१४ पुस २०७० | 29 December 2013

आकर्षण नेपालीमै

Share:
  
काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) का दर्शकले नेपालसँग सम्बन्धित र नेपालीले बनाएका फिल्म बढी रुचाउने गरेका छन्।

नेपाली प्यानोरमा फिक्सनतर्फ उत्कृष्ट भएको इन्दे्रणी खोज्दैका कलाकार।
११औं किम्फ अन्तर्गत २७ मंसीरमा 'हेलिकोप्टर रेस्क्युर इन दि हिमालय' को पुनः प्रदर्शन गरियो। तर, धेरै दर्शकको आग्रहपछि ३० मंसीरमा यो डकुमेन्ट्रीको दोस्रो 'शो' गरे, आयोजकहरूले। हरि थापा र स्वीट्जरल्याण्डका फ्र्यान्क सेन निर्देशित यो डकुमेन्ट्रीमा हिमाल आरोहणका क्रममा संकटमा परेका आरोहीहरूलाई हेलिकोप्टरबाट गरिने उद्धार प्रक्रिया देखाइएको छ, जुन आफैंमा धेरै जोखिमपूर्ण हुन्छ। सिद्धार्थ गुरुङ र छिरिङ पाण्डे भोटेले गरेको साहसिक उद्धार उडानमा पाइलट सविन बस्नेत र उद्धारकर्मी पूर्ण अवालेको निधन हुनुले त्यो खतरा प्रष्ट्याएको पनि छ।

समाजशास्त्री द्युति बराल, बेलायती पत्रकार स्टेफन गुडविन र स्वीट्जरल्यान्डका आरोही रोजर ब्रुनर सम्मिलित निर्णायक मण्डलले तेस्रो पुरस्कारका लागि छनोट गरेको यो डकुमेन्ट्रीले ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गर्‍यो। किम्फ आयोजक हिमाल एसोसिएसनका अध्यक्ष बसन्त थापा नेपालीले बनाएका नेपाल सम्बन्धी डकुमेन्ट्री/फिल्ममा दर्शकको बढी रुचि देखिएको बताउँछन्। २० देशका ४७ फिल्म/डकुमेन्ट्री प्रदर्शन गरिएको यस पटकको किम्फमा तीमध्ये नेपालसँग सम्बन्धित र नेपालीद्वारा निर्देशित १७ फिल्म/डकुमेन्ट्री थिए। नेपाल र फ्रान्सको संयुक्त प्रस्तुति रहेको 'कमलरीः नेपाल्स स्टोलन चाइल्डहुड' लाई दर्शकले सबभन्दा बढी मन पराए। क्रिस्टोफ स्वेगर निर्देशक गरेको यो डकुमेन्ट्रीले 'अडियन्स च्वाइस अवार्ड' जित्यो। यो डकुमेन्ट्रीले नाम मात्रको पारिश्रमिकमा दैनिक २० घण्टासम्म श्रम गर्न बाध्य ९, १५ र २२ वर्षीया 'कमलरी' हरूको कथा–व्यथा समेटेको छ।

'हेलिकोप्टर रेस्क्युर इन दि हिमालय' को एक दृश्य।
किम्फमा खास गरेर पर्वतीय क्षेत्रका जनजीवन, वातावरण, संस्कृति र प्रविधिसँग सम्बन्धित फिल्म/डकुमेन्ट्री प्रदर्शन गरिन्छ। यो पटक आधुनिक भौतिक संरचनाको निर्माणले मेक्सिकोको ताराहुमारा पर्वत क्षेत्रको जनजीवनमा पुर्‍याएको असर देखाउने 'नो प्लेस इज फार अवे' प्रथम र बेनाइट आइमन निर्देशित स्वीस फिल्म 'ब्रेथिङ दि स्मेल अफ दि स्काई' दोस्रो भयो। आठ हजार मिटरभन्दा माथिका सबै हिमाल चढेका आरोही इर्हाड लोरेटनप्रति समर्पित यो डकुमेन्ट्रीले १००० डलर पुरस्कार पायो। किम्फमा प्रथम हुने फिल्म/डकुमेन्ट्रीले ट्रफी सहित १५०० डलर पुरस्कार पाउँछ।

नेपाल प्यानोरमाको फिक्सनतर्फ काठमाडौंमा तीन दाजुबहिनीले गरेका संघर्ष देखाउने 'इन्द्रेणी खोज्दै जाँदा' उत्कृष्ट ठहरियो। सहारा शर्मा निर्देशित यो फिल्मले रु.२५ हजार जित्यो। यसैगरी, दीपेश खरेल र आसामीको वृत्तचित्र 'प्लेइङ विथ नान' ले नेपाल प्यानोरमाको नन–फिक्सन विधामा बाजी मार्‍यो।

जापानको रेस्टुरेन्टमा काम गर्ने नेपालीहरूको कथा भन्ने यो डकुमेन्ट्रीले पनि रु.२५ हजार पुरस्कार पायो। यसैगरी, भूटानका हिमनदीको बाटो खुलाउन मजदूरले गर्ने कडा परिश्रम देखाउने 'एटी–सिक्स सेन्टिमिटर्स' ले 'बेस्ट फिल्म अन माउन्टेन डेभलपमेन्ट' अवार्ड जित्यो। इसिमोडले प्रायोजन गरेको यो १००० डलरको अवार्ड हो। यसका निर्देशक छिरिङ ग्येल्सथेन र पिटर बर्ग हुन्।

सन्त गाहा मगर

comments powered by Disqus

रमझम