सघाइरहेका छन्।

पवन पौडेल, तनहूँ

comments powered by Disqus

रमझम