७ पुस २०७० | 22 December 2013

दीक्षितको डेब्यु

Share:
  
चलचित्र र सिरियलका अभिनेता तथा नाटक निर्देशक रहेका इलम दीक्षित चलचित्र निर्देशनमा आएका छन्।

इलम निर्देशित चलचित्र रेड मनसुन ले काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) २०१३ मा (२९ मंसीरमा) धेरै प्रशंसा बटुल्यो। न्यूयोर्कको सारा लरेन्स कलेजबाट अभिनय र निर्देशनमा स्नातक उनी आफ्नो पहिलो फिचर फिल्म दर्शकको रूचिमा पर्ने विश्वासमा छन्। काठमाडौंका संघर्षशील युवा पात्रहरूको कथा बोकेको रेड मनसुन यसअघि २०१३ को सानजुआन फिल्म फेस्टिभल (पोइटारीको) र मुम्बई फिल्म फेस्टिभलमा सहभागी भइसकेको छ।

बिक्रम राई
इलम दीक्षित।

सृष्टि घिमिरे।

मूलधारका नेपाली चलचित्रमा हात हाल्नुअघि सन् २०१०–२०१२ को अवधिमा ओथेल्लो, अ भ्यु फ्रम दि ब्रिज, दि ग्लास मनेजरी, एक्जिट दि किङ, अ स्ट्रिटकार नेम्ड डिजायर जस्ता नाटक निर्देशन र अभिनय गरेका इलमले रेड मनसुन का लागि दुई वर्ष मिहिनेत गरेका छन्। मुम्बई फिल्म फेस्टिभलमा रेड मनसुन हेरेपछि बलिउड अभिनेत्री नन्दिता दासले दक्षिण एशियाली सिनेमामा परिवर्तनको बहसलाई यसले बल प्रदान गरेको प्रतिक्रिया दिएकी थिइन्। नन्दिताले भनेकी थिइन्, “चलचित्रले समाजमा विद्यमान शक्ति र सम्बन्धहरूको देखाउनै पर्ने कथा प्रस्तुत गरेको छ जहाँ पुराना अनिश्चितताहरू विलाएर जान्छन्।”

हिमाली दीक्षित र सन्दीप क्षेत्री।

सरिता गिरी।

यो चलचित्रमा हिमाली दीक्षित, सन्दीप क्षेत्री, सरिता गिरी, सृष्टि घिमिरे, सुदाम सीके लगायतको अभिनय छ। अजय उपाध्याय र रुथ मोई निर्माता रहेको यो फिल्मका क्रियटिभ प्रोड्युसर अमेरिकी चलचित्रकर्मी डग्लस म्याकहुग हुन्। यसको मूल कथाकार करुणा शर्मा हुन् भने पटकथा, संवाद र सम्पादन निर्देशक स्वयंले गरेका छन्। यसैगरी, अमेरिकी चलचित्रकर्मी ब्रायन एमेरीले क्यामेरा चलाएका छन् भने लोचन रिजालले संगीत दिएका छन्। इलमका अनुसार यो फिल्म अब चाँडै मल्टिप्लेक्स र हलहरूमा सार्वजनिक हुँदैछ।

comments powered by Disqus

रमझम