७ पुस २०७० | 22 December 2013

शिव रेग्मी

Share:
  

५ भदौ २०२१ ― २४ मंसीर २०७०
नेपाली चलचित्रमा नारी संवेदनाको चित्रणमा निर्देशक शिव रेग्मी अब्बल मानिन्थे। मिर्गौला रोगसँग लड्दालड्दै ४९ वर्षकै अल्पायुमा दिवंगत भएका निर्देशक रेग्मीका डेढ दर्जन फिल्ममध्ये अधिकांश सुपरहिट भएका थिए। विषयको गहिराइमा पुगेर सामाजिक कथावस्तु र खास गरेर नारी संवेदनालाई फिल्ममा उतार्ने निर्देशक कहलिएका थिए, उनी। रेग्मीले नेपाली फिल्म उद्योगमा राम्रा र सफल फिल्म निर्माणकोएउटा अध्याय नै लेखेका छन्। उनीबारे वरिष्ठ चलचित्रकर्मी नीर शाह भन्छन्, “फिल्म बनाउन चाहेको विषयमा गम्भीर अध्ययन गरेर मात्र काम थाल्थे रेग्मी।”

दुवै मिर्गौलाले धोका दिएपछि १० महीनादेखि थलिएका रेग्मीको उपचार दिल्लीस्थित सर गंगाराम अस्पताल, चितवनको भरतपुर मेडिकल कलेज र काठमाडौंको वयोधा अस्पतालमा गरियो। अन्त्यमा निमोनिया र जन्डिस समेत थपिएपछि रेग्मी सदाको लागि अस्ताए। चितवनको बाह्रघरेमा जन्मिएका रेग्मीले २०४७ मा नारायणी कला मन्दिरबाट कला यात्रा थालेका थिए। रंगमञ्चमा काम गर्दागर्दै २०५० मा चलचित्र प्रेमपूजा को पटकथाकार बनेका उनी २०५६ सालमा चलचित्र आफन्त बाट निर्देशनको दुनियाँमा आएका थिए। त्यसपछि रेग्मीले आफ्नो मान्छे, पाहुना, ए मेरो हजुर, मुग्लान, सुखदुःख, उपहार, कहाँ भेटिएला जस्ता एकपछि अर्को सुपरहिट फिल्म निर्देशन गरे। प्रतिभाशाली हिरो–हिरोइन जन्माउने निर्देशकको रूपमा पनि चिनिने रेग्मीका पत्नी, दुई छोरी र एक छोरा छन्।

comments powered by Disqus

रमझम