७ पुस २०७० | 22 December 2013

मोरङमा शिल्पी

Share:
  

“दिमागलाई खल्तीमा राख्नुस्, शरीरलाई सोच्न दिनुस्। कल्पना गर्नुस्– तपाईं लोभ हो, जागेको लोभको अभिनय गर्नुस्।”

रंगकर्मी घिमिरे युवराजको यो निर्देशनपछि सबै लल्याकलुलुक पर्दै आ–आफ्नो तरीकाले भुईंमा लडे। कोही पोको परे, कोही धनुष जस्तै बने। शिल्पी थिएटर काठमाडौंले मोरङको झ्ाोराहाटमा १२–२६ मंसीरमा संचालन गरेको नाटक कार्यशालाका प्रशिक्षक घिमिरेका अनुसार नाटकमा शरीरले भाषा बोल्नुपर्छ। स्टेज, पोशाक, लाइट त मञ्चका बाहिरी सजावटका लागि मात्र हुन्। ११ प्रशिक्षार्थीमध्येका भरत गुरागाईं भन्छन्, “वर्षौंदेखि नाटकमा सक्रिय थिएँ तर, चुरो कुरो अहिले थाहा हुँदैछ।”

पेशाले शिक्षक गुरागाईं झोराहाट नाट्य समूहका अध्यक्ष पनि हुन्। उनले तीन दर्जन जति नाटक लेखेर मञ्चन पनि गरिसकेको बताए। यो प्रशिक्षण पछि राष्ट्रियस्तरको नाटक मञ्चन गर्ने आँट आएको उनले बताए।

बिहान ७ देखि बेलुका ७ बजेसम्म लगातार तालीम लिइरहेका अर्का प्रशिक्षार्थी डम्बर मुडियारीले गह्रौं भारी उठाएको अभिनय गर्दा साँच्चैको बल गर्नु परेको बताए। प्रशिक्षणमा संवाद भन्दा पनि अभिनय सिकाइएको छ। प्रशिक्षक घिमिरेले प्रशिक्षार्थीलाई सानो कुराले दर्शकमा अविस्मरणीय छाप छोड्ने अभिनयका लागि तयार पार्न मिहिनेत गरेको बताए। घिमिरे यो तालीममा विद्यालयमा आफूलाई पढाएका गुरागाईका गुरु बनेका छन्। बेतलवी विदा लिएर चेलालाई गुरु थापेका गुरागाईं प्रशिक्षणपछि शिक्षणबाट पूरै विदा लिएर नाटकमा होमिने सुरमा छन्।

कमल रिमाल, विराटनगर

comments powered by Disqus

रमझम