१४ पुस २०७० | 29 December 2013

नयाँ विषय, खोज सामग्री

Share:
  

हिमाल (३० मंसीर) मा प्रकाशित २०० वर्षअघिको युद्ध सम्बन्धी खोज सामग्री निकै पठनीय लाग्यो। नेपाल–अंग्रेज निर्णायक युद्ध भएको २०० वर्षपछि हिमाल ले काठमाडौं दरबारको महत्वकांक्षा र इष्ट इन्डिया कम्पनीको स्वार्थले निम्त्याएको युद्ध र त्यसको प्रभावबारे खोज सामग्री पस्केर पाठकलाई आफ्नै देशको इतिहास सम्झाउने प्रयास गरेको छ। आधुनिक पुस्ताका लागि साँच्चै यो सामग्री पठनीय र संग्रहणीय पनि छ। इतिहासलाई सम्झाउने गरी हिमाल ले यसरी सामग्री पस्केको शायदै यो पहिलो पटक होला। आशा छ, आगामी दिनमा पनि हिमाल ले यस्ता सामग्रीलाई उचित स्थान दिनेछ।

विज्ञान थापा, गट्ठाघर, भक्तपुर

वेलैमा सचेत होऔं

हिमाल (३० मंसीर) मा प्रकाशित शहरभरि आगोको गोला समाचार पढेपछि आवाद क्षेत्रमा खुलेका पेट्रोलपम्प र ग्याँसडिपोले कतिसम्म खतरा निम्त्याउने रहेछ भन्ने प्रष्ट हुन्छ। समाचारमा उल्लेख भए अनुसार राजधानीको घनाबस्तीका पेट्रोलपम्प र ग्याँसडिपोहरूमा आगलागी भएमा त्यसलाई नियन्त्रण गर्ने क्षमता कसैसँग पनि छैन। मानव सिर्जित यस किसिमको विनाशप्रति कसैको ध्यान नपुगेको देखिन्छ। पेट्रोलपम्प संचालनको अनुमति दिनुअघि सडक विभाग र आयल निगमले यस्ता कुरामा ध्यान दिनैपर्छ। होइन भने दुर्घटना निम्तिइसकेपछि पछुताउनुको कुनै अर्थ रहँदैन।

रामकृण थापा, नयाँबजार, काठमाडौं

अब नढाँट

हिमाल (३० मंसीर) मा प्रकाशित आफैंलाई ढाँट्दै समाचारमा उल्लेख गरिए जस्तै निर्वाचनमा पराजयको कारण एउटा भए पनि अर्कै प्रचारबाजी गरेर एमाओवादीले जनता र आफूलाई एकसाथ ढाँटिरहेको प्रष्ट हुन्छ। जातीय संघीयताको मुद्दा उचालेका कारण चुनावमा पराजय भोग्नु परेको यथार्थ सबैले बुझ्ेकै छन्। तैपनि एमाओवादीले भने चुनावमा धाँधली भयो भनेर जनतालाई ढाँट्न छाडेको छैन। आफ्नै कारण भएको हारलाई स्वीकार्दै संविधान निर्माणमा केन्द्रित हुनु एमाओवादी पार्टी र यसका नेताका लागि श्रेयस्कर हुनेछ।

हरि तामाङ, नयाँबजार, काठमाडौं

खेलबाड नगरौं

हिमाल (३० मंसीर) मा प्रकाशित गुणस्तरहीन बन्दै शीर्षकको इञ्जिनियरिङ शिक्षा सम्बन्धी समाचार पढेपछि हाम्रो शैक्षिक अवस्था छर्लङ्ग हुन्छ। कमजोर पाठ्यक्रम अनि गुणस्तरहीन ल्याब र आन्तरिक खिचातानीका कारण इञ्जिनियरिङ पढाइ कमजोर भएको हो। पूर्वाधार र अन्य पक्षबारे अध्ययन नगरी भनसुनका भरमा शैक्षिक प्रमाणपत्र पेश गरी क्याम्पस संचालनको अनुमति दिने व्यवस्था नरोकिएसम्म शैक्षिक गुणस्तर सुध्रने छाँट देखिंदैन। यसरी मनपरी ढंगबाट संचालनको अनुमति दिंदा भोलिका दिनमा प्रमाणपत्रको किनबेच हुन सक्छ। जसले गर्दा नेपालका विश्वविद्यालयको प्रमाणपत्र बाहिरी मुलुकमा नबिक्ने अवस्था आउन सक्छ। त्यसकारण त्यो अवस्था आउन नदिनका लागि सरोकारवाला निकायहरूको ध्यान तत्काल यसतर्फ जानैपर्छ।

शिव फुयाल, चाबहिल, काठमाडौं

पठनीय सामग्री

हिमाल (३० मंसीर) मा प्रकाशित सहयोगको परम्परा इतिहास पठनीय लाग्यो। वि.सं. २०२९ मा रामचन्द्र न्यौपानेले लेख्नुभएको परोपकार सेवा र संघर्षको इतिहास तथा परोपकार आदर्श हाईस्कूलले २०४५ सालमा प्रकाशित गरेको पुस्तक सेवाका प्रतिमूर्ति दयावीरसिं कंसाकारमा सहयोगको परम्पराबारे धेरै कुरा उल्लेख गरिएको छ। जसबाट नयाँ पुस्ताले धेरै कुराको जानकारी पाउने छन्। २००९ सालमा परोपकार अनाथालय स्थापना गरेका राजा त्रिभुवनकै पालामा प्रसूति गृह स्थापना गरिएको हो। सहयोगको परम्परामा यस्ता विषयले पनि ठाउँ पाओस्।

सुमनकुमार तुलाधर, इमेलबाट

comments powered by Disqus

रमझम