१४ पुस २०७० | 29 December 2013

अभिनयले जम्ने विश्वास

Share:
  
तीन वटा चलचित्रमा नायिका बनिसकेकी सिन्धुलीकी नीता पोखरेल (२७) लाई आफ्नो अभिनय क्षमताले एक दिन सफल नायिका बनाउने विश्वास छ।

पाँच वर्षअघि चलचित्रको नायिका बनेकी नीता पोखरेल फ्लासब्याक फर्केर हेर्दा, सुट, सिसा मा अभिनय गरेपछि पनि अपेक्षा अनुसार चलचित्र नपाउँदा केही निराश छिन्। चलचित्रमा खेल्ने निश्चित भएर हस्ताक्षर भइसकेपछि पनि विना कारण हटाउने, विवाहिता भएको थाहा पाउनासाथ सम्पर्क नगर्ने र चलचित्रमा अनुबन्ध गर्नुअघि निर्माता/निर्देशकले 'फाइदा' खोज्ने प्रवृत्तिले निराश बनाएको उनको भनाइ छ।

सानैदेखि चलचित्रमा नायिका बन्ने सपना बोकेकी नीता निर्देशक तथा अभिनेता अनुप बरालसँग तीन महीना अभिनय सिकेर चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। यो क्रममा उनले उदय सोताङको फर्किदिन्छु तिम्रो लागि, कमल क्षेत्रीको चंंगा चेट, गीता चौलागाईको हिमाल पारिको गाउँमा लगायत डेढ दर्जन गीतका म्युजिक भिडियो र केही विज्ञापनमा अभिनय गरिन्। सीएमएको पढाइ सकेर दुई वर्ष सिन्धुली जिल्ला अस्पतालमा काम गरेपछि उनी चलचित्रमा अभिनय गर्न राजधानी आइपुगेकी थिइन्।

अभिनय गर्दै जाँदा सानोमा सोचे जस्तो यो क्षेत्र नपाएकी नीताले विवाहित भएकै कारण दर्जन भन्दा बढी चलचित्र खेल्ने पक्कापक्की भएपछि पनि छाड्नु पर्‍यो। भने अनुसार नमानेकाले चलचित्रमा लिने टुंगो गरेर पनि केहीले लिएनन्। “दर्शकले विवाह गरे/नगरेको आधारमा चलचित्र र कलाकारलाई हेर्छन् भन्ने मलाई लाग्दैन” नीता भन्छिन्, “तर, यहाँ अभिनयलाई बेवास्ता गरेर कलाकारमा अरू नै कुरा खोजिन्छ।”

निर्माता/निर्देशकले भनेको 'सबै' कुरा मानेर चलचित्रमा खेल्नुभन्दा नखेल्ने निर्णय गरेकी नीता आफ्नो अभिनयले चलचित्र पाउनेमा विश्वस्त छिन्। नयाँ निर्माता र निर्देशक थपिएर चलचित्र क्षेत्र विस्तारै व्यावसायिक बन्दै गएकाले उनको विश्वास अरू बढेको छ। “मेरो अभिनय राम्रो भएकाले एक दिन यो क्षेत्रमा जम्छु भन्ने विश्वास छ”, नीता भन्छिन्।

comments powered by Disqus

रमझम