१४ पुस २०७० | 29 December 2013

शिक्षामा प्रविधिको फड्को

Share:
  
- दिनकर नेपाल
विज्ञान–प्रविधि मार्फत संसारको सामाजिक, बौद्धिक, सैन्य र आर्थिक क्षेत्रमा वर्चस्व कायम गरेको पश्चिमा विश्वका लागि विज्ञान, गणित जस्ता विषयमा विद्यार्थीको रूचि घट्नु चिन्ताको विषय बनेको छ।

बिलाश राई
अमेरिका, यूरोप लगायत पश्चिमी संसारका लागि विश्व शक्ति–सन्तुलनमा आफ्नो महत्व कायम राख्न सिर्जनात्मक शिक्षा प्रणालीमा भर पर्नुपर्ने अवस्था आएको छ। भारत, चीन लगायतका देशहरूमा क्रमशः सुधारिंदै गएको शिक्षा प्रणालीबाट उत्पादित उच्चस्तरको प्राविधिक जनशक्तिले पश्चिमाहरूको चिन्ता बढाएको छ। यो अवस्थाले आजको विश्वमा हरेक देशले शिक्षामा रचनात्मक प्रणाली अपनाउनु अत्यावश्यक भएको देखाउँछ।

रचनात्मक शिक्षाको सन्दर्भमा अमेरिकामा सलमान खान नामका व्यक्तिले गरेको प्रयोग निकै रोचक छ। खानले आफ्नै भाइबहिनीहरूलाई सरल भाषामा ग्राफिक्सको मद्दत लिंदै विज्ञान र गणितका अवधारणाहरू प्रस्ट्याएको १० मिनेटको भिडियो यु–ट्युबमा हालिदिए। त्यसको प्रतिक्रिया निकै आश्चर्यजनक थियो। व्यक्तिगत रूपमा उनले पढाउँदा भन्दा भिडियो हेरेर विद्यार्थीहरूले छिटो बुझे। यसरी 'ट्युटोरियल' भिडियोहरू लोकप्रिय हुन थालेपछि उनले खान एकेडेमी नै खोलेर रचनात्मक शिक्षामा ठूलै परिवर्तन ल्याए। अहिले खानको यो पहलमा बिल गेट्स फाउन्डेशन जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग छ (हे.धधध।पजबलबअबमझथ।यचन)।

प्रविधिबाट समाधान

तेस्रो विश्व भनेर चिनिने अल्पविकसित देशहरूका धेरै समस्या अशिक्षासँग जोडिएको छ। त्यसकारण, समाजमा व्याप्त सबै रोगको निदान गर्ने तिलिस्मी ओखतीको रूपमा लिइन्छ, शिक्षालाई। अशिक्षाले सामाजिक विभेदलाई प्रश्रय दिन्छ। विभेद सुल्झ्ाउन नसक्दा आउने राजनीतिक अवरोधले द्वन्द्व, अराजकता र हिंसाको चक्र निम्त्याउँछ। त्यसको भुक्तभोगी नेपाली समाज आफैं हो। नेपाली समाजले अहिले हिंसाको त्यो चक्रले ल्याएको गतिहीनता भोगिरहेको छ। यसरी हेर्दा राजनीतिक अराजकताको निर्मूलीकरण शिक्षाको विकासमा अडिन पुगेको देखिन्छ।

सर्वप्रथम त शिक्षाको उद्देश्य नै सामेलीपनको सिद्धान्तलाई टेवा दिने हुनुपर्छ। शैक्षिक क्षेत्रमा सामाजिक र आर्थिक रूपले कमजोर वर्गलाई आरक्षणको व्यवस्था गर्न सक्नुपर्छ। विपन्न र विकट क्षेत्रका विद्यार्थीहरूलाई उच्च शिक्षामा प्रोत्साहन गरिनुपर्छ। अहिलेका आरक्षण नीतिहरू सरकारी सेवामा सीमित छन्, त्यो पनि जातिविशेषका आधारमा। यसरी व्यवहारमा सामेलीपना हुँदैन। जातमा आधारित आरक्षण नीति जातिविशेषकै आर्थिक रूपले सम्पन्न वर्गमा सीमित भएर जान्छ भन्ने कुरा भारतको ६० वर्षे अनुभवले पनि देखाइसकेको छ। आरक्षण नीतिको फाइदा लक्षित जातिको तल्लो वर्गमा पुग्दैन, बरु वर्गीय खाडल बढ्दै जान्छ।

नेपालमा विद्यालय तहको शिक्षाको स्तर खस्किंदै जानुमा सरकारी उदासीनता र उद्देश्यविहीन नीति मुख्य कारणको रूपमा रहेको छ। निजी विद्यालयप्रतिको मोहले गर्दा स्थानीय तहमा सरकारी विद्यालयप्रति जनचासो र दायित्वबोध घट्दै गएको छ। शिक्षण पेशाप्रति खासै आकर्षण नरहँदा सरकारी र निजी दुवै खालका विद्यालयहरूमा स्तरीयताको समस्या आएको छ। आर्थिक भेदभावको असर शैक्षिक अवसरमा पर्दा थप विभेद उत्पन्न हुँदैछ।

नेपाली शैक्षिक समस्यामध्ये केहीलाई प्रविधिको उचित प्रयोगबाट समाधान गर्न सकिन्छ। विद्यालयहरूमा इन्टरनेट सुविधायुक्त कक्षाकोठा बनाउन सक्दा एउटा शिक्षकद्वारा देशभरका हजारौं विद्यार्थीलाई पढाउन सकिन्छ। ती शिक्षकसँगै सबै विद्यार्थीले प्रत्यक्ष सवाल–जवाफ पनि गर्न सक्छन्। तीव्र विश्वव्यापीकरणको समयमा सूचनाप्रविधिलाई कमजोरी बन्न नदिएर यसलाई प्रगतिको फड्को मार्ने भर्‍याङ बनाउन सक्नुपर्छ। अमेरिकाको खान एकेडेमी जस्तो संस्था बनाउने निजी तथा गैर–सरकारी क्षेत्रको पहल, दूरदर्शी सरकारी नीति, उचित वातावरण र भौतिक पूर्वाधारले हाम्रो शिक्षामा राम्रै सुधार गर्न सक्छ।

comments powered by Disqus

रमझम