७ पुस २०७० | 22 December 2013

किल्ला बनेन सुदूरपश्चिम

Share:
  
- अर्जुनबहादुर अयडी
अरू निर्वाचनमा एउटै दललाई सम्पूर्ण सीट दिने सुदूरपश्चिमले यो पटक भने दलहरूलाई सीट बाँडेर आफू फेरिएको देखायो।

हिमाल आर्काइभ
२०३७ सम्म मुलुककै सबैभन्दा ठूलो विकास क्षेत्र रहेको सुदूरपश्चिम (सुप) पंचायती व्यवस्थाले हेरफेर गरेपछि सानो बनेको हो। कर्णाली नदी पारि छुट्टै क्षेत्र बनाइएपछि सुपको केन्द्रसँग सम्बन्ध पनि खुम्चिन पुग्यो। २०५० मा कर्णाली नदीमा पुल बनेपछि मात्र राज्यका अन्य भाग र केन्द्रसँग सुपको सम्बन्ध बढ्न थालेको हो। तर अझै पनि सुपले केन्द्रीय सत्ताबाट सौतेलो व्यवहार महसूस गरिरहेको छ। त्यसबाहेक सुपले क्षेत्रीय शासक, सामन्त एवं घरानियाँको प्रताडना पनि भोग्नु परिरहेको छ।

यिनै कारण सुपको पहिचान भौगोलिक विकटतासँगै गरीबी, अशिक्षा, पिछडापन, रोग, भोक र शोक बनेको छ। अहिले पनि यहाँका अधिकांश जनता गरीबीमा बाँचिरहेका छन्। अधिकांश पुरुषहरू आफ्ना लालाबाला गाउँ घरका झुपडीमा छोडेर भारतीय कालापहाडमा भरिया र शहरमा द्वारे बन्न बाध्य छन्। अशिक्षा एवं कमजोर चेतना भएकोले यहाँका जनतामा चलाखी एवं धूर्त्याइँ कमै भेटिन्छ। व्यक्तिवादी सोचको हावाले पनि यो क्षेत्रलाई त्यति प्रभावित पारेको पाइँदैन। राज्य र राजनीतिका चलाखी नबुझने यहाँका जनताका अपेक्षा पनि ठूला छैनन्। आवतजावतका लागि सडक, बालबालिकाका लागि शिक्षा र बिरामी हुँदा स्वास्थ्य सेवा सुपका जनताका अपेक्षा हुन्। तिनै अपेक्षा पूरा हुने आशामा यहाँका जनताले हरेक राजनीतिक परिवर्तनलाई साथ दिएर आफ्नो कर्तव्य इमान्दारीपूर्वक निर्वाह गरेका छन्।

फरक फैसला

आफूलाई साथ दिने अपेक्षासाथ विगतका निर्वाचनमा सुपका जनताले विभिन्न दललाई पालैपालो एकलौटी मत दिएका थिए। त्यही कारण सुप कहिले कांग्रेस, कहिले एमाले त कहिले माओवादीको किल्ला बन्यो। सुपका जनताले २०४८ देखि २०६४ सम्मका चार वटा निर्वाचनमा कांग्रेसलाई २०४८ र २०५६ मा, एमालेलाई २०५१ मा र माओवादीलाई २०६४ मा बहुमत दिएका थिए। यो पटक भने सुपले पुरानो परम्परा तोड्दै २१ सीटमध्ये कांग्रेस र एमालेलाई ९/९ सीट दियो भने फोरम लोकतान्त्रिकलाई दुई र एमाओवादीलाई एक सीट। यसले सुपका जनताले समय र परिस्थितिलाई चिन्न थालेको देखाउँछ। आफ्नो क्षेत्रको हित र सरोकारमा विगतमा गरेको योगदान र राष्ट्रिय स्तरका राजनीतिक मुद्दाहरूमा दलहरूले लिएको अडानलाई सुपका जनताले मतदान गर्ने आधार बनाएको पछिल्लो निर्वाचनमा देखिएको छ।

यो निर्वाचनमा सुपका जनताले दलभन्दा उम्मेदवारको योग्यता र समर्पणलाई महत्व दिएको पनि देखिएको छ। केन्द्रमा र आफूसँग पहुँच भएका तथा मुद्दाहरूमा पहल गर्ने उम्मेदवारहरूलाई उनीहरूले रोजेको यो निर्वाचनमा देखिएको छ।

अरू क्षेत्रको तुलनामा सुपमा जनसाङ्ख्यिक विविधता कम छ, बाहुन/क्षेत्रीको बाहुल्य भएकाले। जातीय राज्य चाहिंदैन, सुदूरपश्चिम टुक्र्याउन पाइँदैन भन्दै अखण्ड सुदूरपश्चिमको पक्षमा २०६९ (वैशाख―जेठ) मा एक महीनासम्म सुदूरपश्चिम ठप्प हुनुको एउट कारण त्यही हुनुपर्छ। तर पनि सुपमा जातीय र क्षेत्रीय विभेदहरू नभएको भने होइन। बाहुन क्षेत्रीमै पनि शासक र शासित रहेको तथा बाहुन क्षेत्री र गैरबाहुन क्षेत्रीबीच विभेद रहेको पनि देखिन्छ। गाउँहरू र जिल्लाबीच पनि फरक मनोविज्ञान यहाँ छँदैछ। सुपका पहाडमा ठूला दलका ठकुरी उम्मेदवारले पराजय भोग्नु र तराईमा संगठन नभए पनि फोरम (लोकतान्त्रिक) का थारू उम्मेदवारले विजय हासिल गर्नु यिनै कारण हुन सक्छन्। सुपका सम्पूर्ण निर्वाचन क्षेत्रको आधा हिस्सा ओगट्ने कैलाली र कञ्चनपुरमा उम्मेदवारहरूको विजय र पराजयमा उसको पुर्ख्यौली जिल्ला एउटा आधार बनेको देखिएको छ। यसले सुपमा वेग्लै प्रकारको पहिचानको राजनीति प्रभावी रहेको देखाउँछ।

comments powered by Disqus

रमझम