स्वार्थ र सनकको युद्ध

Share:
  
- दिनकर नेपाल
गोर्खा राज्यले लिएको विस्तारवादी नीतिलाई पृथ्वीनारायण शाहको शेषपछि पनि कायम राख्नु नेपाल दरबारको भूल थियो। व्यक्तिगत स्वार्थ, पारिवारिक साख र सत्ता–षड्यन्त्रका कारण कायम भएको त्यही नीतिका कारण पश्चिममा सतलज र पूर्वमा टिष्टा पुगेको नेपालको प्रशासनिक नियन्त्रण मेची–महाकालीमा सीमित हुन पुग्यो।

मलाउ किल्ला ।
नेपाल–कम्पनी युद्ध त्यसवेलाको भूराजनीतिक परिस्थितिको परिणाम थियो। हिमालय क्षेत्रको गढवालदेखि सिक्किमको १५०० माइल लामो तराई सिमानामा काठमाडौं दरबार र 'इष्ट इन्डिया कम्पनी' को स्वार्थ जुध्न पुग्दा युद्ध अवश्यंभावी भएको थियो। सन् १६०० मा ब्रिटिश महारानी एलिजाबेथ प्रथमको स्वीकृतिबाट जारी रोयल चार्टरले जन्माएको एउटा व्यापारिक कम्पनी 'इष्ट इन्डिया' ले स्थापनाको दुई शताब्दीमा विश्वको ढाँचा नै फेरिदियो। मुगल शासकहरूको निगाहमा सियो बनेर भारत पसेको यो कम्पनी एशियाको व्यापारमा मात्रै सीमित रहेन, यहाँको रहनसहन, संस्कृति, भूराजनीतिमा गहिरो प्रभाव पार्दै सैन्य आक्रमणदेखि क्षेत्र विस्तारसम्म गर्न पुग्यो। पहिला राजाराजौटाहरूका मद्दतबाट भारतमा फ्रान्सेली प्रभाव निर्मूल पार्न सफल भएको कम्पनी पछि तिनै राजारजौटाहरूका अन्तरविरोधहरूमा 'डिभाइड एन्ड रुल' नीति अनुसार खेल्दै शासक बन्न पुग्यो।

उत्तरको अवरोध र किन्लक अभियान

कलकत्ताको फोर्ट विलियममा मुख्यालय रहेको 'कम्पनी बहादुर' अनेक घटनाक्रमहरूका बीच भारतमा एउटा ठूलो विस्तारवादी सैन्य शक्तिको रूपमा जम्यो। मुगल शासन दिल्लीमा सीमित हुन पुगेको त्यो वेला दक्षिणको हिन्दू मराठा, पश्चिमको पन्जाब र उत्तरमा नेपाल (गोर्खा) राज्य कम्पनीका लागि चुनौती बन्दै थिए। मुगलको अधोगति र हिन्दू शक्तिहरूको उदय कम्पनीको हितमा थिएन। मराठा, पन्जाब र गोर्खालाई हिन्दू धर्मले जोड्दा कम्पनीको स्वार्थ धरापमा पर्न सक्थ्यो। नभन्दै, सन् १७४४ मा पृथ्वीनारायण शाहले नुवाकोट जितेर काठमाडौं उपत्यकालाई भोटसँगको व्यापारमा जोड्ने उत्तर–पश्चिम नाका कब्जामा लिएपछि कम्पनीको चिन्ता एक्कासी बढ्न थाल्यो।

पृथ्वीनारायणले सन् १७६२ मा मकवानपुर र १७६३ मा धुलिखेल कब्जा गरेर भोटसँगको व्यापारमा कर लगाएपछि कम्पनी सोझै बाझिने बहानाको खोजीमा लाग्यो। गोर्खाली महत्वाकांक्षाबाट त्रसित काठमाडौंका राजा जयप्रकाश मल्लले मद्दतका लागि कलकत्तालाई गुहार्दा कम्पनीले त्यो मौका पनि पायो। गोर्खाले व्यापारका नाकाहरूमा लगाएको चर्को कर र उत्तरबाट आइलाग्न सक्ने अप्ठेराहरू पन्छाउँदै फाइदा लिने ताकमा रहेको कम्पनी मौका छोप्न अग्रसर भइहाल्यो। कप्तान जर्ज किन्लक लगभग २४०० फौज लिएर पटनाबाट जनकपुरहुँदै काठमाडौं रवाना भए। यसरी, १७६७ अगस्त (भदौ) मा सिन्धुलीमा गोर्खा राज्य र इष्ट इन्डिया कम्पनीको पहिलो लडाईं भयो।

किन्लकको फौज निकै तयारीका साथ पटनाबाट सिन्धुलीतर्फ लागेको थियो। त्यसअघि बंगालका नवाव सिराज उद दौलालाई हराएका किन्लकलाई कम्पनीले ठूलो आशाका साथ नेपाल अभियानमा पठाएको थियो। तर, तराईको घना जंगल, घटी नसकेका नदीनाला र पहाडी रणभूमिले किन्लकलाई साथ दिएन। रसदपानीको व्यवस्था भरपर्दो नहुँदा भोको फौजको मनोबल गिर्‍यो।

मुख्तियार भीमसेन थापा, गभर्नर जनरल हेस्टिङ्स।

पथप्रदर्शकहरूले बाटो बिराए। जंगली जनावरले तर्साएका सैनिकहरू विद्रोह गरेर फर्किन थाले। यता, पहाडी क्षेत्रको युद्धमा अभ्यस्त गोर्खालीहरूले जमीन र जागीरको लोभमा स्थानीय जमिन्दारहरूलाई पनि आफ्नो बनाएका थिए। परिणाम, सिन्धुलीगढी र हरिहरपुरमा नराम्रो हार पछि किन्लक पछाडि फर्किन बाध्य भए।

बाबुराम आचार्यद्वारा लिखित 'श्री ५ बडामहाराजाधिराज' मा परेको एउटा नेपाली अभिलेखमा पौवा गढी लडाईंको वर्णन यस्तो छ– 'उस्तै तरहका रातमा ललित्पट्टनका घेरी छोडी अंग्रेजका फौज आया हाडी साहेब कप्तान किन्लाष थिया लडाईं जोरिदा षेरी षोचमा पर्दा बर्छ्यौंका गोला उठी अंग्रेजका फौजलाई चिल्दा हाडी साहेबका शिरमा तरबारको चोट लाग्दा लडाईं बिग्रन जाँदा फिरंगीले फिरो फिरो भनी हटी भागी गै गया गोर्षा महाराजको प्रतापले ठूलो फत्य भयो।' यसरी गोर्खाली सेनासँगको पहिलो भेटघाट कम्पनीका लागि ऐतिहासिक भूल हुनपुग्यो।

यो हारबाट गलेका कप्तान किन्लक त्यसको तीन वर्षभन्दा बढी बाँचेनन्। कम्पनीको प्रतिष्ठा जोगाउने चुनौतीमा रहेका गभर्नर जनरल हेस्टिङ्सले यो असफलताको लागि किन्लकलाई जिम्मेवार ठहराउँदै तत्काल अर्को आक्रमणको तयारी गर्ने आवेगपूर्ण आदेश दिए, तर किन्लकबाट रणभूमिको सविस्तार विवरण पाएपछि उनी रोकिए। त्यसपछि, मैसूर र मराठासँग भिड्न परेकोले कम्पनीले उत्तरतिर ध्यान दिन पाएन। इतिहासकार योगेशराजका अनुसार, यी दुई राज्यमाथिको विजयले अंग्रेजहरूको नेपाल युद्धको घाउमा मलम त लगायो, तर चोट बिर्साउन सकेन। किन्लक अभियान तुहिएको ४७ वर्षपछि सन् १८१४ मा दोस्रो पटक कम्पनीको फौज पहाडी भूभाग, नदीनाला, बाटा–घाटा र खोंचहरूमा पहिलाको भूल नदोहोर्‍याउने तयारीका साथ चुरे उक्लियो।

गोर्खाली सेनाले सन् १७६७ मा कप्तान किन्लकलाई हराएको उच्च मनोबलका साथ १७६८ को इन्द्रजात्राको दिन जयप्रकाश मल्लको कान्तिपुर राज्य कब्जामा लिएको थियो। पृथ्वीनारायणले त्यसपछि एक–एक गर्दै उपत्यकाका तीनै वटा राज्य आफ्नो बनाएर राजधानी पनि नुवाकोटबाट काठमाडौं सारे। त्यसको सात वर्षमा पृथ्वीनारायण शाहको मृत्यु भएपछि पनि गोर्खाली राज्य विस्तार जारी रह्यो। उन्नाइसौं शताब्दीको शुरूमा भीमसेन थापा मुख्तियार हुँदा 'नेपाल' पूर्वमा भूटान र पश्चिममा राजा रंजित सिंहको पन्जाब राज्यसम्म छोएको विराट साम्राज्य थियो।

बडाकाजी अमरसिंह थापा, काजी रणजोर थापा, सरदार भक्ति थापा।

१८१४ को तयारी र युद्ध

तराईका केही गाउँहरूमा कुत उठाउने उग्र विवाद सन् १८१४–१६ को नेपाल–कम्पनी युद्धको तत्कालीन कारण जस्तो देखिए पनि भोटसँगको व्यापारमा बाधा पुर्‍याउँदै आएकोले काठमाडौंलाई पाठ सिकाउने पुरानै योजनामा थियो, कम्पनी। नेपालको बाटो भएर तिब्बत र चीनसँगको व्यापार स्वीकृतिको लागि कम्पनीले गरेको अनुरोधलाई पनि लामो समयदेखि बेवास्ता गरेको थियो, नेपाल दरबारले। त्यसबाहेक, पूर्वमा टिष्टादेखि पश्चिममा सतलजसम्मको नेपाल नियन्त्रित उर्वर भूभागको आम्दानीले पनि कम्पनीको आँखा पोलेकै थियो।

उता नेपोलियनले रूससँग मिलेर भारतमा आक्रमण गर्ने सम्भावना रहेकोले अफगानिस्तानमा सैन्य स्थिति बलियो बनाउने बाध्यतामा परेका अंग्रेजहरूले दक्षिण एशियामा नेपाल र अरू राज्यहरूले फ्रान्ससँग सहकार्य गरे भने आफ्नो एकछत्र नरहने कुरा पनि बुझ्ेका थिए। यसरी नेपाल दरबार र कम्पनीबीच अविश्वास गहिरिएको त्यही वेला १८१३ मा फ्रान्सिस एडवार्ड रडन हेस्टिङ्स (अर्ल अफ मोइरा) गभर्नर जनरल बनेर कलकत्ता आइपुगेका मोइरा बढी नै आक्रामक देखिए। उनी अमेरिकामा भएको ब्रिटिश हारको घाउमा भारतमा विजयको मलम लगाउन चाहन्थे। त्यसवेला काठमाडौं दरबारभित्रको चलखेल पनि वैरी उत्तेजित पार्ने खालकै थियो। जस्तो, भीमसेन थापाले आन्तरिक विपक्षीहरूको ध्यान अन्यत्र मोड्न बुटवल विवाद सिर्जना गरेर पारिवारिक फाइदाका लागि आफ्ना बाबुलाई पाल्पाका बडाहाकीम बनाएका थिए। बुटवल क्षेत्रको कर पाल्पाका बडाहाकीमले उठाउँथे।

यद्यपि, करीब ५० वर्षदेखि ठूलो शंकाका साथ एकअर्काको उत्थान नियालिरहेका दुई शक्ति अचानक भिड्न पुगेका भने पक्कै थिएनन्। यति लामो भूराजनीतिक घर्षणपछि १ नोभेम्बर १८१४ मा 'इष्ट इन्डिया कम्पनी' का तर्फबाट सचिव जे. एडमले हस्ताक्षर गरेको युद्धको घोषणापत्रमा 'नेपाल सरकारद्वारा बुटवल, स्युराज र रौतहटमा अतिक्रमण भएको, कम्पनीप्रति अनादर गरेको र आपसी सद्भावको बेवास्ता भएको हुँदा युद्ध निर्विकल्प भएको' उल्लेख छ। उता नालापानी किल्लामा त्यसअघि नै २४ अक्टोबरको बिहान कर्णेल मावीले हमला गरेका थिए। त्यसवेला गोर्खाली फौज काठमाडौंदेखि पश्चिमी अभियानसम्म छरिएका थिए। अंग्रेजहरूले महाकाली वारि र पारि दुवै क्षेत्रमा दुई–दुई डिभिजन सेनाले एकै पटक आक्रमण गरेर हराउने योजना बनाएका थिए। त्यसमध्ये मेजर जनरल जोन वूड नेतृत्वको डिभिजनले कालीपूर्व बनारसबाट गोरखपुर, स्युराज, बुटवलहुँदै पाल्पामाथि चढाइँ गर्ने र मेजर जनरल ब्यानेट मार्ले नेतृत्वको अर्को डिभिजनले दानापुरबाट मकवानपुरहुँदै काठमाडौं हान्ने योजना थियो। काली पश्चिममा मेजर जनरल जिलेस्पीको डिभिजनले सहारनपुरबाट देहरादुन हुँदै श्रीनगर (गढवाल) र मेजर जनरल अक्टरलोनी बिलासपुर (हाल पन्जाब) बाट रामगढ, सुबातु, जैथक हुँदै श्रीनगर पुग्ने योजना बन्यो।

सरदार बलभद्र कुँवर, उजिरसिंह थापा।

नेपाली फौजतर्फ काजी बख्तावरसिंह थापा विजयपुर, कर्णेल रणवीर सिंह थापा मकवानपुर, कर्णेल उजिरसिंह थापा पाल्पा, काजी अमरसिंह थापा र सरदार बलभद्र कुँवर महाकालीपारिको नयाँ विजित क्षेत्रमा तैनाथ थिए। सबै मिलाएर नेपाली शक्ति करीब १० हजार र अंग्रेज सेना २५ हजारको हाराहारीमा थिए। अंग्रेजी सेना तोप लगायतका ठूला हातहतियार र त्यही अनुसारको सैनिक संख्याको बलबाट युद्ध जित्नेमा विश्वस्त थियो भने गोर्खाली जनरलहरूले विगतका अनुभवहरूबाट सिक्दै सकभर मैदानी इलाकामा लडाईं नगरी शत्रुलाई पहाडी क्षेत्रमा आउन बाध्य पारेर छापामार हमला गर्ने योजनामा थिए।

पहिलो चरणको लडाईं

महाकाली पश्चिमको मुख्य लडाईं नालापानी, जैथक र देवथलमा भए भने पूर्वतर्फ पाल्पाको जितगढ र हरिहरपुरमा। पहिलो चरणको लडाईंमा अंग्रेजहरूले नालापानीमा सरदार बलभद्रसिंह कुँवर नेतृत्वको गोर्खाली फौजको अद्भुत साहसको सामना गर्नुपर्‍यो। देहरादुनको उत्तर–पूर्वमा अवस्थित पहाडको टुप्पोमा रहेको खलंगा गढी (नालापानी किल्ला) मा बलभद्र कुँवरका साथ लगभग ६०० नेपाली थिए। तीमध्ये आधाजति महिला र केटाकेटी थिए।

अक्टोबर २४ को बिहान चार बजे कर्णेल मावीको आर्टिलेरी सहितको पैदल सेनाले नालापानीमा धावा बोल्यो, तर किल्लाको ठीक अगाडि रहेको नालाका कारण तोपको निशाना प्रभावकारी हुन सकेन। त्यसमाथि गोर्खाली सेनाको चर्को प्रत्याक्रमणले त्यो आक्रमणलाई पूरै असफल बनाइदियो। कर्णेल मावीको यो असफलताले गोर्खाली फौजको मनोबल बढायो भने अंग्रेज फौजका हिन्दुस्तानी सिपाहीहरूमा गोर्खालीहरूको त्रास। नालापानीको धक्काले अंग्रेजी जनरलहरूको क्रिसमस (२५ डिसेम्बर) लगत्तै काठमाडौंतिर सोझिने योजनालाई नै धरापमा पार्‍यो। त्यसपछि, मेजर जनरल जिलेस्पीले थप फौजका साथ नालापानीमा हमलाको नेतृत्व लिए। ३१ अक्टोबरमा नालापानीमाथि दोस्रो आक्रमण भयो, तर जिलेस्पी मारिएपछि अंग्रेज फौजमा भागदौड मच्चियो। यसरी नालापानीमा अंग्रेजहरूले दोस्रो पटक पनि पराजय बेहोर्नु पर्‍यो। अब नालापानी किल्ला कम्पनीको इज्जतको विषय बन्न पुग्यो। यो जिम्मेवारी कर्णेल मावीले पाए। तर, जति गरे पनि सीधा लडाईंमा सरदार बलभद्र कुँवरलाई हराउन नसकिने स्थिति देखेका अंग्रेजहरू छलकपटमा लागे। रसदपानी र कुनै खाले सहयोग भित्र नपुग्ने गरी करीब एक महीना किल्लामा नाकाबन्दी गरियो। थप तोप–गोला र फौज उपलब्ध भएपछि २६ नोभेम्बरमा नालापानी किल्लामा तेस्रो आक्रमण भयो। यसपटक सोझ्ै आक्रमण नगरी पहिले तोपले किल्लाको पर्खाल फोरेर सेनाले धावा बोल्ने रणनीति अपनाइयो।

अन्ततः ३० नोभेम्बरमा बलभद्र कुँवर तिर्खाले आकुलव्याकुल भएका ८५ जना साथी लिएर किल्लाबाट बाहिरिए। यसरी ठूलो क्षति बेहोर्दै कम्पनीले नालापानी हात पार्‍यो। तर, त्यहाँ लम्बिएको लडाईं र गोर्खाली सेनाको रणकौशलले उनीहरूलाई आफ्नो युद्ध–योजनामा पुनर्विचार गर्न बाध्य पार्‍यो। अंग्रेज अफिसरहरूमा नालापानी युद्धको यति गहिरो प्रभाव पर्‍यो कि उनीहरू गोर्खालीहरूलाई आफ्नो सेनामा सामेल गरे ब्रिटिश साम्राज्य विस्तारमा ठूलो मद्दत हुने निर्क्योलमा पुगे। त्यसरी ब्रिटिश–भारतमा गोर्खा रेजिमेन्टको जन्म भयो।

नालापानीको अनुभवबाट सिक्दै पहाडी किल्लामा सोझै आक्रमण नगरी घेरा हालेर आत्मसमर्पण गराउने रणनीति लिएका अंग्रेजहरूले त्यसपछि देवथलमा भक्ति थापा (बाघबूढा) को वीरताबाट स्तब्ध हुन पुगे। मलाउमा अमरसिंह थापा र जैथकमा रणजोर सिंह थापा करीब २५ हजार दुस्मनको घेराबन्दीमा थिए। २७ डिसेम्बर १८१४ को आक्रमण असफल भएपछि जनरल मार्टिन्डेल करीब चार महीनासम्म जैथक किल्ला घेरेर बसे, तर सफल भएनन्। साढे सात सय गोर्खाली फौज रहेको मलाउ र जैथकमा कम्पनीले शुरूमै ठूला तोपगोला सहित ४५०० सैनिक पठाएको थियो। दोस्रो चरणको युद्धको शुरूमै अमरसिंह थापासँग रोचक रणनीतिक प्रतिस्पर्धा गरेका अंग्रेज कमान्डर अक्टरलोनीले काठमाडौंबाट हजार माइल पश्चिमको मलाउ र जैथकको बाहिरी सम्पर्क विच्छेद गरिदिए।

मेजर जनरल डेविड अक्टरलोनी, मेजर जनरल रोलो जिलेस्पी।

सीधा आक्रमणबाट अमरसिंहलाई गलाउन नसकिने बुझेका अक्टरलोनीले युद्धका विभिन्न हत्कण्डा अपनाउने क्रममा मलाउको किल्लामा नाकाबन्दी गर्ने उद्देश्यले १५ अप्रिल १८१५ मा देउथलमा ठूलो शिविर खडा गरे। १६ अप्रिलमा बाघबूढाले देउथलमा आक्रमण गरे, तर तोपगोलाको सामु उनको केही लागेन। ७३ वर्षे बाघबूढाको असाधारण बहादुरीबाट हतप्रभ भएका अक्टरलोनीले उनको शव सैनिक सम्मानका साथ गोर्खालीलाई जिम्मा दिए। यसबीचमा हस्ती दल शाहको नेतृत्वमा करीब ६०० गोर्खाली अल्मोडा पुग्यो। तर, काठमाडौंसँगको मुख्य संचार लाइनको रूपमा रहेको उत्तरी अल्मोडामा हस्ती दलको गतिविधिलाई कर्णेल निकोल्सको थप दुईहजार फौजले घेरामा पार्‍यो। यसरी एक जना सर्वोत्तम कमाण्डर मारिएको खबर कम्पनीको चढाइँ थेग्न नसकिरहेका गोर्खालीहरूका लागि शत्रुको गोलाभन्दा कम भएन। अंग्रेज आक्रमण र घेराबन्दी कस्सिंदै जाँदा निरुपाय भएका कतिपय गोर्खालीहरू बाहिरिन थाले। उनीहरूबाट शुरू भएको गोर्खा रेजिमेन्ट आज पनि ब्रिटिश र भारतीय सेनामा कायम छ।

यसरी पहिलो चरणको लडाईं १५ मे १८१५ मा अक्टरलोनी र अमरसिंह थापाबीचको सम्झ्ौताबाट टुंगियो। दुई जनरलबीच मलाउबाट अमरसिंह र जैथकबाट रणजोर सिंह आफ्ना साथी, हातहतियार, सम्पत्ति सहित स–सम्मान निस्कने र गोर्खाली सेनाले जमुना नदी पश्चिमका सबै किल्ला खाली गर्नुपर्ने सम्झ्ौता भएको थियो। महाकालीपूर्वमा भने बुटवलको जितगढमा अंग्रेज फौजले हार बेहोर्‍यो। पाल्पातिर बढेका जोन वूड र काठमाडौं कब्जा गर्न हिंडेका मार्ले दुवै लामो सैन्य अभियान, मलेरिया र बढ्दो मनसुनको खतराले गर्दा पहाड उक्लन सकेनन्। यसरी मुख्य उद्देश्यमा असफल भए पनि गोर्खालीहरूको सैन्य विस्तार अवरुद्ध पार्न, गढवाल–कुमाउबाट गोर्खाली सेनालाई विस्थापित गर्न तथा शिख, मराठा र तिब्बतसँग हुनसक्ने नेपालको गठबन्धन रोक्न सफल भयो, कम्पनी।

निर्णायक युद्ध

पहाडमा मनसुनसँगै उर्लने नदीनाला र तराईमा मलेरियाका कारण आफ्नो सैन्य अभियान रोक्न बाध्य कम्पनी नेपालसँगको द्वन्द्वलाई आफ्नो दूरगामी हित हुने सन्धिमा पुर्‍याएर टुंग्याउन चाहन्थ्यो। उसले महाकाली पश्चिमको सफलताका आधारमा नेपाल दरबारसँग तराईको उर्वर भूभागमाथिको दाबी छाड्नुपर्ने र काठमाडौंमा आफ्नो रेसिडेन्ट (आवासीय प्रतिनिधि) राख्ने प्रस्ताव राख्यो। चार पुस्ताको परिश्रमबाट आर्जित महाकालीपारिको साम्राज्य गुम्दा चिन्तित नेपाल दरबार भने महाकालीपूर्वका मोर्चामा हारेको कम्पनीले नेपालमाथि पूर्ण विजेताले जस्तो गरी शर्तहरू राखेको ठान्यो। गोर्खाली सेनाले पनि पहिलो चरणको युद्धमा अंग्रेजका चारमध्ये तीन डिभिजनलाई हराएकोले आफूलाई पराजित शक्ति मान्दैनथ्यो। त्यसमाथि, अंग्रेजले नेपोलियनसँग लड्नुपर्ने बाध्यता बुझेका भीमसेन थापाले आफूलाई मद्दत गर्न चिनियाँ फौज ल्हासातिर कुच गरेको थाहा पाएका थिए। त्यही कारण, २ डिसेम्बर १८१५ मा काठमाडौंको तर्फबाट गजराज मिश्रले हस्ताक्षर गरेको सुगौली सन्धिलाई नेपाल दरबारले मान्यता दिएन।

यसरी सुगौली सन्धिले आधिकारिकता पाउने छाँट नदेखेपछि कम्पनीले अमरसिंह थापालाई आत्मसमर्पण गराउन सफल डेविड अक्टरलोनीलाई काठमाडौं आक्रमणको जिम्मा दियो। उनी २० हजार फौज लिएर २५ जनवरी १८१६ मा काठमाडौंतिर सोझिए। करीब ७ हजार फौजको एउटा डफ्फा पश्चिमको राप्ती नदी पछ्याउँदै उत्तर लाग्यो भने ५ हजार फौज गोरखपुरबाट बुटवल हुँदै पाल्पातिर लाग्यो। बाटो फेर्दै अगाडि बढेका अक्टरलोनी हेटौंडा आइपुग्दा गोर्खाली फौज आश्चर्यचकित भए। दुस्मन यति नजिक आइपुगेको खबरले काठमाडौंमा भीमसेन थापा पनि आत्तिए। मकवानपुरमा अक्टरलोनीले धावा बोलेपछि ४ मार्च १८१६ मा सुगौली सन्धिले औपचारिकता पायो। मद्दतको लागि बोलाएको चिनियाँ फौज त्यो वेला बल्ल ल्हासा आइपुग्दै थियो।

यसरी विभिन्न भूराजनीतिक परिस्थिति, पश्चिममा आफ्नै अन्तर्गतका गढवाली–कुमाउनी सैनिकहरूको घात र अंग्रेजको छल–चतुर्‍याइँले गर्दा गोर्खा साम्राज्य ठूलो भूभाग गुमाएर मेची–महाकालीमा सीमित हुन पुग्यो। सुगौली सन्धिको आठौं बुँदा अनुसार इडवार्ड गार्डिनर ब्रिटिश रेसिडेन्ट बनेर काठमाडौं भित्रिए। गार्डिनर पछि ब्रायन हज्सन र हज्सन पछि १६ जना ब्रिटिश रेजिडेन्ट काठमाडौंमा बसे। ती रेजिडेन्टहरू 'डिप्लोम्याटिक फङ्क्सन' को नाममा काठमाडौं दरबारमा ठूलो दखलअन्दाजी गर्थे। सन् १९२३ पछि मात्र काठमाडौंमा ब्रिटिश राजदूत रहन थाले।

comments powered by Disqus

रमझम