पूर्णकलाको उद्यमशीलता कति प्रशंसनीय छ भने गत वर्ष नेपाल पर्यटन बोर्डले ७५ जिल्लाकै उत्कृष्ट हस्तकलाकर्मी पुरस्कार दिएको उनलाई गएको असोजमा घरेलु तथा साना उद्योग कार्यालय धरानले सफल उद्यमी पुरस्कार प्रदान गर्यो।
पोलियोका कारण भविष्यप्रति चिन्तित पूर्णकलाले भारतको दिल्लीमा तीनवर्षे फेसन डिजाइनिङ कोर्ष गरेर २०४८ सालमा श्री डिप्लोमा ह्याण्डिक्राफ्ट तालीम केन्द्र स्थापना गरेकी थिइन्। दुई वटा सिलाइ मशीनबाट शुरू भएको उनको केन्द्रले अहिलेसम्म करीब ६ हजार जनालाई सिलाइ–कटाइ, फेसन डिजाइनिङ, बुटिक, होजियारी, कलात्मक झ्ोला सिलाइ लगायत ४२ किसिमका तालीम दिइसकेको छ। त्यसमा पनि कमजोर आर्थिक अवस्था र अपाङ्गता भएका महिलाहरूले निःशुल्क तालीम पाएका छन्। “पैसा नै सबथोक होइन”, पूर्णकला भन्छिन्, “अपाङ्ग महिलाले आत्मनिर्भर हुन जाँगर चलाएका रहेछन् भने नाफा–घाटा नहेरी उनीहरूको उत्पादन किनी पनि दिन्छु।”
उनले अहिलेसम्म हातमा आएको नाफा जम्मा गरेकी छैनन्। सीपका लागि शुल्क तिर्न सक्ने प्रशिक्षार्थीहरूबाट लिएको रकम नसक्नेहरूमाथि खर्च गर्ने उनको नीति छ। आफूले सिकाएका महिलाले व्यवसाय गरे भने त्यसलाई पूर्णकलाले ठूलो नाफा मान्ने गरेकी छन्। यस्तो नाफा उनलाई भएको पनि छ। जस्तो, शोभा राईले खाँदबारीमा, विमला लिम्बूले चैनपुरमा, गंगा श्रेष्ठले मादीमा, अन्जना पोख्रेलले इलाममा, लक्ष्मी श्रेष्ठले भोजपुरमा, गंगा विकले उदयपुरमा राम्रो व्यवसाय संचालन गरेका छन्। पूर्णकलाका यस्ता शिष्याहरू धेरै छन्। आफू आत्मनिर्भर भएकी पूर्णकला आय आर्जनमा बढीभन्दा बढी महिलालाई सशक्त बनाउन चाहन्छिन्। “आर्थिक रूपमा आत्मनिर्भर महिलाले कसैसँग दबिएर बस्नुपर्दैन”, उनी भन्छिन्।
सीता मादेम्बा, धरान