१४ पुस २०७० | 29 December 2013

अनेरास्ववियुको गाथा

Share:
  

कम्युनिष्ट आन्दोलनबाट आएर राज्य सञ्चालनको अनुभव बटुलेका नेपाली राजनीतिकर्मीहरू अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) लाई राजनीतिक नर्सरी मान्दछन्। आन्दोलनकारी इतिहास बोकेको अनेरास्ववियुले देशलाई धेरै नेता दिएको छ। थोमस बास्तोलाले यो विद्यार्थी संगठनको इतिहास र कार्यदिशा समेटिएको दस्तावेज सहितको पुस्तक तयार पारेका छन्, जुन नेपाली वामपन्थी आन्दोलनको इतिहास जान्न चाहने हरेक पाठकका लागि राम्रो स्रोत सामग्री बन्नेछ। स्वयम् अनेरास्ववियुका लागि त यो पुस्तक महत्वपूर्ण प्रशिक्षण सामग्री नै बनेको छ।

विद्यार्थी आन्दोलन र अनेरास्ववियु

लेखकः थोमस बास्तोला

प्रकाशकः जुगल पब्लिकेसन

पृष्ठः ४१२+२२,

मूल्यः रु.३७५

अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष रहेका बास्तोलाले यसअघि देश कहाँ छ, खोसिएको दैनिकी, शिक्षाको ज्योति बाल्दाबाल्दै लगायतका पुस्तक लेखेको अनुभवको आलोकमा तयार पारेको विद्यार्थी आन्दोलन र अनेरास्ववियु मा विभिन्न कालखण्डको राजनीतिक परिस्थितिमा विद्यार्थीले खेलेको भूमिकामाथि राम्ररी प्रकाश पारिएको छ। साथै पुस्तकले अनेरास्ववियुको तत्कालीन नेतृत्व तह यतिवेला कुन पारिवारिक–सामाजिक अवस्थामा कहाँ, के गरिरहेका छन् भन्ने सूचना पनि दिन्छ। नेपाली वामपन्थी आन्दोलनको ५० वर्षे सेरोफेरो समातेको पुस्तकले नेकपा एमाले र बहुदलीय जनवादसँगको सम्बन्धको चर्चा पनि गरेको छ।

मुलुकको लोकतान्त्रिक आन्दोलनमा बलिदान गर्ने विद्यार्थीलाई स्मरण गरेको पुस्तकमा अनेरास्ववियु निर्माणको कठिन अवस्था र पार्टी नेताको अनुभव तथा धारणा समेटिएको छ। पुस्तकमा नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, पोलिटब्यूरो सदस्य प्रदीप नेपाल अनेरास्ववियुका पूर्व महासचिव घनश्याम भुषाल लगायतका नेताहरूको अनुभव–धारणा छ। राष्ट्रियताको सवालमा अनेरास्ववियुले चलाएको सुस्ता बचाउ र सीमा सुरक्षा अभियान तथा दिल्ली सम्झौतासँगै २०३६ सालको विद्यार्थी आन्दोलन, नमिता–सुमिता हत्याकाण्ड र गायक प्रवीण गुरुङको हत्याको विरोधका साथै महँगी तथा शैक्षिक लगायतका आन्दोलनहरूको वर्णन छ, पुस्तकमा।

धेरै सूचना र तथ्य–तथ्याङ्क समेटिए पनि मिहिन विश्लेषण नहुनु पुस्तकको कमजोरी हो। दस्तावेजहरूले थिचिएको पुस्तकमा अनेरास्ववियुको इतिहास र संगठनमा योगदान गरेका नेताहरूले बढी नै महत्व पाएका छन्।

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम