१४ पुस २०७० | 29 December 2013

मध्यरातसम्म मस्त

Share:
  

विश्वका मेट्रोपोलिटन सिटीहरू चौबीसै घण्टा खुल्छन्। १८ वर्षअघि महानगर अर्थात् मेट्रोपोलिटन सिटी भएको काठमाडौंमा भने साँझको ९ नबज्दै प्रहरी आइपुग्छ, होटल–रेस्टुरेन्ट बन्द गराउन। नाजुक सुरक्षा अवस्थाका कारण व्यवसायीहरूले चाहेर पनि रात्रि कारोबार गर्न सक्दैनन्।

यस्तो अवस्थामा राम गिरीले पुनरावेदन अदालतबाट आदेश गराएरै ठमेलमा राति दुई बजेसम्म खुल्ने फेसेस लाउन्ज संचालन गरेका छन्। राति रेस्टुरेन्ट संचालन गर्न पाऊँ भन्दै गएको १६ कात्तिकमा अदालत गएका गिरीले १० मंसीरको आदेशबाट ढुक्कले लाउन्ज संचालन गरेको बताए। रात्रि व्यवसायमाथि अघोषित प्रतिबन्ध लगाएर सरकारले ठूलो आकारको कर पनि गुमाइरहेको बताउने गिरीले फेसेस लाउन्जमा रु.३ करोड लगानी गरेका छन्। यसअघि पिलग्रिम्स बुक हाउसको माथिल्लो तलामा रहेको फेसेस लाउन्ज नर्सिङ चोकमा सरेको एक महीना भयो। पुरानो ठाउँमा २ जेठ २०७० मा भएको आगलागीले रु.२ करोड लगानी खरानी पारेको गिरी बताउँछन्।

नयाँ लाउन्जमा पारिवारिक वातावरण रहेको यहाँ भेटिने ग्राहक हेर्दा थाहा हुन्छ। ग्राहक गिरिराज न्यौपानेले यो लाउन्जमा आएपछि रात्रिकालीन रेस्टुरेन्टबारे आफ्नी श्रीमती र बहिनीको धारणा बदलिएको बताए। संगीत मण्डलीहरूले लाइभ प्रस्तुति दिने लाउन्जमा मुख्यतः कन्टिनेन्टल, चाइनिज र इन्डियन परिकार पाइन्छ। ठूलो लगानीको यो रेस्टुरेन्ट–बारमा अत्याधुनिक लाइट, म्यूजिक सिस्टम, २५६ इन्चको टीभी र १६ वटा सीसी टीभी जडान गरिएका छन्। गिरीले सम्भावित आगलागीलाई ध्यानमा राखेर फायर एक्स्टिग्वेशर र वाटर प्लान्टको पनि गतिलो प्रबन्ध गरेको बताए।

शब्द/तस्वीरः देबकी बिष्ट

comments powered by Disqus

रमझम