बुद्ध जन्मस्थलमा छैटौं शताब्दीअघिको पुरातात्विक अवशेष पाइनुको अर्थ बुद्धसँग नै सम्बन्धित हुनु होइन। लुम्बिनीमा बौद्ध गतिविधिको विकास ई.पू. ४८३ पछि मात्रै भएको हो। गौतम बुद्धले ई.पू. ५२३ मा बुद्धत्व प्राप्त गरेर प्रवचन दिंदै देश–देशावर गरे पनि त्यतिवेलाको बौद्ध समाजमा लुम्बिनीको खासै अर्थ थिएन। लुम्बिनीमा बौद्ध गतिविधि भएको विवरण पाइँदैन। ८० वर्षे जीवनको अन्त्यतिर बुद्धले आफ्नो जन्मस्थान, बुद्धत्वलाभ गरेको ठाउँ, प्रथम धर्मचक्र प्रवर्तन गरेको स्थान र महापरिनिर्वाण प्राप्त गरेको चार ठाउँ बौद्धहरूका लागि 'संवेजनीय' हुने बताएका थिए। यो बुद्धवचनपछि मात्र बौद्धहरूका लागि लुम्बिनी तीर्थस्थल भएको थियो। मौर्य सम्राट अशोकले ई.पू. २४९ तिर बुद्धसँग सम्बन्धित स्थलहरूको भ्रमण लुम्बिनीबाटै शुरू गरेका थिए। त्यतिवेलासम्ममा लुम्बिनी बौद्धहरूको एउटा प्रमुख तीर्थस्थल भइसकेको थियो।
यद्यपि, लुम्बिनी सुन्दर वन मात्रै थिएन। गर्भवती मायादेवी माइत देवदह जाँदा बाटोमा पर्ने लुम्बिनी वनमा आराम गर्न बस्दा प्रसव भएको वर्णन केही बौद्ध ग्रन्थमा पाइन्छ। तर, लुम्बिनी कपिलवस्तु र देवदहको बीचमा नपर्ने भौगोलिक अवस्थितिलाई बिर्सनुहुँदैन। यसको अर्थ, मायादेवीको गन्तव्य लुम्बिनी नै थियो। पाली त्रिपिटक अन्तर्गतका ग्रन्थहरू र संस्कृतको ललितविस्तरमा पनि यस प्रसंगमा देवदह गमनको कुरा पाइँदैन। यसर्थ, मायादेवीले लुम्बिनीलाई किन गन्तव्य बनाइन् त? भन्ने प्रश्न महत्वपूर्ण हुन आउँछ।
त्यसवेलाको समाजमा वैदिक देवदेवी मात्र होइन, लोकविश्वास अनुसार यक्षको पनि पूजा गर्ने प्रचलन थियो। कुलदेवताका रूपमा लिइने यक्षको पूजाले सांसारिक कामना पूर्ति हुने विश्वास तत्कालीन समाजमा थियो। संभवतः शुद्धोदनको पनि यक्ष कुलदेवता थिए। यक्षदेव रूखमा निवास गर्थे। सिद्धार्थको जन्मको वेला मायादेवीले समाएको भनिएको सालवृक्ष पनि यक्ष निवास थियो। पूजास्थलमा काठबाट निर्मित वास्तुकला पाइनु स्वाभाविक हो। यही पूजास्थलमा प्रयुक्त काठको वास्तु संरचनाको अवशेष उत्खनन्का क्रममा पाइएको धेरै संभव छ, जुन बुद्धभन्दा अघिको हुनुपर्छ।