७ पुस २०७० | 22 December 2013

नकआउटको योगदान

Share:
  
खेलाडी र क्लबलाई बाहै्र महीना सक्रिय गराएर नकआउट प्रतियोगिताहरुले फूटबलको विकासमा महत्वपूर्ण योगदान दिएका छन्।

तस्वीरः विकास कार्की
राजधानीमा जारी एनसेल कपमा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीका अनिल गुरुङ र पुलिस क्लबका सुमन सुवेदी।
राजधानीमा जारी एनसेल कपको उपाधि नजिक पुगेको लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबले यस वर्ष दुई वटा नकआउट प्रतियोगिता हात पारिसकेको छ। १ असारमा रु.१० लाख राशीको ब्रिटिश गोर्खा कप जितेको मनाङले १६ कात्तिकमा रु.३ लाख ५५ हजार राशीको सफल पोखरा कपको उपाधि हात पारेको थियो। २०६३ यता शहीद स्मारक 'ए' डिभिजन लिग जित्न नसकेको मनाङले नकआउट प्रतियोगिताबाटै समर्थकको मन भने जितिरहेको छ।

शहीद स्मारक 'ए' डिभिजन लिगको उपविजेतामै सीमित हुँदा मन खिन्न पारेका समर्थकलाई एनसेल कप जितेर खुशी बनाउने योजनामा छन् मनाङका कप्तान सागर थापा। उनी भन्छन्, “यो प्रतियोगिता पुरस्कार राशीका हिसाबले पनि महत्वपूर्ण छ।” नकआउट प्रतियोगितामध्ये सर्वाधिक पुरस्कार राशीको एनसेल कप विजेताले रु.१५ लाख पाउनेछ।

१७ मंसीरबाट शुरू एनसेल कप उपविजेताले रु.७ लाख ५० हजार, सेमिफाइनलमा पुग्ने दुई टीमले जनही रु.१ लाख ५० हजार तथा उत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउने छन् भने उत्कृष्ट स्ट्राइकर, मिडफिल्ड, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई जनही रु.७५ हजार नगद पुरस्कार दिइने आयोजकले जनाएको छ।

चिरपरिचित प्रतिद्वन्द्वी लक्ष्मी ब्याङ्क थ्रीस्टार क्लब २७ मंसीरमा तुलनात्मक रूपमा कमजोर मानिएको ब्वाइज युनियनसँग पराजित भएर क्वाटर फाइनलबाटै बाहिरिएपछि मनाङको उपाधि यात्रा केही सहज देखिएको छ। डिफेन्डिङ च्याम्पियन मनाङ २८ मंसीरमा पुलिस क्लबलाई २–१ ले पराजित गरेर सेमिफाइनलमा पुगेको हो। सेमिफाइनलमा मनाङको भेट सीएमजी संकटा क्लबसँग हुनेछ।

नकआउटको अपरिहार्यता

'ए' डिभिजन लिग तीन महीना मात्रै चल्ने हुँदा बाँकी ९ महीना क्लब र खेलाडीलाई नकआउट प्रतियोगिताहरुले नै सक्रिय बनाउँछन्। अखिल नेपाल फूटबल संघ (एन्फा) का उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ वर्षभरि फूटबल क्लबलाई सक्रिय बनाउनमा नकआउट प्रतियोगिताहरुकै महत्वपूर्ण भूमिका भएको बताउँछन्। शहीद स्मारक 'ए' डिभिजन लिग विजेता थ्रीस्टार क्लबको अध्यक्ष समेत रहेका श्रेष्ठ भन्छन्, “नकआउट प्रतियोगिता नहुने हो भने क्लबहरूले अहिले जति खेलाडी अनुबन्ध गर्न सक्ने थिएनन्।”

राष्ट्रिय टीमका कप्तान सागर थापा राजधानीको चार भञ्ज्याङमा खुम्चिएको फूटबललाई मोफसलसम्म पुर्‍याउनुमा नकआउट प्रतियोगिताहरुकै योगदान ठान्छन्। देशका विभिन्न भागमा प्रतियोगिता हुँदा फूटबल क्रेज बढ्ने र प्रतिभावान खेलाडी आउने उनको बुझाइ छ।

फूटबल विश्लेषक सञ्जीव मिश्र अहिले भइरहेका नकआउट प्रतियोगिताहरुलाई मध्य पुसबाट शुरू हुने 'ए' डिभिजन लिगको पूर्वतयारीको रूपमा लिनुपर्ने बताउँछन्। मिश्र भन्छन्, “नकआउट प्रतियोगितामा 'गर या मर' को अवस्था हुने भएकाले दुवै टीमले शुरूबाटै आक्रमण गर्ने कला पनि सिक्छन्।”

राष्ट्रिय टीमका पूर्व स्ट्राइकर हरि खड्काको बुझाइमा बलियो टीमसँग 'होपलेस' हुने र कमजोर टीमसँग 'ओभर कन्पि्कडेन्ट' नहुने शिक्षा नकआउट प्रतियोगिताले दिन्छ। खड्काको बुझाइमा नेपाली फूटबलरहरूले लोभलाग्दो पारिश्रमिक पाउनुमा धेरै भूमिका नकआउटकै छ। खड्का भन्छन्, “नेपाली फूटबल यहाँसम्म आउनु यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका रहेकोमा शंका छैन।”

सन्त गाहा मगर

comments powered by Disqus

रमझम