भक्तपुर गट्ठाघरमा तरकारी बेचेर गुजारा चलाइरहेकी नुवाकोट ककनी―२ की आशमाया लामा (४६) लाई तरकारी किन्न आउने प्रकाश नामका व्यक्तिले 'मिलेर जग्गाको कारोबार गर्दा लखपति बनिने' आश्वासन दिए। छिट्टै लखपति बन्ने सपना देखेर उनले 'पोखराको करोडौं रुपैयाँ पर्ने जग्गा बिक्री गर्न' प्रकाशलाई आफ्नो फोटो पनि दिइन्। प्रकाशले चितवनको भरतपुर–९ की शान्ता राणाको नाम र उनको तस्वीर राखेर नक्कली नागरिकता बनाए।
यसैबीच, छिमेकीले जग्गा मिचेको सुनेर वास्तविक शान्ता राणा नेपाल आइपुगिन्। नेपाल आउनासाथ जग्गा बिक्री भएको थाहा पाएपछि उनले प्रहरीमा उजुरी दिइन्। प्रहरीले नक्कली शान्ता राणा बनेकी आशमायालाई भदौ २०६९ मा पक्राउ गर्यो। कास्की जिल्ला अदालतले मुद्दा किनारा नलाग्दासम्म पुर्पक्षका लागि थुनामा राख्न पुस २०६९ मा आदेश दिएकाले आशमाया थुनामा छिन् भने फरार प्रकाशको प्रहरीले खोजी गरिरहेको छ। आशमायाकै छोरी सुषमा, नगरपालिका, मालपोत र सम्बन्धित वडा कार्यालयका सचिव भने धरौटीमा छुटेका छन्।
अर्को ठगी
काठमाडौं बौद्धमा डेरा लिएर प्लम्बर काम गर्ने काभ्रेपलान्चोक वाङथली–२ का कृष्णबहादुर श्रेष्ठ (५३) मौका पर्दा जग्गा खरीदबिक्रीको काम पनि गर्थे। त्यही क्रममा भेटिएका जग्गाको कारोबारी भुपाल तामाङले “पोखरामा नयाँ जग्गा दर्ताको काम छ, फोटो लिएर जाँदा पाँच/पाँच लाख फाइदा हुन्छ” भन्नासाथ उनी पोखरा हिंडे।
पोखरामा भुपालका साथी राजन सापकोटाले कृष्णबहादुरलाई 'जाल्पा रोडमा एक करोड पर्ने जग्गाको धनी रंगप्रसाद श्रेष्ठसँग तपाईंको अनुहार मिल्छ, ऊ यहाँ नबस्ने भएकाले उसको जग्गा बिक्री गर्न सकिन्छ' भने। छिट्टै पैसा कमाउने लोभले उनले भुपाल र राजनलाई आफ्नो फोटो पनि दिए। त्यो फोटो राखेर २०५४ मा स्याङ्जाबाट जारी भएको रंगप्रसाद श्रेष्ठको किर्ते नागरिकता बन्यो। जसलाई प्रयोग गरेर उनीहरूले २१ असोज २०७० मा रत्नप्रसाद खत्रीलाई पोखरा―८ जाल्पा रोडको कित्तानम्बर १०७ को ११ आना जग्गा रु.९५ लाखमा बिक्री गरे। कृष्णबहादुरको भागमा रु.२२ लाख ७५ हजार पर्यो।
किर्ते नागरिकता प्रयोग गरेर जग्गा बिक्री गरेको थाहा पाएपछि प्रहरीले यही मंसीरमा कृष्णबहादुरलाई पक्राउ गर्यो। कास्की जिल्ला अदालतले मुद्दा किनारा नलाग्दासम्म थुनामा राख्न १४ मंसीरमा आदेश दिएपछि उनी र ठगीमा संलग्न अनिता शर्मा जेल सजाय भोगिरहेका छन्। यो घटनामा संलग्न २१ जना विरुद्ध प्रहरीले मुद्दा दायर गरेको थियो, जसमध्ये नगरपालिका र मालपोतका कर्मचारी पनि छन्।
माधव बराल, पोखरा
हुलाकी राजमार्ग अलपत्र
हुलाकी मार्गको धनुषा खण्ड निर्माण गर्ने ठेक्का लिएको कम्पनी दुई महीनादेखि बेपत्ता छ।
तराईका गाउँलाई सदरमुकामसँग जोड्न मेचीदेखि महाकालीसम्म बन्ने हुलाकी राजमार्गको धनुषा खण्डको काम ठेकेदारको लापरबाहीले अवरुद्ध भएको छ। रु.२ अर्ब ५० करोड बजेट छुट्याइएको यो खण्डको सडक २७ मंसीरसम्म निर्माण भइसक्नुपर्नेमा नगन्य मात्र काम भएको छ।
भारत सरकारले हुलाकी राजमार्ग निर्माण गर्ने नेपाल सरकारसँग सम्झौता गरे अनुसार ६०२ किमी सडक निर्माणको प्रक्रिया ३० महीनामा सम्पन्न हुने गरी अघि बढाउने निर्णय भएको थियो। जस अनुसार; धनुषा, महोत्तरी र सर्लाहीमा २०१.७ किमी कालोपत्रे सडक निर्माण गर्न भारतको हैदरावादस्थित भिस्वा र बीभीएसआर कम्पनीले टेन्डर पाएका थिए। तर सम्झौता अनुसार निर्माण भइसक्नुपर्ने मिति सकिंदा पनि लक्ष्यको १ प्रतिशतभन्दा बढी काम हुन नसकेको हुलाकी राजमार्ग आयोजनाको धनुषा, महोत्तरी र सर्लाहीका प्रमुख किशोरी राय बताउँछन्। राय भन्छन्, “कन्स्ट्रक्सन कम्पनीले तीन जिल्लामा निर्माणका लागि नियुक्त गरेको प्रमुख इन्जिनियर आनन्द मोहन ठाकुर कन्सल्टेन्ट कार्यालयको कोठा भाडा तिर्न नसकेर काठमाडौं भागेका छन्।”
कम्पनी सम्पर्कविहीन
योजनाको अनुगमन गर्न नेपालस्थित भारतीय दूतावासले नियुक्त गरेको कन्सुलेट कार्यालयका इन्जिनियर शशि शेखर पनि सडक निर्माण दुई प्रतिशत भन्दा बढी नभएको स्वीकार्छन्। सडक निर्माणको ठेक्का लिएको कम्पनीका प्रतिनिधि दुई महीनादेखि सम्पर्कविहीन रहेको उनको भनाइ छ।
सरकारले भने आफ्नो जिम्मेवारी अनुसार यो सडकखण्डमा पर्ने जग्गा अधिग्रहणदेखि विद्युतीय पोल हटाउने काम पूरा गर्न लागेको छ। आयोजना प्रमुख राय सडकमा पर्ने बिजुलीका पोल हटाउन सरकारले धनुषा र महोत्तरीका विद्युत् कार्यालयलाई रु.७ करोड ४० लाख उपलब्ध गराएको बताउँछन्। जनकपुर–जटही सडकखण्डको जटही भन्सारछेउ घर भएका शैलेन्द्र कुमार चौधरीले तीन वर्षअघि रु.२५ लाख खर्च गरेर बनाएको घर मुआब्जा लिएर सडकलाई दिएको बताए।
हुलाकी सडकले समेटेको जनकपुर–भिट्ठामोड सडकखण्ड सुधि्रने आशा पनि स्थानीयले विस्तारै मार्न थालेका छन्। दश वर्षदेखि जीर्ण रहेको यो सडकमा गत वर्ष माटो हाल्दा स्थानीयमा सडक बन्ने आशा जागेको थियो।
टेन्डर हात पार्न सडक निर्माणमा लाग्ने रकमभन्दा कममा टेन्डर लिएका कारण घाटा पर्ने डरले ठेकेदार कम्पनी सम्पर्कविहीन भएको हुनसक्ने जानकारहरूको अनुमान छ।
ईश्वरचन्द्र झा, जनकपुर
नेताको स्मृतिमा छात्रवृत्ति
२९ मंसीर अपरान्ह काठमाडौं, बुद्धनगरस्थित एउटा घरको हातामा परिवार, आफन्तजन र राजनीतिकर्मी गरेर २०–२५ जना जम्मा भए, नेपालका पुराना कम्युनिष्ट नेता केदारप्रसाद अर्ज्यालप्रति श्रद्धासुमन व्यक्त गर्न। अर्ज्यालको निधनको तेह्रौं दिनको श्रद्धाञ्जली सभामा उनको स्मृतिमा उपत्यकाका तीन सार्वजनिक विद्यालय रत्नराज्य, गुह्येश्वरी र प्रगति स्कूलका पाँच बालबालिकालाई छात्रवृत्ति वितरण गरियो। स्व. अर्ज्यालकी छोरी अमृताले यसबाट उनीहरूलाई पढ्न चाहेसम्म विद्यालय शुल्क, किताब–कापी र ड्रेसका लागि सहयोग गरिने बताइन्।
अमेरिकाको स्थायी बसोबास छोडेर केही वर्षदेखि देश–विदेशका सहृदयीको सहयोग जुटाउँदै १०३ जना केटाकेटी पढाउन मद्दत गरिरहेकी अमृताको काँधमा निधनपछि काजकिरिया नगर्नू, बरु गरीब परिवारका बालबालिकालाई पढाइदिनू भन्ने बावुको इच्छाबमोजिम अरू पाँच जना बालबालिका पढाउने अभिभारा थपिएको छ। छात्रवृत्ति पाउने नुवाकोट, त्रिशूलीका उज्ज्वल श्रेष्ठ, बारा, परवानीपुरका सुशान्त घलान र मकवानपुर, हेटौंडाकी पूजा शाह क्रमशः सात, पाँच र तीन, काभ्रेकी सुजिता तामाङ पाँच र सर्लाहीकी सुष्मिता माझी सात कक्षामा पढ्छन्। थापाथली सुकुम्बासी बस्तीकी सुष्मिताले त एक वर्षअघि परीक्षाको वेला सरकारले घर भत्काएर विचल्ली पारिदिंदा समेत उत्कृष्ट नतीजा ल्याएकी छन्। आमाविहीन र मधुमेह भएर दिनमा ३२ युनिट इन्सुलिन लिनुपर्ने सुजिता पनि पढ्न निकै मन गर्छिन्।
१७ मंसीरमा विराटनगरस्थित निवासमा लड्दा मस्तिष्कमा रगत जमेर मृत्यु भएका अर्ज्याल ८४ वर्षका थिए। सधैं जाडोयाममा केही महीना विराटनगर जाने उनी यसपालि संविधानसभा चुनावमा हिंसाको राजनीतिलाई पराजित गर्नुपर्छ भनेर परिवार–आफन्त सबैलाई काठमाडौंमै छाडी अलि अगाडि नै गएका थिए। भारतको स्वाधीनता आन्दोलनबाट राजनीतिमा सक्रिय अर्ज्याल नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति सदस्य भएका छन्। कम्युनिष्ट पार्टी विभाजित हुन थालेपछि भने उनी कुनै समूहमा नलागी बृहत् वाम–प्रजातान्त्रिक राजनीति र समाजसेवामा संलग्न थिए। पछिल्लो समय मोरङको बैजनाथपुर–९ धनपुराका थारू परिवारको शिक्षा, स्वास्थ्य र रोजगारीमा सहयोग पुर्याउँदै आएका अर्ज्यालले आफ्नै जग्गामा स्कूल भवन निर्माण गर्न समेत सहयोग गरेका थिए।
बद्री पौड्याल, काठमाडौं
सकसमा 'साना गुरु'
धर्म र संस्कृति बचाउन खोलिएका वेद विद्याश्रमका विद्यार्थी सकसमा बाँचिरहेका छन्।
सेतो धोती, रातो कुर्ता, कपाल खौरिएको टाउको र लामो टुप्पी भएका 'पण्डित' को चित्र कोर्दा आनन्द मान्ने कविराज जोशी आफू त्यस्तै बन्नुपर्दा भने दुःखी छन्। अछामको वैद्यनाथ वेद विद्याश्रममा कक्षा ७ मा पढिरहेका कविराज (१२) भन्छन्, “हिंडडुल गर्न गाह्रो भए पनि स्कूलको नियम अनुसार धोती–कुर्ता लगाउनै पर्छ।”
बाध्यताको पढाइ
सुदूरपश्चिमवासीले मनोकांक्षा पूरा गर्ने देवता मान्ने वैद्यनाथ मन्दिरभित्र रहेको सरकारी स्वीकृति प्राप्त वेद विद्याश्रममा ६ देखि ८ कक्षासम्म पढाइ हुन्छ। २२ जना विद्यार्थी रहेको यो विद्याश्रममा संस्कृत भाषा, व्याकरण, रुद्री, वेद र कर्मकाण्ड पढाइन्छ। संसारकै समृद्ध मानिने संस्कृत भाषा पढाइने विद्याश्रमको वातावरण भने रुखो छ। त्यही कारण विद्याश्रममा मन नबसेको बताउँदै ६ कक्षाका विद्यार्थी नारायणप्रसाद उपाध्याय भन्छन्, “अरू स्कूलमा पढ्दा रमाइलो हुने हुँदा स्कूल जाउँजाउँ लाग्थ्यो, यहाँ त बस्न नै मन लाग्दैन।” बाजुरामा रहेको घर नजिकैको महेन्द्र उमाविमा ५ कक्षासम्म पढेका नारायणका दुई दाइहरू भने धनगढी र काठमाडौंका निजी स्कूलमा पढ्दैछन्।
ब्राह्मण जातका बालकहरू मात्र पढ्ने विद्याश्रमको वातावरण कतिसम्म रुखो छ भने मौका पाउनासाथ विद्यार्थीहरू भागिहाल्छन्। चार पटक विद्याश्रमबाट भाग्ने कोशिश गरेका ६ कक्षामा पढ्ने डम्बरराज जोशी भन्छन्, “चारै पटक बाटो नदेखेर फर्किनु पर्यो। घर जाने बाटो देखें भने फेरि पनि भाग्छु।”
यो वर्ष भर्ना भएका २८ मध्ये ६ जना विद्याश्रमबाट भागिसकेका छन्। विद्याश्रमका अनुसार ६ कक्षामा १३ तथा सात र आठ कक्षामा ५/५ जना विद्यार्थी छन्। गत वर्ष ६ कक्षामा ११ जना भर्ना भएकोमा अहिले ५ जना मात्रै बाँकी छन्। यसैगरी, ६ कक्षामा १७ जना भर्ना भएकोमा आठ कक्षामा पुग्दा ५ जना मात्रै बाँकी रहे।
विद्यार्थीका लागि बिहान साढे ४ बजे उठ्नुपर्ने, राति ९ बजेअघि सुत्न नपाइने, जाडोमा पनि धोती लगाएरै बस्नुपर्ने, भाँडाकुँडा, सुत्ने कोठा, कक्षाकोठा, करेसाबारी, मन्दिरको सरसफाइ गर्नुपर्ने, विद्याश्रममा पालिएका गाईका लागि घाँस काट्नुपर्ने जस्ता कडा नियम छन्। मन्दिर र नजिकका गाउँमा पूजापाठ गर्न पनि उनीहरू नै जानुपर्छ।
विद्याश्रमको कडा नियमका कारण धेरै विद्यार्थी टिक्न नसकेर भाग्ने गरेको शिक्षक भोजराज भण्डारी पनि स्वीकार्छन्। मन लागेको वेला विद्यार्थीले घर समेत जान नपाउने बताउँदै भण्डारी भन्छन्, “दशैं, तिहार, हिउँदे, बर्खे तथा अन्य विदाहरूमा पनि विद्यार्थीलाई घर जान नदिएर विद्याश्रमको काममा खटाइन्छ।” प्रधानाचार्य पदमराज भण्डारी चाहिं कहिलेकाहीं 'मिलाएर' विदा दिने गरिएको दाबी गर्छन्। भण्डारी भन्छन्, “नियम कानून अनुसार नगर्दा विद्यार्थी बिग्रने हुनाले कडाइ गरेका हौं; धर्म, संस्कृति जोगाउन योभन्दा अर्काे उपाय पनि छैन।”
बच्चु विक, धनगढी
सुवास घिसिङ दार्जीलिङ फर्कंदै
विमल गुरुङको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पाँच वर्षअघि उदय भएपछि दार्जीलिङ छाड्न बाध्य भएका गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का अध्यक्ष सुवास घिसिङ तराईबाट दार्जीलिङ उक्लन पाउने भएका छन्। सन् २००७ देखि सिलिगुडी, कलकत्ता र दिल्लीमा बस्दै आएका घिसिङलाई गुरुङले नै दार्जीलिङ फर्कने अनुमति दिएका हुन्। गुरुङले भर्खरै दार्जीलिङमा आयोजित एउटा कार्यक्रममा भने, “वृद्ध र बिरामी घिसिङसँग अब राजनैतिक मुद्दा पनि छैन, अब उनी साधारण मानिस मात्र भएकाले शान्तिपूर्वक बस्ने गरी मानवताको नाताले पहाडमा उनलाई स्वागत गरेका हौं।”
निर्दयी संस्कार
नयाँ शक्ति उदय भएपछि पुरानो शक्ति दमनमा पर्ने र त्यसका नेताले ठाउँ छाड्नुपर्ने दार्जीलिङ सहित भारतको उत्तरपूर्वी पहाडको परम्परा छ। त्यही अनुसार, भारतीय संविधानको धारा २४४ को छैटौं अनुसूची अन्तर्गत दार्जीलिङ गोर्खा काउन्सिलमा सम्झ्ौता गरेर गोर्खाल्याण्डको मागलाई छाडेको भन्दै गुरुङको गोजमुमोले २५ जुलाई २००८ मा दार्जीलिङमा रहेको घिसिङको घर घेराउ गरेको थियो। त्यसको भोलिपल्टै घिसिङले दार्जीलिङ छाडेका थिए। कतिसम्म भने, २००८ मा मृत्यु भएकी घिसिङकी धर्मपत्नीको शव पनि गुरुङको गोजमुमोले दार्जीलिङ ल्याउन दिएको थिएन। २०११ मा पश्चिम बङ्गाल राज्यको विधानसभा चुनावताका दार्जीलिङ आएका घिसिङ चुनावमा पार्टीले नराम्रो पराजय बेहोरेपछि राति नै सिलिगुडी झ्रेका थिए। त्यसपछि उनले सिलिगुडी नजिकको मतिगडमा रहेको आफ्नो घरबाटै अर्धभूमिगत रूपमा पार्टीको गतिविधि चलाइरहे।
गुरुङको गोजमुमोले अलग गोर्खाल्याण्डको माग छाडेर पश्चिम बंगालभित्रकै क्षेत्रीय प्रशासन गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए) स्वीकारेपछि घिसिङको गोरामुमोले छैटौं अनुसूचीको पुरानो मुद्दा उठाएर दार्जीलिङ सहित पहाडमा गतिविधि बिउँताउँदैछ। तर, गुरुङले घिसिङलाई दार्जीलिङ फर्कने अनुमति दिनुमा उनको बढ्दो शक्ति कारण रहेको देखिंदैन। गुरुङले भनेका छन्, “बाइस वर्ष शासन गरेको गोरामुमोको राजनीतिक हतियार हराइसकेकोले अब घिसिङले दार्जीलिङमा गोजमुमोले गर्ने विकास हेर्न मात्रै सक्नेछन्।” उनले आफूलाई उदार देखाउँदै भनेका छन्, “झ्गडा गर्ने समयमा झ्गडा भयो, अब त्यो समय छैन। किनभने गोजमुमोले दुश्मनी र हिंसाको राजनीति गर्दैन।”
सञ्जय प्रधान, दार्जीलिङ