१-१५ असोज २०६९ | 17 Sep-1 Oct 2012

बर्माको सम्झना–२१

Share:
  

दोस्रो विश्वयुद्धको मध्यतिर बर्मामा रहेका रणशूर लिम्बूले लेखेको र बीस वर्षपछि जगदम्बा प्रकाशनले छापेको बर्माको सम्झ्ना अहिले विस्मृतिमा पुगेको छ। बर्मामा छँदाको अनुभवमा आधारित नेपाली जाति र भाषाप्रति प्रेम झ्ल्कने लिम्बूको पुस्तक पठनीय हुने ठानेर क्रमशः प्रकाशित गरेका छौं। – सम्पादक

ऐजलमा एक दुई दिन थकाइ मारी फेरि अगि बढ्यौं। ऐजल पुगेपछि पैसा तिर्न सक्नेले बैल गाडा पाउने भो। कतिले जोगाएर ल्याएका मालमत्ता गाडामा लादे, केटाकेटी चढाए। उहाँबाट हिंडे। सत्र दिनको बाटामा केही दुर्घटना घटेन। अर्का दिन यो हूल किस्ती घाटमा पुग्यो। नाउमा चढ्नुभन्दा पहिले― नाउ कच्चा छ नदीको धार नराम्रो छ, फलानो सरकारी नाउ डुब्यो अनि फलानोको जम्मै चिनी, चिया, बिडी, सिग्रेटको गठरी डुब्यो, सरकारी बन्दूक र गोली गट्ठा हिजै डुबे― भन्ने मात्र सुनिन लागेको थियो। २/४ दिनअघि हिंडेका मानिसहरूमध्ये एउटो गाइने पनि उतै बसिरहेको रहेछ। त्यसको नाउ टुट्न गएछ। नाउ त डुबिगो, त्यो अलपत्र परेछ। पौडन जानेको हुनाले आफू र आफ्ना आइमाई केटाकेटी बचाएछ। मालमत्ता रुपियाँ पैसा जम्मै गएछ!

हाम्रो हूल पुगेर नाउमा चढ्दै थियो। हेर्दाहेर्दै आउँदै गरेको एउटा नाउ डुबिहाल्यो, सरकारी धान चामल जम्मै गयो। नेपाली हूल पनि मरे मरिएला बाँचे बाँचिएला भन्दै नाउहरूमा गई चढे। राम राम भन्दै घाट छाडे। ओरालो पर्न गएको नदीको धार पहाडका बीच बाटो घुम्दै घुम्दै झ्रेको नालामा नाउमाथि चढी डराउँदै डराउँदै हिंडे। ठाउँ ठाउँमा पानीको धार अत्यन्त विकट हुँदोरहेछ। आसमानी धार भन्ने ठाउँमा त माझ्ीहरू जम्मै उभिएर भगवान्लाई पुकारेर धारमा नाउ छाड्छन्। माझीहरू मुसलमान हुनाले 'अल्ला, अल्ला' भनी पार लागेपछि हाँसी हाँसी पान तमाखु खाँदारहेछन्। पहिले नाउमा चढ्दै डराइरहेको, यो डुब्यो त्यो डुब्यो― मात्र सुनेको मानिस र झ्न् यस्ता धारमा पुग्दा त मरिने रहेछ। भारत पुगिन्न भन्दथे। अलिकति नाउले बाटो छाड्यो (न) कि मृत्यु! कस्तै पौडन जान्ने होस् त्यस्ताको केही नलाग्ने ठाउँ पनि धेरै रहेछ। कति ठाउँमा नाउको हाल ठीक कुवामा तैरँदै गरेको लोटा या इनारभित्र तैरँदै गरेको चिण्डो जस्तै हुन्थ्यो। हजारौं फिट अल्गो डाँडाको बीचमा नाला बहीरहेको छ। दुवै तरफ अग्ला अग्ला ढुंगाका गारा छन्। बीचमा अथाह जलको धार बगिरहेछ। यस्ता ठाउँबाट निस्केर लालाघाट पुग्यौं। ३ दिन किस्तीको दुःख कष्ट सहेर बल्ल लालाघाट स्टेशनमा रेलको दर्शन भो।

नेपाली हूल जसै घाटमा पुग्यो मानिसको धुइरो आई भागेर आएकाहरूलाई हेरी कुराकानी गर्न थाले। बर्माको के हाल छ? जापान कहाँसम्म आयो, उसको धर्म के रहेछ, नोट चल्छ चल्दैन। हामी पनि जापानी अधिकार समस्त बर्मामा भयो, भारतका सीमानासम्म जापान आएको छ, बौद्ध धर्म हो, नोट त अंग्रेजले चलाएको हो, उसले आफ्नै नोट चलाउला नि भनी भन्दथियौं। हामीसित मानिसहरू यस्ता सयकडौं प्रश्न गर्दथे कति चाहिं त– के जापानी हुकुमत नराम्रो छ? उनको मद्दतले भारतलाई स्वराज मिल्न सक्दैन? सहायता मिले के भारतले जापानी सहायता चाहिन्न भनी भन्ला? बर्माका देशभक्तहरूले जापानीसित कस्तो सम्बन्ध स्थापित गरे? इत्यादि पनि सोद्ध्थे। जापानी हुकुमत राम्रो होस् या नराम्रो होस् भारत त आफ्नै हुकुमत स्थापना गर्ने सुरमा छन्, स्वराजका मद्दतमा हात बटाउने त कुरै मात्रै हो, मतलवी दुनियाँ अनेक प्रकारका छल प्रपंच रची ढाँटी अर्कालाई कमारो तुल्याउने त संसारको सभ्य चाला भन्ने नियम नै छ। यस्तो जानी जानी भारत किन अर्काका सहायता चाहलान् भनी भनी कुरा गर्दथे।

एक रात लालाघाटमा बसी अर्का दिन बिहान नै उठेर रेल्वे स्टेशनमा सबै पुगे। बर्मामा जन्मेका, कहिल्यै यता नआएका यहाँका केही हाल नबुझ्ेका नेपालीहरूका मुखमुद्रा मुरझाउन गो। अनि भारतमै जन्म भएका यहाँका आनीबानी सबै बुझेका मानिसचाहिं हाँसी हाँसी कुराकानी गर्न थाले। स्टेशनको एउटा कुनामा थुप्रिएर आइमाईहरू पनि आफ्ना आफ्ना मनका कुरा गर्न लागे। एउटीले अर्कीलाई भन्छिन्― ए बहिनी यो नराम्रो बाटो काटेर अनेक दुःख सही स्टेशनमा आइयो, अब त ४, ६ दिनमा आफ्ना गाउँ पुगिन्छ, आमाबाबु इष्टमित्रको दर्शन पाइएला, दुःख सुख जे गरेर पनि खाउँला। मैले पहिले नानीको बाबुलाई कति भने कि 'ए मुलुक जाउँ घरबारको केही मेलो गरौं' भन्दा टेर्दै नटेर्ने। मैले भनेको मानिदिएको भए किन यत्रो दुःख बेहोर्नु पर्थ्यो? ज्यान ज्यानलाई दुःख माल माल गयो। बहिनीचाहिं पनि आफ्नी दिदीको बात दोहोर्‍याउँछिन् र भन्छिन्― दिदी मैले पनि त त्यो मोरोलाई कति भने जाउँ घर जाउँ। १, २ वर्ष परदेश हेरी हाल्यौं यतिका दिन बाहिरफेर बसे पनि आमाबाबु, दाजुभाइ त माया मार्न हुन्न भनी भन्दा हाँसेरै टारिदिने! हामी आइमाई केटाकेटीका कुरामाथि त ध्यानै नदिने, अब बल्ल खाए!

बर्मैमा जन्मेकीहरू चाहिं चूपचाप यिनको कुरा सुनिरहेका थिए। रेल आयो। कोही दार्जीलिङ, कोही गोरखपुर, कोही जोगवनी, कोही जयनगरको पास कटाउन थाले। अनि रेलमा चढेर हिंडे। पार्वतीपुरमा पुग्दाखेरि हाम्रो नेपाल सरकारका इन्तजामले भागेर आएका मानिसहरूका लागि ठाउँठाउँमा खान पिउन बस्न अनि खर्च नभएकालाई खर्च दिने बन्दोबस्त रहेछ। अनि पार्वतीपुरमा कतिले खर्च पाए, कतिलाई बस्ने ठाउँमा पठाइयो। सरकारबाट मद्दत पाएका यिनी दुःखीहरूका तर्फबाट सरकारमा प्रत्यक्ष धन्यवाद प्रकट गर्न नसके पनि धेरैका हृदयबाट त धन्यवाद आफ्नै सरल प्रवाहबाट बहीरहेकै छ। पार्वतीपुरबाट विभिन्न ठाउँका स्टेशनमा पुगी नेपाली जनता नेपाल राजभित्र ठाउँ ठाउँमा प्रवेश गरे।

comments powered by Disqus

रमझम