७ पुस २०७० | 22 December 2013

महिलाका मूर्तिकला

Share:
  
- ऋषिराम कट्टेल
पुरुषहरू नै कम रहेको ललितकलाको कठिन विधा मूर्तिकलामा महिला कलाकारको उपस्थिति बढ्दो छ।

एक दशकअघिसम्म नेपाली मूर्तिकलामा महिलाको उपस्थितिलाई अनौठो मानिन्थ्यो। शारीरिक प्रकृतिको काम समेत गर्नुपर्ने मूर्तिकलामा त्यसवेला सुष्मा सिंखडा र प्रमिला गिरी मात्र थिए, जो अहिले यो क्षेत्रमा छैनन्। अहिले भने पुष्पाञ्जली शेरचन, सूर्य बज्राचार्य, मीना कायस्थ, शिलासा राजभण्डारी, संविका वासुकला, मीरा परियार, यमुना श्रेष्ठ, गंगा श्रेष्ठ आदिले मूर्तिकलामा पहिचान बनाएका छन्। चाँदनी बज्राचार्य, मेनुका श्रेष्ठ, कमला श्रेष्ठ लगायत मूर्तिकला शिक्षणमा सक्रिय छन् भने पेन्टिङमा कहलिएका सुनिता राणा, सुष्मा शाक्य, प्रमिला परियार आदि पनि रंग र कुचीसँगै मूर्ति सिर्जनालाई निरन्तरता दिइरहेका छन्।

शिलासा राजभण्डारी।

मूर्तिकलामै त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरिरहेकी टुकुचे मुस्ताङकी पुष्पाञ्जली शेरचन (६२) १२ वर्षदेखि मूर्तिकलामा सक्रिय छन्। वि.सं. २०५६ मा ललितकला क्याम्पसबाट मूर्तिकलामा स्नातक गरेकी उनी त्यसयता ललितकला एकेडेमीको आर्ट स्टुडियो सेभेनमा व्यावसायिक रूपमा मूर्ति बनाउँदै आएकी छन्। झन्डै एक दर्जन सामूहिक कला प्रदर्शनीमा सहभागी भइसकेकी उनी वि.सं. २०५७ मा नेपाल ललितकला संघ (नाफा) ले आयोजना गरेको राष्ट्रव्यापी मूर्तिकला प्रतियोगितामा प्रथम भएकी थिइन्।

पुष्पाञ्जली शेरचन।

मूर्तिकलामा बीएफए भक्तपुर दत्तात्रेयकी मीना कायस्थ (३०) अहिले व्यावसायिक मूर्तिकार बनेकी छन्। तीन वर्षअघि सिद्धार्थ आर्ट ग्यालरीमा एकल प्रदर्शनी लिरिक्स फ्रम द जंकयार्ड गरेकी उनी आधा दर्जन सामूहिक प्रदर्शनीमा सहभागी भइसकेकी छन्।

भक्तपुर ब्यासीकी संविका वासुकला (२९) चार वर्षयता व्यावसायिक मूर्तिकलामा छिन्। मूर्तिकलामा स्नातकोत्तर उनी काठमाडौंको विजेश्वरी उच्च माविमा ललितकला पढाउँछिन् पनि। मूर्तिकलामा स्नातकोत्तर दोस्रो वर्षकी शिलासा राजभण्डारी (२४) पनि मज्जैले जमेकी छन्। एउटा एकल र डेढ दर्जन सामूहिक प्रदर्शनी गरिसकेकी काठमाडौं त्रिपुरेश्वरकी शिलासा छोटो अवधिमा धेरै पुरस्कार पाउने कलाकार पनि हुन्। उनी भन्छिन्, “रहरले रोजेको यो क्षेत्रले नाम र दाम दुवै दिएको छ।”

मीरा परियार

भक्तपुर गट्ठाघरकी मीरा परियार (२६) भने फरक र चुनौतीपूर्ण क्षेत्रमा चिनिने अठोटले आफूलाई मूर्तिकार बनाएको बताउँछिन्। मूर्तिकलामा स्नातकोत्तर गरिरहेकी उनी संसारलाई नेपाली मूर्तिकलाको परिचय सम्झाउने सोचका साथ काम गरिरहेकी छन्। भक्तपुरमै मूर्तिकलाको शिक्षक समेत रहेकी मीरा भन्छिन्, “मूर्तिकलामा नेपालले विश्वमा परिचय बनाउने हैन, पहिलाको नाम सम्झाउनुपर्ने अवस्था छ।”

फराकिलो आकाश

२०३३ सालमा ललितकला क्याम्पसमा बीएफए पढाइ शुरू भएपछि चूलो चौकामा सीमित धेरै महिला पेन्टिङमा आए, तर मूर्तिकलामा त्यस्तो देखिएन। आएकाहरूले पनि बिहेपछि निरन्तरता दिन सकेनन्। अहिले भने परिदृश्य पूरै बदलिएको छ। ललितकला एकेडेमीका उपकुलपति रहेका वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनाली भन्छन्, “खुशीको कुरा, केही वर्षयता नेपाली मूर्तिकलामा महिलाहरूले अब्बल सिर्जना मार्फत पहिचान बनाइरहेका छन्।”

मीना कायस्थ।

सिद्धार्थ आर्ट ग्यालरी संचालक संगीता थापा आफ्नो रोजाइको क्षेत्रमा उन्नति गरेको बताउँछिन्। नभन्दै, महिलाहरू मूर्तिकलामा आएका मात्र हैन, यो क्षेत्रमा जमेर नाम र दाम कमाइरहेका छन्। २०५८ सालमा सिर्जना कलेज अफ फाइन आर्ट र २०६० मा काठमाडौं युनिभर्सिटी सेन्टर फर आर्ट एण्ड डिजाइन खुलेपछि यो क्षेत्रमा महिलाको संख्या बढेको हो।

comments powered by Disqus

रमझम