१४ पुस २०७० | 29 December 2013

गाउँमा पनि गुमनाम छैन

Share:
  

आधुनिक नेपाली गायनको एउटा उँचाइमा पुगेको वेला अनायासै काठमाडौं छाडेका कुवेर राई अहिले इलामको आफ्नै गाउँ श्रीअन्तु–७ सल्लेरीमा खेतीकिसानी र विकास निर्माण गर्दै संगीतकर्मलाई निरन्तरता दिइरहेका छन्। रेडियो नेपालमा २०५१ को राष्ट्रिय प्रतियोगितामा सर्वोत्कृष्ट गायक राईले चार वटा अल्बम निकालेका छन्।

ऋषिराम कट्टेल
गाउँमा कसरी दिन बिताइरहनुभएको छ?

खेतीपाती, सामाजिक काम र सांगीतिक कार्यक्रमहरूमा व्यस्त छु। राम्रैसँग गीत–संगीत र जीविकोपार्जन भएको छ। २०४७ सालमा राजधानी भित्रिएर २०५३ मा सपरिवार गाउँ फर्किएँ। अल्बम पनि गाउँ गएरै निकालें। देश/विदेश पनि गाउँबाटै गरिरहेको छु।

विकास निर्माणमा पनि लाग्नुभएको सुनिन्छ, चर्चालायक केही भएको छ?

चर्चालायक भन्दा पनि घाँसी र भानुभक्तको कुरा जस्तै समाजमा केही सकारात्मक सन्देश दिन सकिन्छ कि भन्ने प्रयास भएको हो। गीत–संगीतलाई स्थानीय तहमा सडक, पुल जस्ता पूर्वाधार निर्माणमा सहायक बनाउन खोजेको छु। केही ग्रामीण सडक हालसालै पूरा भएका छन्, केही निर्माणाधीन छन्। पत्रकार र शुभचिन्तकहरूले यस्तै कामको चर्चा चलाइदिएका हुन्, जसबाट राजधानीमा नरहे पनि गुमनाम हुनुपरेको छैन। मिडिया र श्रोताले मेरो खोजखबर गरिरहेकै छन्।

तपाईंको विचारमा नेपाली गीत–संगीतको अवस्था कस्तो छ अहिले?

सिर्जना र मिहिनेतको हिसाबले नराम्रो छैन, तर जीवन धान्ने आधार बनिसकेको छैन। गीत–संगीतमा लागेर जीवन गुजारा चलाउने संगीतकर्मी नगन्य छन्। अधिकांशले सोख र रहरले अल्बम निकालिरहेका छन्।

पैसाको बलमा चर्चित हुने चलन पनि छ हैन?

यसमा मेरो विमति छैन, तर नेपाली गीत–संगीतले अन्ततः राम्रै नतीजा दिने विश्वास छ।

प्रस्तुतिः सचित राई

comments powered by Disqus

रमझम