४ मंसीरको संविधानसभा निर्वाचनपछि मतपेटिका ओसारपसार र मतगणनामा 'देशी–विदेशी षड्यन्त्र र संस्थागत धाँधली गरेर हराइएको' भनेर नेतृत्वले भनिरहेको वेला एमाओवादी कञ्चनपुरले निकालेको यो निचोड उल्लेखनीय लाग्छ। तर, प्रचारमा नआए पनि एमाओवादीका अधिकांश राज्य समिति र जिल्ला समितिले निकालेका निष्कर्ष कञ्चनपुरका भन्दा भिन्न देखिंदैनन्। एमाओवादीका धेरैजसो केन्द्रीय नेताहरूले पनि अनौपचारिक कुराकानीमा आफ्नो कमजोरीले नै निर्वाचन हारिएको स्वीकार्ने गरेका छन्।
तर, औपचारिक भनाइलाई पुष्टि गर्न एमाओवादीले निर्वाचनमा भएको धाँधलीको आन्तरिक छानबिन गर्न 'उच्चस्तरीय तथ्य संकलन कार्यदल' समेत गठन गर्यो। वर्षमान पुनको संयोजकत्वमा बनेको कार्यदलले १९ मंसीरमा प्रतिवेदन सार्वजनिक गर्दै 'निर्वाचन आयोग र सरकारले नीतिगत, संस्थागत र संरचनागत रूपमा धाँधली गरेको' निचोड निकाल्यो। त्यो निचोडको आधारमा एमाओवादीले 'धाँधलीको छानबिन गर्न उच्चस्तरीय आयोग गठन नभएसम्म समानुपातिकतर्फको सूची निर्वाचन आयोगमा नपठाउने' अडान सार्वजनिक गर्यो।
मतगणनाको प्रारम्भिक परिणाम अनुकूल नआएपछि मध्यरातमा आफ्ना प्रतिनिधि फिर्ता बोलाएर भोलिपल्ट बिहानै पत्रकार सम्मेलन गरी 'संविधानसभामा सहभागी नहुने' बताएको एमाओवादीले गठन गरेको कार्यदलले पनि धाँधलीका तथ्य फेला पार्न सकेन, 'अदृश्य' र 'सुषुप्त' धाँधली भएको दाबी बाहेक। यसबीचमै उसले प्रत्यक्षतर्फ जितेका २६ निर्वाचन क्षेत्रमा विजय जुलूस पनि गरेको छ।
विश्लेषक श्याम श्रेष्ठको विचारमा पहिलो दल बन्ने महत्वाकांक्षा पूरा नभएकाले एमाओवादी नेतृत्वले यस्तो दोहोरो व्यवहार देखाएको हो। तल्लो (जिल्ला र राज्य समिति) तहका कार्यकर्ताले वास्तविकता थाहा पाएकाले पराजयमा आफ्नो कमजोरी कारण रहेको स्वीकारे पनि माथिल्ला नेताहरू वास्तविकतामा नभएर माथिमाथि कुदेको उनको बुझाइ छ। श्रेष्ठ भन्छन्, “एमाओवादीमा अहिले विरोधाभास देखिनुको कारण त्यही हो।”
तर, दाहाल सहितको नेतृत्व भने पराजयको वास्तविक कारणलाई स्वीकार्ने पक्षमा अझ्ै पुगेको देखिंदैन। केही ठाउँका घटनालाई आधार बनाएर मुलुकैभरी धाँधली भएको निष्कर्षमा एमाओवादी पुग्नु यथार्थलाई नस्वीकार्नु बाहेक केही नभएको विश्लेषक श्रेष्ठको विचार छ। श्रेष्ठ भन्छन्, “स्वच्छ निर्वाचन हुँदा पनि एमाओवादीको सीट कम नै आउँथ्यो।”
पराजय बेहोर्नुमा आन्तरिक कारणको पनि महत्वपूर्ण भूमिका रहेको मान्ने एमाओवादी नेता नारायणकाजी श्रेष्ठ चाहिं केन्द्रीय समितिको आगामी बैठकले निर्वाचनमा बेहोरेको पराजयको गम्भीर समीक्षा गर्ने बताउँछन्। “निर्वाचनमा धाँधली भएको हाम्रो गम्भीर आशंका रहेकोले छानबिनबाट निवारण गरिनुपर्छ र सत्यतथ्य जनतामा ल्याउनुपर्छ” श्रेष्ठ भन्छन्, “तर, पराजय दिलाउने आन्तरिक कारणबारे पनि गम्भीर छलफल र समीक्षा गरेर ठोस निष्कर्ष निकाल्नुपर्छ।”
बेखबर थिएन एमाओवादी
निर्वाचनमा भएको पराजय छोप्न एमाओवादी नेतृत्वले अनेक प्रयत्न गरे पनि पार्टी पंक्ति पार्टीको सम्भावित पराजयप्रति बेखबर थिएन। नारायणकाजी श्रेष्ठ निर्वाचनभन्दा एक साता पहिले नै मकवानपुर–२ मा विजयी नहुने निष्कर्षमा पुगिसकेका थिए भने बाबुराम भट्टराईलाई पनि रुपन्देही–४ मा नजितिने केही दिनअघि थाहा भइसकेको थियो। एमाओवादी अध्यक्ष दाहालसँग निकट एक नेताका अनुसार, दाहाललाई पनि कीर्तिपुरमा हार्ने सम्भावना रहेको दुई दिनअघि महसूस भएको थियो।
अहिले जितेको कतिपय क्षेत्रमा हारिने पनि एमाओवादीको मूल्यांकन थियो। रामेछाप–२ का एक एमाओवादी कार्यकर्ताका अनुसार त्यहाँ नजितिने आन्तरिक मूल्यांकन भए पनि केही मतदान केन्द्रमा बुथ क्याप्चर गर्न सकेकाले जित सम्भव भएको थियो। “बुथ क्याप्चर गर्न नसकेको भए जित्ने सम्भावना थिएन” उनको भनाइ छ।
समग्र पार्टी पंक्तिलाई पराजयको वास्तविक कारण थाहा भएकाले नै एमाओवादी नेताहरूले दिनैपिच्छे कुरा फेरेको र फरक फरक व्यवहार गरेको देखिन्छ। उसले एकातिर छानबिन आयोग नबनेसम्म समानुपातिकतर्फ सभासद्को नाम नपठाउने बताएको छ भने अर्कातिर प्रत्यक्षमा जितेका उम्मेदवारहरूलाई विजयी जुलूस निकाल्न निर्देशन पनि दिएको छ। यसैगरी, नेतृत्वले संविधानसभा अदालतलाई अस्वीकार गरिरहेको वेला केन्द्रीय सदस्य एवम् काठमाडौं–४ का उम्मेदवार नन्दकिशोर पुन, दोलखा–१ का उम्मेदवार विशाल खड्का र सोलुखुम्बुका उम्मेदवार गोम्बु शेर्पा 'कर्जाङ' ले संविधानसभा अदालतमा उजुरी हालेका छन्।
यो अवस्थाले एमाओवादी पंक्ति कुनै निर्णय गर्न नसक्ने किंकर्तव्यविमूढ अवस्थामा पुगेको देखाउँछ। जसबारे, एमाओवादीका एक नेता भन्छन्, “कार्यकर्तालाई वास्तविकता थाहा भए पनि मूल नेतृत्वले यथार्थ स्वीकार्न नचाहेर ढाँटिरहेको छ, जसले समग्र पार्टीलाई हानि पुर्याउँछ।”
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मणि थापाको विचारमा एमाओवादी नेतृत्व अकर्मण्यको अवस्थामा पुग्नु भनेको परिस्थिति र समाजलाई हेर्ने उसको दृष्टिकोण कमजोर हुनु प्रमुख कारण हो। थापा भन्छन्, “परिस्थिति र समाजलाई भन्दा आफूलाई केन्द्रमा राखेर हेर्ने स्वभाव भएकाले उनीहरूले भित्र एउटा र बाहिर अर्को कुरा गर्नुपरेको हो, छलछाम नै राजनीति हो भन्ने स्कूलिङबाट आएकाले पनि उनीहरू अहिले यसरी अघि बढेका हुन्।”
तर, पराजयको वास्तविक कारण आत्मसात् नगरी बनावटी कुरा मात्र गर्न एमाओवादी नेतृत्वलाई सधैं सम्भव हुने देखिंदैन। दाहाल लगायत नेताहरूसँग कतिपय नेताहरूले सार्वजनिक रूपमा मत बझाउनु र वास्तविकता स्वीकार्न थाल्नुले पनि यसको संकेत देखिएको छ।
आत्मघाती बाटो
आफैंलाई ढाँट्दै दुनियाँलाई ढाँट्न खोज्ने एमाओवादी नेतृत्वको प्रवृत्तिले कार्यकर्ता र मतदातामा राम्रो सन्देश नगएको केही एमाओवादी नेता/कार्यकर्ता समेत स्वीकार्छन्। नेतृत्वको यो व्यवहार आफूलाई जोगाउने उद्देश्यमा केन्द्रित रहेको उनीहरूको बुझाइ बन्न थालेको देखिंदैछ। जसले एमाओवादी नेतृत्वलाई पनि हानि पुर्याउने देखिन्छ।
एउटा हारमा अर्को जितको सम्भावना रहेको मान्ने विश्लेषक श्रेष्ठ हारको वास्तविक कारण स्वीकार्न सक्दा मात्र जित प्राप्त हुने बताउँछन्। अहिले वास्तविकता खोजेर त्यही अनुसार नीति नबनाउने हो भने एमाओवादीले अर्को पटक योभन्दा पनि ठूलो झ्ट्का व्यहोर्न सक्ने देख्छन्, उनी। “आवेशमा जेसुकै भने पनि यो हारलाई उसले कसरी हेर्छ भन्नेमै एमाओवादीको भविष्य निर्भर छ” श्रेष्ठ भन्छन्, “आफूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुको साटो उसले यसो नभए संविधानसभामा जान्न भन्ने केटाकेटी पारा गर्न छाड्नुपर्छ, किनभने ८० सीट भनेको सानो होइन र एउटै चुनाव सबथोक पनि होइन।” अब संविधानसभाबाट संविधान जारी गर्न नसक्दा अहिलेसम्मका सबै उपलब्धि गुम्ने भएकाले एमाओवादीले हताशा, प्रतिक्रिया र आवेश देखाउन बन्द गरेर जनादेश मान्दै संविधान निर्माणमा केन्द्रित हुनुपर्ने उनको सुझाव छ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव थापा पनि गम्भीर आत्मसमीक्षा गर्दै जनतामा पुग्न सकेन भने एमाओवादीले अझै ठूलो विघटन व्यहोर्नुपर्ने खतरा देख्छन्। सत्य महसूस गरेर अघि बढ्दा मात्र राष्ट्रिय राजनीतिमा एमाओवादीको सम्भावना कायम रहेको ठान्ने थापा उसले निर्वाचनमा व्यहोरेको हारलाई राजनीतिक हारका रूपमा स्वीकार गर्नुपर्ने बताउँछन्। “छलछाम र रणनीति रूपमा नभएर साँच्चिकै हार हो भन्ने आत्मसात गर्नुपर्यो” थापा भन्छन्, “त्यसो नगर्दा एमाओवादीलाई अविश्वसनीय धरातलमा लैजान्छ र उसको विघटनलाई अरू बढाउँछ।”
एमाओवादी नेता नारायणकाजी श्रेष्ठ चाहिं संविधानसभाको अहिलेको संरचनाबाट हिजोका उपलब्धि संस्थागत हुँदैनन् कि भन्ने आशंका रहे पनि दलहरूबीचको छलफलबाट त्यस्तो आशंका मेटाएर अघि बढ्ने प्रयास भइरहेको बताउँछन्। “हामी उच्चस्तरीय राजनीतिक समितिबाट निकास खोज्न लागिरहेका छौं” श्रेष्ठ भन्छन्, “त्यहाँबाट निकास निकाल्न र यो संविधानसभालाई फलदायी बनाउन सकिन्छ भन्ने विश्वास छ।”