१४ पुस २०७० | 29 December 2013

पश्चिम भँगालो

Share:
  

शब्द/तस्वीरः देबकी विष्ट

कर्णाली नदीले चुरे छिचोल्ने चिसापानीमा बनेको ५०० मिटर लामो केवुल स्टेट ब्रिज माघ २०५० मा संचालनमा आएपछि सुदूरपश्चिमका ९ जिल्ला राजधानीसँग जोडिएका हुन्। त्यसअघिसम्म सुदूरपश्चिमले देशको पूर्वी भाग आउन कि कर्णालीमा जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुपर्थ्यो कि त भारतीय बाटो समात्नुपर्थ्यो।

पहाडहरूमा चेपिंदै आएको कर्णाली पुलको केही तलको मैदानमा पुगेपछि भँगालाहरूमा छुट्टिएर वनवनै बग्छ। २३ मंसीरमा र्‍याफ्टिङमा सवार हामी पश्चिम भँगालोमा हेलियौं। कैलालीको टीकापुर गन्तव्य बनाएका हामीलाई यो यात्राले बर्खामा ठूल्ठूला चट्टान र विशालकाय रूखहरू बगाउँदै ल्याउने कर्णालीमा हिउँदभर को–को कसरी आश्रित हुँदा रहेछन्, थाहा भयो।

टीकापुर पार्कभित्र रहेको वीरेन्द्र विश्राम बाटिका।

कर्णालीमा कोही स्थानीय माछा मार्दै थिए, कोही ढुङ्गा–गिट्टी झिक्दै त कोही बालुवामा सुन छान्दै थिए। कोही भँगालोको डिलमा भेला भएर रमाइलो मानिरहेका थिए त कोही नदीमा खेलिरहेका। कोही भने कर्णालीले मलिलो पारेको बर्दिया निकुञ्जबाट खर ओसार्न व्यस्त देखिए।

नदीका कतिपय छेउमा स्थानीयका घरपालुवा जनावरहरू घाम ताप्दै उग्राइरहेका थिए भने कतिपय चराका झुन्ड बग्दो पानीलाई छोउँला–छोउँला झै गर्दै चारोका लागि यत्रतत्र चक्कर मारिरहेका थिए। किनारका वनहरूमा हरिणका अनगिन्ती झुन्ड देखिए भने माथि रूखका टुप्पाहरूमा चखेवा जोडीहरू कावा खाइरहेका थिए। कर्णालीमाथि कायक र स्थानीय माझीहरूको डुङ्गा यात्रा पनि बडो मनोहर देखिन्थ्यो। प्रकृति र मानवको यो रमाइलो सहकार्य हेर्दाहेर्दै अढाइ घण्टाको यात्रा सकेर हामी टीकापुर पार्क पुग्यौं। पर्यटकीय दृष्टिकोणले कर्णालीको पश्चिम भँगालो तर्र्दै र्‍याफ्टिङद्वारा यो रुट पर्यटकीय हिसाबले निकै रोचक र छोटो पनि छ।

comments powered by Disqus

रमझम